देउसीको रकम सदुपयोग होस्

बागलुङको काठेखोला–८ लेखानीबाट रोजगारीको शिलशिलामा बिदेशमा रहेका युवाहरुको सक्रियतामा सहयोग रकम संकलन गरेर सामुदायीक भवन निर्माण गरियो । बिभिन्न देशमा काम गरेर घर खर्च पठाएर बचेको पैसा सामाजिक काममा लगाउने युवाहरुको सक्रियताका कारण जम्मा भएको ४० लाख रुपैयाँले सामुदायीक भवन निर्माण भयो । तिहारको मौका पारेर पर्वतको फलेवास नगरपालिकामा खेलीएको देउसीभैलोबाट संकलित रकमबाट स्थानीय एक विद्यालयका शिक्षकहरुलाई तलब भत्ताको व्यवस्था गरिने सार्वजनिक घोषणा भयो । देउसीभैलोबाट संकलन भएको झण्डै पाँच लाख रुपैयाँ विद्यालयको सञ्चालनका लागि खर्च हुनु भनेको स्वागतयोग्य काम हो ।
बागलुङकै गल्कोट क्षेत्रमा राष्ट्रिय जनमोर्चा र सोही पार्टिका विभिन्न भातृ संगठनहरुले तिहारको बेला देउँसीभैलो खेलेर जम्मा गरेको रकमलाई पार्टिको जिल्ला अधिबेशनमा खर्च गर्ने योजना सार्वजनिक गरेका छन् । पार्टिको जिल्ला अधिबेशन गर्नको लागि चन्दा उठाउने परिपाटीको अन्त्य गर्न यो कामले सहयोग पु¥याउने छ । तिहारको अवसरमा खेलिएका देउँसीभैलो र बिदेशमा जम्मा भएको सहयोगको रकमबाट गाउँघरमा सामाजिक क्षेत्रमा खर्चिने क्रम बिस्तारै बढ्दै गएको छ । युवा पुस्ता देखिएको समाजिक कामप्रतिको उदारता र सहभागीताले सकरात्मक परिवर्तनको बाटो खोल्ने कुरामा विश्वास गर्न सकिन्छ । देउसीभैलो खेलेर बेकामका कुराहरुमा खर्च गर्ने परम्परा पनि हाम्रो समुदायमा व्याप्त छ । निश्चित उद्देश्य बिनानै क्षणिक रमाईलो गर्न र पैसा उठाएर बनभोज गर्नकै लागि पनि गाउँघर तथा शहर बजारमा कयौं भैलेनीहरु आए । भैलेनीबाट जम्मा भएको रकमलाई मदिरा र मासुमा खर्चिने र पुनः एकपटक रमझममा दिन बिताउने काम पनि भैरहेका छन् ।
बागलुङ र पर्वतमा देउँसीभैलो तथा विदेशमा सहयोग उठाएर भएका केही उदाहरणीय कामलाई आधार बनाएर पछिल्लो तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम खर्चिने परिपाटीको बिकास गर्न जरुरी छ । देउसीभैलो खेलेर रकम जम्मा हुने भनेको हाम्रै गाउँ घरको पैसा हो । त्यो पैसालाई हाम्रै गाउँघरमा रहेका सामाजिक बिकासका गतिविधिमा खर्च गर्दा हामी सबैको विकास र उन्नतीमा खर्च हुन्छ भन्ने कुराको सबैले हेक्का राख्न जरुरी छ । देउसीभैलोको नाममा आएका बिकृति र बिसंगतीहरुलाई कम गर्दै कला र संस्कृतिको जगेर्ना गर्नको लागि पनि त्यो रकमलाई खर्च गर्न सकिन्छ । एकातर्फ हराउँदै गएको परम्परा र अर्कोतर्फ त्यही परम्परालाई प्रयोग गरेर भैरहेको दुरुपयोगलाई नियन्त्रण गर्न सरोकारवालाको समेत ध्यान जान जरुरी छ । दानको रुपमा प्राप्त भएको रकम भएपनि देउसीभैलोको माध्यमबाट संकलन भएको रकम हाम्रो सामाजिक दायित्व अन्र्तगतको रकम हो । आयोजक समुह र संस्था जो–जससँग सम्बन्धित रहेका भएपनि सबै हाम्रै समुदायका सदस्य हुन् । त्यसैले रकमको सहि सदुपयोग समाजिक दायित्वको बोध समान अधिकार र समान पहुँचका लागि देउसीको रकम सदुपयोग गराउनमा सबैले आ–आफ्नो तर्फबाट सक्दो प्रयास थालौं । दुरुपयोगको मानसिकता त्याग गरौं र समुन्नत समाजको निर्माणमा जुटौं ।