आसन र भाषणको चक्कर

साँच्चै भन्ने होभने देश यतिबेला आशन ग्रहण र भाषण ग्रहणको गोल चक्करमा फसेको छ । हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष बितिसकेको छ । अहिले हामी कहाँ हुने कुनैपनि कार्यक्रम छुट्किलो हैन झन्भन्दा झन् भड्किलो हुदै गईरहेको छ । कुनै पनि कार्यक्रम न त निर्धारित समयमा शुरूवात हुन्छ न त भनेको समयमा नै सकिन्छ । गाउँ–गाउँमा हुने सामान्य कार्यक्रमदेखि जिल्ला सदरमुकामहुँदै केन्द्रमा हुने कार्यक्रम मात्रै आशन ग्रहण र भाषण ग्रहणमै अल्झिरहेको छ । कुनै कार्यक्रम भइहाल्यो भने सबैभन्दा बढी आपत कार्यक्रम संचालन गर्नेलाई पर्छ । कार्यक्रममा उपस्थिति भएका सबैलाई मन्चमा भाषण ग्रहण गराउन नसकेपनि आशन ग्रहण भने गराउन बाध्य हुन्छन् । मेला महोत्सवको त कुरै नगरौ प्रमुख अतिथिदेखि गाउँका बरिष्ठ समाजसेवी, युवा समाजसेवी, राजनीति दलका नेता सबैलाई आशन ग्रहण गराउन मात्रै १ घण्टा समय खेर गइरहेको छ ।

लगभग ३ सय जनाभन्दा बढीलाई आशनग्रहण, फूलमाला, खादा र अबिरको टीका लगाई दिनुपर्ने बाध्यता अहिले आएर झन् बढ्दै गइरहेको छ । कसको समाजमा कति योगदान छ कसैलाई त्यसको मतलब छैन, गुटबन्दी मिलाउनेदेखि जातिय सन्तुलन मिलाउनु पर्ने अहिले सरकारले मर्यादाक्रम तोकेको छ तर त्यसको पालना भने भएको छैन । कसलाई कतिबेला आशन ग्रहणको लागि बोलाउने भन्ने कुरा कार्यक्रम उद्घोषण गर्ने ब्यक्ति र कार्यक्रम आयोजना गर्ने संस्थाको तजबिजमा भर पर्ने गर्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा अगाडि ल्याएको छ अहिले त त्यो नारा अनुसार अगाडि बढ्ने फुर्सद कसैलाई पनि छैन । मात्रै कार्यक्रम हुँदा आफ्नो नाम आशन ग्रहणमा आउनु प¥यो अनि जाने पनि नजाने पनि भाषण गर्न भने पाउनु पर्ने मुलुकको बास्तबिक अबस्था हो यो । नेपालमा ठूलो–ठूलो राजनीतिक परिवर्तन भए, देशमा रहेको २४० बर्ष पुरानो सामन्ती राजतन्त्रको समेत अन्त्य भयो तर हामी कहाँ भएको, हामीसंग रहेको सामन्ती मानसिकता अन्त्य भने हुन सकेन । यतिबेला हामी स्वंय राजा महाराजा भन्दा ठूलो भयौं । ब्यबस्था परिवर्तन भए तर अबस्थामा भने कुनै परिवर्तन भएको देखिएन । त्यहीँ कारणले पनि हामी आर्थिक रूपले सामाजिक रूपले पछाडि परिरहेका छौ भन्ने कुराको हेक्का राख्न सकेका छैनौं ।
साँच्चै भन्ने होभने यतिबेला खादा र माला सम्मान आशन ग्रहण हेर्दा लाग्छ काठमाडौंको भृकुटीमण्डपमा लाग्ने मेला भन्दापनि गन्जागोल देखिन्छ । कार्यक्रममा दुई दर्जनभन्दा बढी बक्ताहरू राखिएका हुन्छन्, कुनै कुनै कार्यक्रममा सुन्ने मान्छेहरू भन्दा भाषण गर्ने मान्छे बढी देखिन्छन् । कार्यक्रमको बिषयबस्तु एकातिर छ मान्छेले गर्ने सम्बोधन अर्काेतिर हुन्छ न त यसले कार्यक्रममा भाषण सुन्नेलाई फाइदा छ न त यसले समाजमा केही परिवर्तन नै गर्छ । अब देश बनाउने होभने भाषण ग्रहण र आशन ग्रहणलाई न्युनिकरण गर्दै जान जरुरी छ । जथाभावी रूपमा अब आशन ग्रहण गर्ने गराउने कामलाई सबै ठाउँबाट निस्तेज गर्ने अभियान नै चलाउन जरुरी छ । जबसम्म यो कुरालाई अब निस्तेज पार्न सकिदैन तबसम्म समृद्धि भन्ने कुरा मात्रै कोरा नारा मात्र हुनेछ ।