आशामा बाँचेका कठै हामी…

लामो संक्रमणकालिन अवस्थाबाट देश भर्खरै तङग्रिएको छ । अब केही विकास निर्माणका कामहरु हुन्छन् भन्नेमा नेपाली जनतामा आशा पलाएको छ । संविधान निर्माणसंगै देशले कोल्टे फेर्ने होकि भन्ने पनि थियो नागरिकमा । तर हालसम्म पनि त्यस्तो अवस्था देखिएको छैन् । विभिन्न चरणमा चुनाव त सम्पन्न भए, नागरिकहरु सन्तुष्ट देखिएका छैनन् । हुन त यो देशमा संविधन निर्माणसंगै विरोधका स्वरहरु बाहिर आएका छन् । अहिले नयाँ मुलकी संहिता आएपछि पनि देशमा विभिन्न किसिमका आन्दोलनहरु भएका छन् । कहिले ड्राइभरहरु, कहिले डक्टरहरु त कहिले पत्रकार पनि यो कानुनको विरोधमा सडकमै देखिए । हामीलाई कानुन पनि चाहिने, कानुनका लागि पनि लड्ने अनि कानुन गतिलो भएन, हामीलाई जेल हाल्ने खालको कानुन आयो भनेर फेरी विरोध, बन्द हड्ताल गर्नुपर्ने है…कठै मेरो देश ! सोझा–सिधा जनतालाई मात्र कानुनले बाध्नु पर्ने रे ! नेपाली भनाई छ नि ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेझै सरकारले पनि जो बोल्न सक्छ त्यसका मुद्धाहरु मिलाइदिने रे, कानुन परिवर्तन वा संसोधन गरिदिने रे ! कठैवरा मेरो सरकार !
दुई तिहाईकोे सरकारले चाहे राम्रा कामका लागि जे पनि गर्न सक्छ तर आज सरकार निरीह भएर बसेको छ । जसले जे भन्यो त्यही मानेको जस्तो देखिन्छ । सरकार कुनै व्यक्तिलाई केही कुरा मन परेन भने सरकार त्यसका बारेमा लागिपरे जस्तो देखिन्छ । सिंगो देश अप्ठेरोमा हुँदा’नि कसैलाई मतलबै छैन । कानुन एक दुई जनाले भन्दैमा संसोधन गर्न कहाँ पाइन्छ र ! कानुन त सबै नागरिकदेखि ठुलाबडालाई पनि बरावर हुनुपर्ने होला नि । शुरुमा यो सरकारले केही गर्ला जस्तो देखिएको थियो । यातायात क्षेत्रमा भएको सिन्डिकेटलाई हटाउने भनेर, तर त्यो कुरा कुरामा नै सिमित भयो, काम देखिएन । नेपाली जनतालाई आश लागेको थियो अब केही हुन्छ कि भनेर मन्त्रि–मन्त्रि बीचमै तानातान छ, अनि कसरी भनेको काम हुन सक्छ । फेरी पुरानै शैलीमा यातायात क्षेत्र चलेको छ । यातायात व्यावसायी २०६९ देखि भाडा बढेको छैन भन्दै सरकारलाई दबाव दिदै भाडा बढाउन भन्छन् तर भाडा उनीहरुले नै मनोमानी रुपमा पहिलेदेखि नै भाडा बढाएर लिएकै छन् त्यसको अनुगमन गर्ने कसले ? यो देश जबसम्म पुँजिवादी दलालको हातबाट फुत्किदैन तबसम्म यस्तै नियती नेपाल र नेपालीले व्यहोरी रहनु पर्ने भएको छ ।
नेपालीको बानी नै परिसक्यो बन्द हडताल गरियो भने पक्का आफुले भनेको पाईन्छ । अहिले बलियो सरकार थियो, यो बेला भनेको नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्ने हो । साना–तिना झिना–मसिना कुराहरुलाई पन्छाएर देश विकासमा लाग्नु पर्ने बेलामा सरकार विभिन्न समुहका माग पुरा गर्नतर्फ लागिपरेको र अलमल गरेको पाइन्छ । सबैका माग पुरा गर्न कहाँ सकिन्छ र जुन कुरामा पनि कतिपय सन्तुष्ट हुन्छन्, कतिपय असन्तुष्ट हुन्छन् यो त स्वाभाविकै प्रक्रिया हो । आशा गरेका मन्त्रीहरु पनि अहिले विभिन्न बहानामा अलमल गरिरहेका छन् । आज देशमा दिनानुदिन बलात्कार गर्ने र हत्याका घट्ना सुनिरहेका