वीपी गान्धीकै दबाबमा राणाको थुनाबाट रिहा भए

देशको राजस्व प्रधानमन्त्रीको निजी ढुकुटीसरह हुने त्यो जमानामा बजेट पेस गर्ने, जनतालाई मौलिक हक दिने, आमचुनाव गराउने घोषणा पद्म शमशेरले गरे।

महाराज पद्म शमशेरको पालामा भारतबाट श्रीप्रकाशको नेतृत्वमा संविधानविद्हरुको टोली बोलाई मुलुककै पहिलो संविधान लेख्ने तयारी थियो। तर, संविधान बनाउने-नबनाउने, घोषणा गर्ने-नगर्ने विषयमा दरबारमा चरम विवाद र मतभेद थियो। सुधारवादी पद्म र कट्टरपन्थी चन्द्र शमशेरका छोराहरुबीचको मनमुटाव उत्कर्षमा थियो। पद्मको सुधारवादी कदमलाई महावीर शमशेर र सुवर्ण शमशेरहरुको साथ थियो।
तर, मोहन शमशेर, बबर शमशेर, बहादुर शमशेरलगायत कट्टरपन्थी राणाहरु आफ्नो अधिकार कटौती गर्ने पक्षमा थिएनन्। ‘वैधानिक कानुन लागू भएपछि श्री ३ को वार्षिक तलब तीन लाख तोकिनेछ र तीन लाखे महाराज भएर बस्नुपर्छ भनेर उनीहरु सुधारको आलोचना गर्थे (अधिकारी, २०७१ : ६८)।’
देशको राजस्व प्रधानमन्त्रीको निजी ढुकुटीसरह हुने त्यो जमानामा बजेट पेस गर्ने, जनतालाई मौलिक हक दिने, विधायिका बनाउने, आमचुनाव गराउने घोषणा पद्म शमशेरले गरेका थिए। कट्टरपन्थी राणाहरुमा राजनीतिक सुधार गरे राणाशासन नै रहँदैन भन्ने त्रास थियो। त्यसैले उनीहरु महाराज पद्मलाई तर्साएर, धम्क्याएर सत्ताच्युत गर्ने षड्यन्त्रमा थिए। ‘चन्द्र शमशेरका छोराहरुबाट आफ्नोहत्या हुन सक्ने डर स्वयम् प्रधानमन्त्री पद्मलाई थियो (सिंह, २०६७ : २७८)।’ त्यसैले उनी देश छाडेर भारत जाने निर्णयमा पुगे। भारतको राजकीय भ्रमणका क्रममा उनले प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भनेका थिए, ‘मोहन शमशेरले मलाई मार्छन् (कोइराला, २०६७ :७१)।’

पद्म शमशेर एकदमै डरछेरूवा थिए। कठोर दण्ड दिनुपर्‍यो भने तुरून्तै रोइहाल्थे। सत्तामा पुग्नासाथ यिनले भनेका थिए, ‘म जनताको नोकर हुँ ।’ पद्मसँग कलकत्तामा भेट्दाको क्षणबारे वीपी लेख्छन्, ‘एक-सवा घण्टा कुरा गर्दा चार-पाँच चोटि पिसाब गर्न गए। दसपन्ध्र चोटि रोए (कोइराला, २०६७ : ७२)।’
श्री ३ पद्म सत्तामा धेरै रहे भने राणाशासन नै जान्छ भन्ने त्रासका कारण मोहन र बबर शमशेर चिन्तित थिए। उनीहरुले महाराज पद्मलाई जनअधिकार दिने निर्णय नगर्न निरन्तर दबाब मात्र दिएका थिएनन्, ज्यान लिने धम्कीसमेत दिइरहेका थिए। त्यसैले डरछेरूवा, काँतर महाराजले स्वास्थ्योपचार गराउने बहानामा भारत भ्रमणमा जानुअघि ‘छोरा वसन्तलाई गोप्य रुपमा वीपीसँग भेट गर्न बनारस पठाए (गौतम, २०५७ : २५)।’
