५५ प्रतिशत अनुदानमा किसानलाई मिनि टिलर हलो वितरण

बागलुङ, ४ मंसिर — काठेखोला गाउँपालिकाले वडा नं. २ भीमापोखराका किसानलाई मिनि टिलर हलो बितरण गरेको छ । खेतीपातीको समयमा गोरु नपाउने समस्या बढ्न थालेपछि किसानलाई गाउँपालिकाले ५५ प्रतिशत अनुदानमा मिनिटिलर हलो बितरण गरेको हो । गाउँपालिका अध्यक्ष अमर थापाले सोमबार भीमापोखरामा आयोजित एक कार्यक्रममा १६ वटा समूहलाई हलो बितरण गरेका थिए । विशेषगरी काठेखोला गाउँपालिकाले शुरु गरेको आलु सुन्तला पकेट ब्लक अभियानका लागि अनुदानको कार्यक्रम ल्याएको थियो । कृषि पेशामा निर्भर रहेकाहरुको समूह बनेर आएपछि कुल लागतको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेकोमा ढुवानी र अन्य सेवा समेत गरेर ५५ प्रतिशत अनुदान पुगेको वडा अध्यक्ष विद्यापति शर्माले बताए । बजारमा ५१ हजार रुपैयाँ सम्म पर्ने हलोलाई धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्स बागलुङले ४८ हजार रुपैयाँमै उपलब्ध गराएको थियो । किसानले भने २३ हजार रुपैयाँ तिरेपछि हलो उपलब्ध गराइएको हो । बाँकी रकम गाउँपालिकाले अनुदान दिएको थियो ।

हलो बितरण कार्यक्रममा अध्यक्ष अमर थापाले किसानलाई समृद्धिको बाटोमा हिडाउन आधुनिक बिधिबाट काम गर्न लगाउने उद्धेश्यले यो अभियान थालिएको बताए । ‘समयको बचत, सानो खर्चमा समूहले सजिलै काम गर्न पाउने भएकोले माग बमोजिम अनुदान पनि दिएका हौं’ थापाले भने, ‘किसानले पाएको मेसिनरीलाई सदुपयोग गरेर मिलेर काम गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले किसानहरुमा राजनीतिक र अन्य कुनैपनि बिभेद नगरी व्वसायिक सम्बन्ध कायम गर्न पनि उनले आग्रह गरेका थिए । वडा अध्यक्ष विद्यापति शर्माको अध्यक्षता, सूर्य थापाको संचालन, चिरन थापाको स्वगतमा सम्पन्न कार्यक्रममा नेकपाका प्रतिनिधि रामप्रसाद शर्मा, राप्रपा नेपालका अध्यक्ष मानबहादुर कार्की, गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्की, धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सका प्रमुख सूर्य गौतम, कृषि बिकास समितका अध्यक्ष ऋषिराम शर्मा, महिला प्रतिनिधि चन्द्रकला थापा, यम प्रसाद शर्मा लगायतले बोलेका थिए । किसानले पनि मिनिटेलरले समय र खर्चको बचत हुने भन्दै खुसी व्यक्त गरेका थिए ।