आज देखि गाजाको दहमा मेला सुरु

बागलुङ, ३ मंसिर — सिद्ध बराह रुद्रताल गाजा दह व्यवस्थापन समितिले बिगतमा बर्षमा जस्तै यस बर्ष पनि बिबिध कार्यक्रमको आयोजना गर्दै बैकुण्ठ पुर्णिमा मेला गर्ने भएको छ । गाजा दहको प्रचार–प्रसार र संरक्षणमा टेवा पु¥याउने उद्देश्यले बिबिध कार्यक्रमको आयोजना गर्दै बैकुण्ठ पुर्णिमा मनाउन लागिएको कार्यक्रम संयोजक शेरबहादुर पुनले बताए । समितिले यस बर्ष खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, एकल नृत्य प्रतियोगीता, वडा स्तरीय पञ्चेबाजा प्रतियोगीता र रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको छ । मंसिर ३ गतेदेखि बिबिध कार्यक्रमहरुको आयोजना गरिएको भएपनि मंसिर ७ गते बैकुण्ठ पुर्णिमाको दिन मुख्य समारोह रहने आयोजकले जनाएको छ । पौराणिक मान्यता अनुसार बैकुण्ठ पुर्णिमाको दिन स्थानीयले गाजाको दहमा तोरन तारेर मेला लगाउने चलन थियो । सोही परम्परालाई संरक्षण गर्दै अन्य आर्कषक कार्यक्रमहरुको समेत आयोजना गरिएको पुनले जानकारी दिए । गाजाको दहसँगै बागलुङका चार वटा स्थानीय तहको संगमस्थलको रुपमा रहेको गाजाको धुरी मेलामा पुग्ने दर्शकहरुको लागि मुख्य गन्तव्य हो ।

गाजाको धुरीमा पुग्ने दर्शकहरुले पश्चिमाञ्चलका बिभिन्न जिल्ला र कयौं हिम श्रृङ्खलाहरुको अवलोकन गर्न सक्ने समितिका सल्लाहकार ससबहादुर पुनले जानकारी दिए । समितिले बैकुण्ठ पुर्णिमामा गाजाको दह र धुरीमा पुग्न जिल्लाबासीलाई आग्रह समेत गरेको छ । सरकारले हालसलै घोषणा गरेको पुग्दै पर्ने १ सय गन्तव्यमध्ये विकास गर्नुपर्ने गन्तव्यमा परेको गाजाको दहमा पर्यटकको संख्या बिस्तारै बढ्न थालेको र त्यसलाई थप टेवा दिन मेलाको आयोजना गरिएको पुनले जानकारी दिए । स्थानीय युवाहरुको सक्रियतामा बैकुण्ड पुर्णिमाको दिन गाजाको दहमा मेला लाग्दै आएको छ । बैकुण्ठ पुर्णिमालाई स्थानीयले दह जाने पुर्णिमाको रुपमा लिने गरेका छन् । मेलाको व्यवस्थापनका लागि ९ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमानित बजेट समितिले पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरेको छ ।