पुनःनिर्माणमा ध्यान जाओस्

जिल्लाको बरेङ गाउँपालिकामा गत असारमा गएको पहिरोका कारण बगाएका संरचनाहरुको पुनःनिर्माण हुन नसक्दा सर्वसाधारण मर्कामा परेको गुनासो सुरु भएको छ । जिल्लाकै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको तुरतुरेमा खसेको पहिरोका कारण बनेको ताललाई व्यवस्थित गरेर संरक्षण गर्ने बिषयमा चर्चा सुरु भएको छ तर तालका कारण डुबानमा परेका परिवारलाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा कुनै चासो र चिन्ता देखिँदैन् । काठेखोला गाउँपालिकाको बिहँुमा जमिन फाँटेका कारण विस्थापित बनेका १४ परिवारको व्यवस्थापनको लागि गाउँपालिकाले पहल थालेको भनेपनि महिनौं बितिसक्दा उनीहरुको बसस्थानको व्यवस्थापन हुन सकेको छैन् । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि बागलुङले बाढी र पहिरोको क्षति व्यहोर्नु प¥यो । बरेङ र निसीखोलामा मानविय क्षति भयोभने कयौं ठाउँमा भौतिक संरचनाको क्षतिका कारण सर्वसाधारण मर्कामा परेका छन् । कतै बिद्यालय भवन बगाएका बनेका छैनन् । कतै सिंचाईका कुला तथा खानेपानी, शौचालय, सडक लगायतका क्षेत्रमा भएको क्षतिका कारण सर्वसाधारणले कष्टकर जिवन बिताईरहेका छन् ।
जनताको छेवैमा आएको भनिएका सिंहदरबारहरुले बर्षात्को समयमा भत्केका बाटोहरु बनाईसके । स्थानीय सरकारको आँखा भत्केका बाटोहरुमा प¥यो तर भत्केका मन तथा भत्केका घरहरुमा अझै पर्न सकेको छैन् । घटना हुदाँकै घडिमा दिएको समान्य राहत सामाग्रीबाहेक उनीहरुको उचित व्यवस्थापनका लागि स्थानीय सरकारहरुले कार्ययोजना बनाएको देखिएन । बिपद व्यवस्थापन समितिले तत्काल उपलव्ध गराएको राहतले मात्रै बर्षाको भेल बाढीले बगाएका घरहरु उठ्दैनन्, भत्किएको परिवार र चर्किएका मनहरुमा मलमपट्टि लाग्दैन् । बर्षा सकिएसँगै आएका चाडपर्वहरु उनीहरुले कुन कष्टले मनाए त्यो बिषयमा सोच्न जरुरी थियो । देशमा तीन तहका सरकार छन्, जनताका काम गर्न भनेर बनेका सरकारहरुमध्ये सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । बर्षा र बाढीले पु¥याएको क्षतिको बिषयमा लगत संकलन गर्ने र पुनःनिर्माणको काम गर्ने पहिलो दायित्व स्थानीय सरकारको हो । यदि स्थानिय सरकारले नसक्ने अवस्थामा प्रदेश सरकार र केन्द्र सरकारसँग सहकार्य र सहयोगको वातावरण बनाउने काम पनि स्थानीय सरकारको हो ।
बर्षा र बाढीको समयमा भएको क्षतिको पुनःनिर्माणको लागि स्थानीय सरकारको सक्रियता निकै कमजोर देखियो । जिल्लाभर भएको क्षतिको पुनःनिर्माणको लागि अब स्थानीय सरकारले ढिलाई गर्नु हुँदैन् । भत्केका घर र भौतिक संरचनाहरुको पुनःनिर्माण, विस्थापितहरुको व्यवस्थापन र परिवार गुमाएकालाई राहतका कार्यक्रम ल्याएर तत्काल उनीहरुको घाउमा मलमपट्टि लगाउने काममा स्थानीय सरकार लाग्न जरुरी छ । यस बर्षको बर्षा र बाढीले पु¥याएको क्षति अर्को बर्षको बाढीलाई बगाउन सजिलो नबनोस्, सञ्चार माध्यामले बनाउने समाचारको स्रोत बन्न नपरोस्, नजिकको सरकार भएको अनुभुती आम सर्वसाधारणले गर्न पाउने वातावरण बनोस्, क्षति भएका संरचनाहरु नयाँ बनुन वा मर्मत संहारको काम होस् । परिवार गुमाएकालाई राहतको महशुस होस यसैमा सबैको कल्याण हुने छ ।