बनारसका एकदमै धनी माधवराज सण्डको पाहुना भएर बसेका थिए उनी। बाबुमैयाँ नामक बिए पढ्ने एक युवतीलाई उनीकहाँ पठाएर आफूले भेट्न चाहेको सन्देश दिए। वसन्तले आफू बसेको घरमा भेटघाटको कार्यक्रम राख्न उपयुक्त ठानेनन्। भोलिपल्ट निसात सिनेमा हलमा फिल्म हेर्न जाने उनको कार्यक्रम तय भइसकेको थियो। वसन्तले भने, ‘ठीक छ भोलि म कारमा सिनेमा हल आउँछु । तिमी वीपीलाई लिएर त्यहीँ उभिइरहनू। म उनलाई चिन्दिनँ। उनी पनि मलाई चिन्दैनन्। मोटरबाट निस्केर ए यिनी त मलाई भेट्न आएकी भनौंला अनि वीपीसँग भेटाैंला (कोइराला, २०६७ : ७२ र ७३)।’
भोलिपल्ट पूर्वनिर्धारित योजनाअनुसार वसन्त सिनेमा हल पुगे। बाबुमैयाँलाई देख्नासाथ भने, ‘ए तिमी हिजो मलाई भेट्न आएकी थियौ नि, फिल्म हेर्न आएको ?’ उनले भनिन्, ‘हैन, म त यहाँ त्यसै आएकी।’ त्यही मौकामा बाबुमैयाँले वीपीसँग परिचय गराइन्।
वसन्त : यहाँ त कुरा गर्न भएन, कहीँ जाऊँ।
वीपी : गङ्गाकिनारमा नाउँमा चढेर कुरा गरौं।
आफूलाई लिएर आउने मानिसलाई वसन्तले भने, ‘म त सिनेमा हेर्न जान्नँ। नाउ चढ्न जान्छु। यी केटीले मलाई भन्छिन्, नाउ चढ्नलाई।’ वसन्तका मानिस फर्किए। उनीचाहिँ वीपीका साथ दशाश्वमेधघाट गए। वीपीले एउटा नाउ लिएर आए। गङ्गाजीमा नौकाविहार गर्दै लामो वार्तालाप गरे।
वीपी: तपाईंका पिताजी प्रधानमन्त्री भएकै बेला केही सुधारका कदम चाल्नु उचित हुन्छ। अब पनि सुधार गर्नेतर्फ सोचिएन, अबेर भयो भने राम्रो हुँदैन।
वसन्त : मेरो बुवा केही गर्न चाहिबक्सन्छ। तर सबै राणाहरुलाई नसिध्याई केही गर्न सम्भव छैन। सबैलाई एकै पटक सिध्याउनुपर्छ। मोहन, बबरबाट महाराज आजित होइबक्सन्छ। त्यसैले तपार्इंसँग सल्लाहका लागि मलाई पठाइबक्सेको हो। तपाईं पाँचछ ओटा ग्रिनेड दिन सक्नुहुन्छ भने म सबैलाई एकै चिहान बनाइदिन्छु।
वीपी : तपाईं कसरी त्यो काम फत्ते गर्न सक्नुहुन्छ?
वसन्त : हरेक बेलुका कमान्डर इन चिफ मोहन शमशेरलगायत सबै प्रधानमन्त्रीको चाकरीमा आउँछन्। उनीहरु जम्मा भइसकेपछि झ्यालबाट ग्रिनेड फाल्नुपर्छ।
वीपी : त्यसो गर्दा त तपाईंका पिताजी महाराज पद्म पनि मारिन्छन् नि त !
