सडक सुधार गरीने

बागलुङ, १ मंसिर — काठेखोला गाउँपालिकादेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने सडक चालु बर्षभित्रै स्तरोन्नती हुने भएको छ । स्थानीय बासिन्दाले श्रमदानबाट खोलेको ट्रयाकलाई फराकिलो बनाएर स्तर समेत सुधार गरिने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । झण्डै ५० किमी लामो यो सडक चालु बर्ष स्तरोन्नती गरेर बाह्रै महिना सवारी चल्ने बनाउन लागिएको हो । मध्यपहाडी लोकमार्गको रिजालचोकदेखि ताराखोला गाउँपालिकाहुँदै म्याग्दीको रुम जोड्ने यो सडक बन्दा ग्रामीण उत्पादनलाई बजार लैजान सहज हुनेछ । सडकलाई पूर्णता दिने योजना आएपछि काम सम्पन्न हुने आशा पलाएको घर्तीले बताए । ट्रयाक खोल्दा ताराखोला गाउँपालिका भित्रका अधिकांसले तीन महिनासम्म श्रमदान गरेरका थिए । त्यसअघि सडक अभावमा एक दिनको पैदल यात्राबाट मात्र सदरमुकाम पुग्न सकिन्थ्यो । सडक खुल्दा गाउँमा उत्पादन भएका कृषि फसल बजार पठाउन सहज हुन थालेको छ । द्वन्द्वकालमा माओवादीले श्रमदानबाटै सडक खन्न लगाएको थियो । श्रमदानबाटै खुलेको ट्रयाकलाई अहिले पूर्णता दिन लागिएको हो । ६ मीटर चौडाको यो सडकलाई कम्तिमा १० मिटर चौडा बनाएर स्तरोन्नती गर्ने योजना गाउँपालिकाले बनाएको हो । यो अभियानकालागि प्रदेश सरकारबाट १ करोड र सडक डिभिजनबाट १ करोड १० लाख रुपैयाँ बजेट बिनियोजन भएपछि सडकले मुहार फेर्न लागेको हो ।

‘कामले गति लिन लागेको छ, अब ताराखोलाका मानिसले सहज यात्रा गर्ने अबसर पाउँछन्’ घर्तीले भने, ‘श्रम शिविरको रुपमा सडक नबनाएको भए अहिलेसम्म यहाँ आउन कठिन हुन्थ्यो ।’ ५ किमी ट्रयाक भने गाउँपालिकाको बजेटले खोल्ने काम शुरु भएको उनले बताए । हाल यो सडकबाट काठेखोला गाउँपालिकादेखि ताराखोला गाउँपालिका जोडिन्छ । छिमेकी म्याग्दीको रुम र ओखरबोटतर्पm पुग्न पनि यो सडक उपयोगी छ । ‘राज्यको लगानी गर्दा झण्डै ५० करोड खर्च हुने काम जनताले श्रमदानबाट ट्रयाक खुलाएका थिए’ घर्तीले भने, ‘राज्यबाट अहिलेसम्म कुनै साथ र सहयोग नपाएर सास्ती खेपेका थियौं ।’ केही बर्षदेखि जिल्ला विकास समितिले मर्मतमा लगानी गरेको थियो । उक्त रकमले बर्षातमा भत्केको स्थानमा सम्याउने काम मात्र भएको थियो । गाउँपालिकाले ४० लाख रकम बिनियोजन गरेर ट्रयाक खोल्ने र केही स्थानमा घुम्ती चक्ल्याउने गरेको छ । ‘साँघुरो र चिप्लो भएकोले कालोपत्रे भएपछि मात्र नियमित र सहज सवारी चलाउन सकिन्छ’ स्थानीय गोविन्द घर्तीले भने, ‘तुसारो पर्नाले हिउँदमा पनि जोखिम यात्रा गर्नुपर्छ ।’ प्रारम्भिक बजेटले गुणस्तरीय काम गरेर केही बर्षमै पुरा गर्न पहल गर्ने उनले बताए । बिरामी पर्दा समयमा उपचारका लागि सदरमुकाम पुग्न पनि सडकले सास्ती भोग्नुपरेको ताराखोलाकी बिष्णु रोकाले बताईन् ।

‘खर्च र समयले गर्दा धेरैले गाउँमै रोग पालेर बस्न बाध्य छन्’ रोकाले भनिन् ‘एकै दिनमा पुगेर फर्कन पनि नसकिने भएपछि धेरै दुःख भोग्नु पर्छ ।’ सडक बन्ने खबरले गाउँले खुसी भएको उनले बताईन् । ग्रामीण क्षेत्रमा प्रसुती सेवाका लागि बढी सास्ती पर्ने उनले बताईन् । ‘रुखबाट लडेर घाईते भएका एक बिरामीलाई हामीले एउटा जिपमा १० हजार रुपैयाँ तिरेर पठाउन बाध्य छौं’ स्थानीय मनबहादुर बिकले भने, ‘सडक सुधार भएमा सहजै लैजान सकिन्छ ।’ सडक सुधार गरेर नियमित सवारी चल्न थालेमा धेरै राहत पाईने उनले बताए ।