छन्, त्यसमा नि नाबालिकाहरु धेरै छन् । के हुन लागेको होे कुन्नी यो देशमा । देशनै यतिबेला निर्मला पन्तमय भएको छ । तेह्र वर्षिया नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको पनि चार महिनाबाट धेरै भयो, अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन यो सरकार । अनि नालायक पुलिस प्रशासन । देशभरि आगो बलिरहेको छ, हानाहान चलेको छ, दिनानुदिन विभिन्न तरिकाबाट आन्दोलनहरु देशैभरि भैरहेका छन् । देशमा यस्तो विकराल अवस्था हुँदा पनि राज्य संचालन गर्नेहरु पनि खै किन डराए कि आफै फसिन्छ भनेर हो, बुझ्नै सकिएन । सबै प्रमाणहरु मेटाईदा किन मेटाइयो थाहा छैन । आजभोली भन्दाभन्दै बित्यो यति धेरै दिन तर हत्यारा पत्ता लाग्दैन के भा’को हो कुन्नि…कठै मेरो देश । र पनि हामी नेपाली आशामा बाँचिरहेका छौ । डिएनए परिक्षणको नाममा मिडिया तथा नागरिकलाई भुलाउने काम भैरहेको छ । अहिले त निर्मलाका आमाबाबा पनि बाध्य भएर अनसन पनि बसेका छन् तर हत्यारा कहाँ छ कहाँ ? त्यसपछि पनि त्यस्ता घटनाहरु धेरै घटेका छन् । कहिले दाइजोको नाममा, कहिले बोक्सीको नाममा महिलालाई दमन, अपहरण, हत्या जस्ता जघन्य क्रियाकलापहरु बढिरहेका छन् । मान्छे मारिएको वर्षौ वर्र्षाैसम्म पनि राज्यले खबर पाउदैन, के छ कारण वुझ्नै गाह्रो भएको छ हामी नागरिकलाई । तर पनि आशामा नै छौ ।
सुनकाण्ड पनि त्यसरी नै हरायो, कता गयो कता कसैलाई अत्तोपत्तो छैन । अब पत्ता लाग्छ भन्दै जनतालाई आशा मात्रै देखाउँछन् । मान्छे मर्छ, मारिन्छ जेल जान्छन् न सुन भेटिन्छ न तस्करी नै पत्ता लाग्छ, कसलाई के भन्ने कुन्नी ? नेपालमा धेरै पटक सुनका कुरा सुनेका छौ, यताबाट उता गयो रे ! कहाँ हो कहाँ अनि अत्तोपत्तो छैन । ‘आकाशको फल आँखा तरि मर’ भने जस्तो काम मेरो देशमा भएको छ । समयमा काम नगर्ने ठेकदार पनि हाम्रो देशमा छन्, तिनलाई कारवाही भन्दा नि पुरस्कृत गरिन्छ, विभिन्न बहानामा ठेक्का दिइन्छ । ठेकदार काम गर्दा–गर्दै भाग्छ, त्यसको खवर नै हुँदैन सरकारलाई अनि आयोजनाहरु अलपत्र अवस्थामा रहन्छ कठै मेरो देशको हालत ! हामी नेतृत्वदेखी तल्लो तहका नागरिक पनि किन यस्ता कुरामा चुकेका छौ, जसले जे गरे पनि चुपचाप सहेर बसिरहेका छौ । किन हामी नेपालीहरु यति धेरै शहनशिल छौ । देश विकास गर्ने बेलामा हामी साना–साना काममा अल्झेर बसेका छौ । स्थानीय तहहरु पनि अलमलमा, प्रदेश संसद पनि अलमलमा, कसरी अगाडी बढ्ने हो । कतिपय निती नियमहरु बनाउनु पर्नेछ, अहिलेसम्म पनि कतिपयमा प्रवेश नै छैन अनि देश कसरी आर्थिक समृद्धिमा जान्छ । यस्ता धेरै ललिपप खाएका छौ हामी नेपालीले । धेरै सपनाहरु पनि देखेका छौ हामीले तर कहिले पुरा होला भनेर कल्पना मै हराएका छौ । हामी नेपालीहरुले ‘मनको लड्डु घ्युसंग’ मज्जाले खाएका छौ, कहिले होला पिडितले न्याय पाउने अनि भ्रष्टाचारीले सजाय पाउने, दलालहरु जेल जाने, हत्याराहरु जेल जाने, खै कसैलाई केही थाहा छैन । को कति बेला के हुने हो, कहाँ पुग्ने हो कसैलाई पनि जानकारी छैन् । र पनि हामी नेपालीहरु यस्तै आशामा नै बाँचिरहेका छौ ।