वसन्त : हैन हैन, चाकरीमा आउने सबै जम्मा भएपछि महाराजलाई आउने बेला भयो भनेर जनाउ दिनुपर्छ। तपाईंले ग्रिनेड दिन सक्नुभयो भने ‘हामी महाराज आउनुअघि नै शक्तिशाली ग्रिनेड फालेर सबैलाई एकै चिहान बनाइदिन सक्छाैं। म त्यो काम गर्न सक्छु (कोइराला, २०६७ : ७३)।’
वीपी : हुन्छ। तपाईंले ग्रिनेड पाउनुहुन्छ। तर म केही दिनका लागि दिल्ली जानु छ, महात्मा गान्धीलाई भेट्न। फर्किएपछि तपाईंले पाउनुहुनेछ।
वसन्त : ठीक छ। मेरी छोरी पनि बिरामी छन्। कलकत्तामा उपचार भइरहेको छ। म पनि फर्किन्छु, त्यहाँबाट। अनि यो काम गरौंला।
वसन्तसँग भेटेपछि भारतीय समाजवादी नेता राममनोहर लोहियाका साथ २८ जनवरी १९४८ मा बिडला हाउसमा वीपीले गान्धीलाई भेटी ‘राणाविरूद्ध आन्दोलन चलाउने तयारीमा रहेको जानकारी दिँदै उनको समर्थन र सहयोग मागे।’ अङ्ग्रेजको उपनिवेशबाट स्वतन्त्र भएपछिका दिनमा प्रधानमन्त्री जवाहरलाल नेहरू र उपप्रधान तथा गृहमन्त्री बल्लभभाइ पटेलबीच तँ रहने कि म भन्ने तहमा झगडा चुलिएको थियो।
गान्धीले वीपीलाई भने, ‘म तिमीलाई कुनै प्रकारको मद्दत गर्न सक्दिनँ।’ भारत सरकारले आफ्नो कुरा नसुनेकोमा उनी निराश थिए। हत्या हुनुभन्दा दुई दिनअघि गान्धीसँग आफूले गरेको वार्तालापबारे वीपी लेख्छन्, ‘म तपाईंसँग कुनै भौतिक मद्दत माग्न आएको होइन। हामीलाई त तपाईंको सहानुभूति र नैतिक समर्थन चाहिएको छ। तानाशाही राणाविरूद्धको लडाइँका निम्ति।’ गान्धीले भने, ‘अन्याय, अत्याचार र दमनका खिलाफमा जहाँ आन्दोलन हुन्छ, सङ्घर्ष हुन्छ, त्यहाँ मेरो समर्थन हुन्छ। तर त्यसभन्दा बढ्ता म केही गर्न सक्दिनँ (कोइराला, २०६७ : ७४ र ७५)।’
दिल्लीमै रहँदा वीपीले वसन्त शमशेरसँगको वार्तालाप लोहियालाई सुनाएर सहयोगका लागि आग्रह गरे। लोहियाले कलकत्तामा अाफ्ना सहयोगीलाई भनेर बम उपलब्ध गराउने वचन दिएपछि त्यही रात उनी रेलबाट कलकत्तातिर लागे। ३० जनवरी १९४८ का दिन लोहियाका मानिसलाई भेट्ने र ग्रिनेड दिने तय भएको थियो। त्यहीबमोजिम सेतो रूमालले छोपेका ६ ओटा ह्यान्डग्रिनेड उनीहरुले वीपीको हातमा राखिदिए। बेलुकाको ६ बजेको थियो। कलकत्ताको पार्कस्ट्रिटमा ह्यान्डग्रिनेड लिएर वीपी उभिइरहेका थिए। त्यहीँ वसन्त शमशेरलाई बम हस्तान्तरण गर्ने भनेर खबर भइसकेको थियो। वीपी उनकै प्रतीक्षामा थिए। छेउको पान दुकानमा घन्किएको रेडियोको आवाजले उनको मन खलबलाइदियो।
अचानक ‘गान्धीको हत्याको ब्रेकिङ न्युज सुनेपछि उनी झसङ्ग भए। २००४ साल माघ १७ गते शुक्रबारको घटना थियो यो। सबथोक भताभुङ्ग भए जस्तो महसुस भयो वीपीलाई। बेलुकीको प्रार्थनामा जाने क्रममा गान्धीको हत्या भएको थियो। ‘हत्या हुनुभन्दा केही समयअघि मात्र गृहमन्त्री बल्लभभाइ पटेलले उनलाई भेटेका थिए। त्यहाँबाट आफ्नोनिवास पुग्न नपाउँदै बाटैमा उनले हत्याको खबर पाएका थिए (सिंह, २०५१ : ८२)।’
पहिलो पटक काठमाडौंमा राणाको थुनामा रहेका बेला वीपी गान्धीकै दबाबमा रिहा भएका थिए। वीपीले गान्धीलाई सम्झिए। उनले दबाब नदिएको भए सायद त्यहीँ मारिन्थे कि! वसन्त शमशेरलाई ग्रिनेड दिएर निवासमा फर्किएपछि वीपीलाई लाग्यो–गान्धीको विचारविपरीत राणालाई सिध्याउन ६ ओटा ग्रिनेड दिएर पठाएँ मैले। वीपीकै भनाइमा, ‘त्यो रात उनले रोएरै बिताए (कोइराला : २०६७ : ७६)।’
वसन्तले ग्रिनेड काठमाडौं पुर्‍याए। तर, राणालाई एकै चिहान बनाउने योजना भने कार्यान्वयन भएन।
(बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको पत्रकार जगत नेपालको पुस्तक वीपीको विद्रोहबाट। याे पुस्तक म‌ंसिर ७ गते सार्वजनिक हुँदैछ।)