पेशागत क्षेत्रको विभिन्न माग सहित शिक्षकहरु धर्नामा

बागलुङ, १ मंसिर — पेशागत क्षेत्रका बिभिन्न माग सहित बागलुङका शिक्षकहरुले शुक्रवार शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना दिए । शिक्षा ऐन अद्याबधिक हुँदा हुँदै स्थानीय तहले बनाएका ऐन, निर्देशिका र कार्यविधि बनाएर द्वन्द्व सिर्जना गरिएको उनीहरुको आरोप छ । केही बर्षको तुलनामा बजेट घटेको भन्दै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको माग पनि उनीहरुले राखेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा १६ वटा पेशागत संगठनका शिक्षकले शिक्षा बिकास तथा समन्वय ईकाई ठप्प पारेका हुन् । कार्यालय समयभर उनीहरुले धर्ना दिएका हुन् । पटक पटकको माग र सम्झौता पालना नभएपछि धर्नामा बस्नु परेको महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । कार्यविधि र सूचकका आधारमा शिक्षक, विद्यालय र समग्र शिक्षा क्षेत्रको अनुगमन र मूल्यांकन गर्ने प्रावधान राख्नुपर्ने उनले बताए । शिक्षकहरु धर्नामा गएकोले यहाँका सबै सामुदायिक विद्यालयहरुको पढाई प्रभावित भएको थियो । शिक्षकहरुले नेपाल शिक्षक महासंघलाई आधिकारिक शिक्षक ट्रेड युनियनको मान्यता दिन पनि माग गरेका छन् । गत जेठदेखि आन्दोलनमा उत्रेका शिक्षकको माग पुरा नभएकोले बिद्यालयनै ठप्प पार्ने समेतका कार्यक्रम ल्याउन लागेको चेतावनी पनि दिएका छन् ।

स्थानीय तहले आफूखसी नियम बनाएर ऐनको अधिकार कुल्चेको उनीहरुको आरोप छ । ‘ऐनले दिएको अधिकार प्रयोग नगरी शिक्षक नियुक्ती र सरुवा आफूखुस गर्दा बिद्यालयको पढाई प्रभाबित भएको छ’ नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले भने, ‘हामीले बर्षौसम्म चाहिएको शिक्षक पाउन सकेका छैनौं ।’ आवस्यक नपर्ने शिक्षक भर्ना गर्ने चलखेल पनि भएको छ । शिक्षक संघसंगठनसंग सरकारले गरेका सम्झौताहरु पालना नभएकोमा पनि उनीहरुले आक्रोश पोखेका छन् । स्थायी, अस्थायी, राहत, बालबिकास लगायतका धेरै प्रकारका शिक्षक राखेर बिभेदीकरण गरिएको पनि उनीहरुको आरोप छ । उनीहरुले महिला शिक्षकको प्रसुती बिदा ६ महिना कायम गर्नुपर्ने र सो अवधिका लागि सट्टा शिक्षक राख्न पाउनुपर्ने समेत माग गरेका छन् । शिक्षकहरुले निजामती सेवा सरहको सुविधा पाउनुपर्ने माग समेत गरेका छन् । शिक्षकका माग पुरा गर्दा राज्यलाई समेत फाइदा पुग्ने उपाध्यायले बताए । पटक–पटक शिक्षामा पुगेको अवरोध हट्ने र गुणस्तरीय शिक्षाको विकासमा योगदान पुग्ने भएकोले शिक्षकका माग पुरा गर्नै पर्ने देखिएको उनले बताए ।