मिनीटेलर हलोसंगै सिप देउ

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गत सोमबार धुमधाम कार्यक्रमको आयोजना गरी किसानहरुका लागि यान्त्रिक (मिनीटेलर) हलो वितरण गरियो । गाउँपालिकाको ५५ प्रतिशत अनुदानमा र कृषक समुहको ४५ प्रतिशत लगानी गरेपछि किसानलाई कृषि कर्ममा सहजता प्रदान गर्न भन्दै हलो वितरण गरिएको हो । हलो पाएका किसानहरुमा प्रबिधिको प्रयोग गर्न पाएकोमा एक खालको उत्साह देखिन्थ्यो, जुन स्वभाविक थियो । काठेखोलाले मात्रै होईन् जिल्लाका अन्य स्थानीय तहले पनि यान्त्रिक हलो वितरणलाई प्राथमिकतामा राखेका छन् । कृषिमा आधुनिकतलस्ीकरण नाम दिएर स्थानीय तहहरुले वितरण गरेको जोत्ने हलो, मकै छोड्याउने मेसीन लगायतका प्रबिधियुक्त साधनहरु किसानका सहयोगी नै हुन् । खेतबारी जोत्नका लागि आवश्यक गोरुको संख्या घट्दै गएका कारण किसानहरुलाई हलो आवश्यक थियोभने प्रबिधिको प्रयोगले काम छिटोछरितो र समयको बचतका लागि समेत हलोको आवश्यकता थियो ।
हलोसँगै गाउँपालिकाले त्यसको प्रयोगको बिषयमा जानकार व्यक्तिहरुलाई लगेर समान्य तालिम समेत दियो, जसका कारण किसानहरुलाई हलो प्रयोगमा सहजता प्रदान हुने कुरामा दुई मत रहेन् । काम गर्ने मानिसहरुको अभावका कारण खेतबारी बाँझो राखेर बजारिया बस्तुको प्रयोग गर्न बाध्य भएका किसानहरुका लागि यान्त्रिक हलोले केही हदसम्म राहत प्रदान गर्ने छ । एकातर्फ गाउँघरमा गोरु पाल्न छोडिएको छभने गोरु खेदेर दिनभर खेतबारी जोत्ने मानिसहरुको समेत गाउँमा अभाव छ । यान्त्रिक हलोले दुवै कुरालाई परिपुर्ति गर्ला त्यो परिक्षणको बिषय हो । तर हलोको प्रयोगले कस्तो प्रभाव पार्छ भन्ने अर्को खोजीको बिषय हो । अभियानकै रुपमा किसानहरुले नपाएको भएपनि अहिलेभन्दा केही बर्ष पहिलेदेखी किसानहरु व्यक्तिगत लगानीमा गाउँमा भित्राएका हलोका कारण उनीहरुको दैनिकी फेरीएको कुरा सर्वबिधितै रहेको कुरा हो । यान्त्रिक हलो प्रयोगमा ल्याउन चाहिने सिपको बिषयमा जानकारी नहुँदा किसानहरु सास्ती खेप्नु परेका कयौं उदाहरणहरु छन् । बितरणको समयमा बिक्रेताले दिने सामान्य जानकारीबाहेक हलोको प्रयोगका बिषयमा कहिँकतै तालिम गोष्ठि र सेमिनार चलेको पाईंदैन् ।
किसानहरुलाई प्राबिधिक सामानसँगै सिपको आवश्यकता छ । सानो त्रुटीले मात्रै ठुलो क्षति व्यहोर्नु पर्ने प्राबिधिक सामानहरुमा किसानका त्रुटीका कारण फाईदाभन्दा नोक्सानी धेरै हुने वातावरण नबनोस् । हलो गाउँमा भित्रिएका भएपनि हलोमा आउने सामान्य समस्या समाधान गर्न सक्ने प्राबिधिक जनशक्ति गाउँमा छैन् । थोरै मात्र हलोमा केही समस्या आएमा सवारी साधनको छतमा राखेर सदरमुकाम ओहोरदोहोर गराउनु पर्ने किसानको बाध्यताका बिषयमा पनि सोच्न जरुरी छ । हलो बितरण गर्ने निकाय र किसान स्वंले समेत हलोको मर्मतका लागि आवश्यक सिपको विकासका लागि पहल गर्नु अहिलेको आवश्यकता हो । सहजताका लागि प्रयोगमा ल्याईएका प्रबिधिक समानहरु भालुको बंगारा नबनुन् । काम गर्ने समयमा अनुनय बिनय गरेर सवारी छत भरेर सदरमुकाम धाउनै पर्ने वातावरण सिर्जना नहोस् । हलो वितरणसंगै प्राविधिक ज्ञान पनि दिने गरौं । यान्त्रिक हलोको सहि सदुपयोग र दिर्घकालिन प्रयोगको बिषयमा आजैदेखी सोचौं ।