विकासले गति लिन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट

'हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ ।'

काठमाडौँ, ४ मंसिर – प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भइसकेपछि पनि विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा उनले सरकार बनेको ९ महिनामा सोचे जस्तो विकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले पठाएको प्रेस नोट अनुसार उनले विकासमा वाधक नीतिहरु सच्याउनका लागि प्रतिष्ठानले काम गर्ने बताए । साथै सरकारले प्रतिष्ठानालाई हरतरहको सहयोग गरिनेसमेत प्रष्ट पारे । ‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ?’ उनले भने, ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’
प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह पनि गरे । ‘सरकारले कम खर्च बढी प्रतिफल दिने नीति लिएको छ’ प्रधानमन्त्री ओलीले थपे, ‘हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ ।’ सरकारले प्राध्यापक चैतन्य मिश्र, मीना आचार्य, प्राध्यापक राजेन्द्रध्वज क्षेत्री, प्राध्यापक सुरेन्द्र लाभ र गणेशमान गुरुङ रहेको प्रतिष्ठान गठन गरेको छ ।