न्वागी मेलाको आफ्नै मौलिक संस्कृति र महत्व

बागलुङ, ३ मंसिर — शनिबारदेखि बागलुङको ग्वालीचौरमा प्रथम बडिगाड मेला तथा पौदी न्वागी मेला शुरु भएको छ । यो मेला व्यवसायीले संचालन गर्ने महोत्सव जस्तो मात्र होइन । ऐतिहासिक महत्व भएकोले यो मेलाको आफ्नै मौलिक संस्कृति र महत्व छ । चौबिसे राजाको पालाको ईस्मा राज्यमा राखिएको गुठीको उत्पादनलाई न्वागी खाने चलनलाई पर्वको रुप दिइएको हो । गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ र ईस्मा तथा बागलुङको ग्वालीचौर, जलजला लगायत क्षेत्रको ईस्मा राज्य थियो । उक्त राज्यका राजाले १ सयमुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामाकरण गरिएको थियो । छत्र भुमी ‘छत्र गुठी’को रुपमा स्थापित भएपछि त्यहाँको उत्पादनलाई पहिलो पटक खाने विधिलाई न्वागीको नाम दिईयो । न्वागी खानका लागि एकै दिन साईत जुराएर मात्र धान काट्ने चलन थियो । त्यसका लागि बन्दुक पड्काउने गरिन्थ्यो । न्वागीका लागि उत्पादित जडान जातको धान सुकाएर कुटेपछि मंसिरको पहिलो साता न्वागी खाने चलनलाई अहिलेसम्म जिवितै राखिएको हो । विसं १८८९ देखि यो चलन नियमित चलेको न्वागी मेला संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । ‘पहिला खार बजार र दागाचउरमा मेला लाग्थ्यो, पछि एकै ठाउँमा केन्द्रीत भएको छ’ घिमिरेले भने, ‘अव्यवस्थित मेलालाई समिति र स्थानीय क्लबहरुले व्यवस्थित बनाउने चलन थालिएको छ ।’ यो बर्षदेखि महोत्सवको रुप दिईएको उनले बताए । महोत्सव मंसिर पहिलो साताभरी लाग्नेछ । तिहारको देउसी भैलोलाई समापन गर्ने मेलाको रुपमा समेत स्थापित भएकोले साँस्कृतिक झाँकी, गीत नृत्य देखाउने समेत गरिएको स्थानीय हरिप्रसाद आचार्यले बताए । उक्त दिन मेला महोत्सव गरेर हर्ष बडाई गर्ने पुरानो चलन अझै यहाँ जिवितै छ । ‘यो पर्वले बाहुन क्षेत्री, मगर र दलितको पुरानो चलनलाई धानेको छ’ आचार्यले भने, ‘हामीले भने जातीय मात्र नभई क्षेत्रकै पहिचानको मेला बनाएका छौं ।’ धेरै स्थानमा जनजातीको चाड संरक्षणमा रहेको र अन्यको लोप भएकोमा यहाँ बाहुनक्षेत्रीले पनि संरक्षण गरेको उनले बताए ।

चाड मनाउने क्रममा बाहुन क्षेत्री, मगर र दलीत समेत मिलेर न्वागी खाने गर्छन् । न्वागीका लागि ‘जडान’ नामको स्थानीय धान थियो । तत्कालिन राज्यको सबैभन्दा धेरै धान उत्पादन हुने उपत्यका भएकोले यो क्षेत्रमा न्वागी पर्वले अहिलेसम्म महत्व पाएको जनविश्वास छ । ग्रामीण बस्ती भएपनि धान उत्पादनको राम्रो क्षेत्र भएकोले किसानहरुको बर्षभरीको मेहेनत थन्क्याउने समयमा गरिने खुसीयालीलाई न्वागीको रुप दिइएको स्थानीय जीवलाल खरेलले बताए । ‘खेतीपाती थन्क्याएपछि खुसीयाली मनाउने, रामरमिता गर्ने पर्वको रुपमा यो बढी प्रयोगमा आउन थालेको हो’ खरेलले भने, ‘कृषि र पर्यटन प्रवद्र्धनको लागि यो पर्व मनाईन्छ ।’ २०४६ को परिवर्तनपछि राजनीतिक नेता र कार्यकताले पनि यो मेलालाई चासो दिन थालेको उनले बताए । बडिगाड गाउँपालिकाले पर्वलाई सबै जाती, धर्म र संस्कृतिको बनाउन बडिगाड न्वागी मेलाको नामाकरण समेत गराएको छ । स्थानीय तहको पहिचानकै रुपमा लिन थालिएकोले मेलालाई पर्यटन भित्राउने मेलाको रुपमा लिएको गाउँपालिका प्रमुख मेयरसिंह पाईजाले बताए । ‘मेला महोत्सवको पुरानो ईतिहास संरक्षण गर्दै कलाकार, खेलाडी र अन्य पर्यटकको जमघट स्थल बनाउन लागेका छौं’ पाईजाले भने, ‘खेलकुद प्रतियोगिता, लोक गीत संगीत र नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको जमघटमार्फत साताव्यापी महोत्सव मनाउन लागेका हौं ।’ न्वागी मेला भनेपछि राजनीतिक शिर्ष नेतृत्वले समेत चासो दिने गरेका छन् । मेलामै कराँते, भलिबल लगायतका खेलकुद प्रतियोगिता, सोरठी, सराय लागयतका गीत र नृत्य प्रतियोगिता समेत राखिएको छ । कतिपय युवायुवतीले यो पर्वलाई बिवाहका लागि जोडी खोज्ने अवसरका रुपमा पनि लिन्छन् । ‘टिप्पणी गर्नेले जेसुकै गरेपनि खेतीपाती भित्राएपछिको खुसीयालीमा जोडिएको छ’ खरेलले भने, ‘एकै दिन गाउँभरी न्वागी खाने भएकोले बढी रमाईलो पर्वको रुपमा स्थापित भएको हो ।’ विधिपूर्वक न्वागी खाँदा पाहुना बोलाउने, गीत गाउने, नाच्ने लगायतको संस्कार बसेको पाईजाको समेत मत छ । यो पर्वलाई अस्लिलतासंग समेत जोडेर टिप्पणी पनि हुन्छ । पारिवारिक, सामाजिक, साँस्कृतिक र यौन कुण्ठालाई समेत मेलामा व्यक्त गर्ने र समाजमा फर्कंदा सभ्य भएर फर्कने पर्वको रुपमा समेत स्थापित भएको जानकारले बताए । मेलामा राष्ट्रिय तहका कलाकार, सोरठी, घाँटु र कुमाल जातीको संस्कृतिमा आधारित ह्याम्फे नाँच नचाइएको थियो । त्यस्तै राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको छ । आधुनिक संगीतका कलाकारदेखि लोकभाखाका पुराना हस्ती समेतलाई महोत्सवमा सहभागिता छ ।