पदमार्ग जोखिममा परे पछि तीस वर्ष बाटो नखनिने

पर्वत, २९ कार्तिक — सवारीसाधन गुडाउन खनिएका सडकका कारण पदमार्गहरू नै खतरामा परेपछि अन्नपूर्ण पदमार्गमा अबको ३० वर्ष सडक नखनिने भएको छ । धुलाम्मे सडकका कारण विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्गका धेरै स्थान फोहोर र पदमार्गको औचित्य नै खतरामा परेपछि अन्नपूर्ण पदमार्गमा पर्ने झिनुदेखि आधार शिविर (बेस क्याम्प) सम्मको पदमार्ग जोगाउन स्थानीय बासिन्दाले सडक नखन्ने प्रतिबद्धता जनाएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने झिनुडाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको पदमार्गलाई बचाउन स्थानीयले ३० वर्षसम्म सडक नखन्ने प्रतिबद्धता जनाएका हुन् । झिनुडाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको पदायात्रा दुईदेखि तीन दिन सम्ममा पुग्न र त्यति नै समय लगाएर फर्किन सकिन्छ । ‘विश्वकै उत्कृष्ट पदमार्गलाई बचाउनुपर्छ भनेर तीस वर्ष सडक नखन्ने निर्णय स्थानीयस्तरमा भएको छ’, अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष तथा पर्यटन व्यवसायी हिमबहादुर गुरुङले भने । सुरुमा पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि नै शुरु हुने यो पदमार्गमा पर्ने घान्द्रुकको उरी गाउँसम्म सडक पुगेको छ । त्यसलाई झिनुडाँडाको फेदसम्मबाहेक माथिल्लो क्षेत्रमा नलैजान सबै स्थानीय सहमत भएको वडा अध्यक्ष गुरुङले बताए । मोदीखोलामा जलविद्युत आयोजनाका लागि लोभलालच समेत देखाएर माथिल्लो क्षेत्रमा सडक लैजाने प्रयास गरिएको छ ।

छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा सडक पु¥याउन सके सुपर मोदी जलविद्युत आयोजनाले ११० मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्छ तर त्यसभन्दा तल बनाइए ७० मेगावाट मात्र उत्पादन हुन सक्ने बताइन्छ । ‘सडक खन्नका लागि माथिल्लो तहबाट राजनीतिक दबाब दिने र आर्थिक प्रलोभन देखाउने काम पनि भएको छ’ अध्यक्ष गुरुङ भन्छन्, ‘हामी पदमार्ग बचाउन कसैको दबाब र प्रभावमा पर्नेवाला छैनौँ ।’ झिनुदेखि छोम्रोङहुँदै माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरसम्म ५१ वटा होटल सञ्चालनमा छन् । यो रुटमा वर्षमा ३५ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गर्दै आएका छन् । त्यति नै संख्यामा नेपाली पनि पुगेका छन् । अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने लमजुङको बेसीशहरदेखि मनाङसम्म सडक पुगेको छभने मुस्ताङको मुक्तिनाथसम्म नै सडक पुगेको छ । मुलुकका अन्य पदयात्रा मार्गहरूमा पनि जथाभावी रूपमा सडक खनेपछि पदयात्रा मार्ग छोटिँदै गएका छन्भने धेरै पदमार्गको अस्तित्व नै समाप्त भएको छ ।