भैसीको संख्या बढाउन किशानलाई भत्ता

भैसी व्याए एक हजार पाउने

बागलुङ, २६ कार्तिक — जिल्लाको ताराखोला गाउँपालिकाले भैसीलाई सुत्केरी भत्ता दिन थालेको छ । गाउँमा भैसीको संख्या बृद्धि गर्ने र किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले सुत्केरी भत्ता दिन थालेको हो । गाउँका किसानहरु एउटै भैसीको दुधमा रमाउने परिपाटीको विकास भएपछि भैसीको संख्या बढाउनकै लागि भैसीलाई सुत्केरी भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ । गाउँमा पाडापाडी हुर्काउँदा दुध कम हुने भएकाले जन्मेका पाडापाडी तत्कालै फाल्ने चलन रहेको छ । पाडापाडीलाई संरक्षण गर्ने र हुर्काउने नगर्दा भैसीको संख्या घट्दै गएको र मुल्य समेत बढ्दै गएको गाउँपालिकाले जनाएको छ । ‘गाउँमा पाडापाडी हुर्काउनै छोडे, भैसीको संख्या घट्दो हुँदा मुल्य बढेको बढ्यै छ’ गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भने ‘भैसीको संख्या बढाउने र किसानलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो ।’ ताराखोला क्षेत्रमा पालिने लिमे पाराकोटी जातका भैसीबाट राम्रो दुध उत्पादन लिन सकिने भएपनि स्थानीय किसानहरु पाडापाडी पालनमा अग्रसर नभएकाले सबैलाई अग्रसर गराउँने उद्देश्यले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष घर्तीले बताए । स्थानीय जातको भैसीको संरक्षण पनि हुने र दुधको उत्पादन बढ्ने गरी सुत्केरी भत्ता योजना बनाईएको हो । भैसीको सुत्केरी भत्ता प्राप्त गर्नका लागि किसानले आफ्नो भैसी सुत्केरी भएपछि जन्मिएका पाडापाडी हुर्काउने विश्वास गाउँपालिकालाई दिलाउनुपर्छ । गाउँपालिकाले भैसी सुत्केरी भएको छ महिनासम्म स्थानीय किसानले पाडापाडी पालेका छन् छैनन अनुगमन गरेर एक हजार रुपियाँ सुत्केरी भत्ताको व्यवस्था गरिएको अध्यक्ष घर्तीले बताए । अहिले गाउँमा कति सुत्केरी भैसी छन् भन्ने विषयमा वडागत रुपमा लगत संकलन भइरहेकाले यस वर्ष एक हजार भैसीलाई सुत्केरी भत्ता वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष घर्तीले बताए ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेर भैसी सुत्केरी भत्ताको व्यवस्था सुरु गरेको गाउँपालिकाले जनाएको छ । ताराखोलाका तारा, हिल, अर्गल, अमरभुमीमा स्थानीय लिमेपाराकोटे जातका भैसीको संख्या अत्याधिक भएपनि स्थानीय किसानहरु एउटा भैसीको उत्पादनमै रमाउँने गरेकाले त्यसलाई अत्य गर्नका लागि यो अभियान सुरु गरिएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी रोकाले बताईन् । ‘स्थानीय किसानले पाडापाडीलाई दुध दिंदा आफूले थोरै उपभोग गर्न पाइन्छ भन्ने उद्देश्यले भैसी सुत्केरी हुँदासाथ जन्मिएका पाडापाडीलाई मासुको रुपमा प्रयोग गर्दा दुधालु भैसीको तथा मासुका लागि प्रयोग गरिने राँगाहरुको संख्या घट्दा मासु तथा दुधमा आत्मनिर्भर बन्न नसकिएकाले दुध र मासुमा आत्मनिर्भर बन्ने उद्देश्यले यस्तो योजना अगाडि सारेका हौं’ गाउँपालिका अध्यक्ष घर्तीले भने । स्थानीय स्तरमा भैसी संरक्षणका लागि केही समयदेखि तत्कालिन पशु सेवा कार्यालय बागलुङले कृषक अभियान सञ्चालन गरेको थियो ।