बराह मन्दिरमा पर्यटन मेला हुने

मेलामा उठेको रकमले बृद्धाश्रम बनाईने

बागलुङ, ५ मंसिर– भकुण्डेमा पर्यटन प्रवद्र्धनसहित ऐतिहासिक र धार्मिक महत्वका अभियानलाई निरन्तरता दिन बराह पुजा तथा पर्यटकीय मेला हुने भएको छ । बराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण समितिको आयोजनामा बुधबारदेखि शुक्रबारसम्म विभिन्न कार्यक्रमसहित मेला लाग्ने भएको हो । समितिले मंगलबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो । तीन दिनसम्म चल्ने मेलाले भकुण्डेको कला, संस्कृतिको संरक्षण गर्ने र आन्तरिक पर्यटक भित्राउने मुख्य लक्ष राखेको समितिका सल्लाहकार नरबहादुर थापाले बताए । विशेषगरी कात्तिक पूर्णिमालाई केन्द्रमा पारेर हरेक बर्ष यहाँ पूजा र मेला लाग्ने गर्छ ।
राणा कालदेखिनै यहाँ ठूलो मेला लाग्ने गरेको ईतिहास छ । पछिल्लो समय बरु यहाँ मेला र पूजा गर्ने चलन हराएको थियो । २०५७ सालमा स्थानीय अमरबहादुर केसीलाई झाँक आएर उक्त स्थानमा पूजा गर्नुपर्छ भन्ने सन्देश मिलेपछि उनले एक्लै अभियान समेत थालेको थापाले बताए । केही समयपछि भकुण्डे बासीले आफ्नै क्षेत्रको पहिचान समेत भएकोले नियमित पूजा र मेला आयोजना गर्दै आएका छन् । समितिले केही बर्षअघि व्यवस्थित रुपमा महोत्सव आयोजना गरेको थियो । हाल बराह मन्दिर र बराह ताल रहेको स्थानमा जग्गा अभावले अन्य पूर्वाधार बनाउन नसकेको समितिको गुनासो छ । ‘हामीसँग केही बजेट पनि छ, तर वरपरको जग्गा किन्न सकेका छैनौं’ थापाले भने, ‘जग्गा प्राप्त भयो भने वृद्धाश्रम, पर्यटकहरुलाई अर्कषित गर्ने रमणीय संरचना र सत्तल बनाउने योजना छ ।’ स्थानीय तह र प्रदेश सरकार समेतले भकुण्डेको पर्यटन प्रवद्र्धन र ताल संरक्षणका लागि भने बजेट र कार्यक्रम नपारेको उनले गुनासो गरे । सरकारले घोषणा गरेका केही पर्यटकीय गन्तव्यमा भने भकुण्डे सूचीकृत छ । भकुण्डेमै होम–स्टे संचालनमा छ ।
त्यस्तै बागलुङ संग्राहलय बनाएर संचालनमा समेत आइसकेको छ । भकुण्डेमा पुग्दा दर्जन हिमालको चुचुराहरु पनि देखिन्छन् । त्यसैले बागलुङ घुम्न आउने पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । कतिपय होटलमा आएका पाहुनालाई भकुण्डे जान सल्लाह दिने गरेको होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले बताए । ‘पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार भएमा जिल्लाकै व्यवसायमा सकारात्मक प्रभाव पर्छ’ उनले भने, ‘पाहुनालाई लोकल र अर्गानिक खाना खाने अवसर दिनुपर्छ ।’ भकुण्डे पुगेका पर्यटकले भने अर्गानिक अनुभव संगालेर फर्केको प्रतिक्रिया पनि दिने गरेका छन् । मेलाको अवसर पारेर समितिले बागलुङ कालिका भगवती मन्दिरदेखि बराह ताल सम्मको म्याराथुन दौड प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था पनि गरिएको छ । त्यस्तै बराह तालमै काव्य गोष्ठी, खुला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, स्लो बाइक रेश प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले बताए । नौमती र पञ्चेबाजा तथा भजनकृतनका कार्यक्रम पनि संचालन गरिने योजना छ । मेलाकै अवसरमा पूर्णिमाको दिन कलश यात्रा, बराह भगवानको पुजा आराधाना, तथा तोरण तार्ने कार्यक्रम समावेश गरिएको छ ।
मेलालाई आर्कषित बनाउन राष्ट्रिय तहमा ख्याती कमाएका कलाकारको जमघट समेत गराईने भएको हो । मेलाकै अवसर पारेर भकुण्डेसम्म मिनीबस संचालन गर्ने तयारी समेत छ । सडकलाई स्तरोन्नती गरेर मिनीबस लैजान सक्दा धेरै पर्यटकहरु एकैपटक जान सक्ने भएकोले त्यसतर्फ तयारी गरेको वडा अध्यक्ष प्रेम थापाले बताए । मेलाका लागि कम्तिमा ५ लाख खर्च लाग्ने भएपछि समितिले सोही बराबरकै सहयोग जुटाउने योजना पनि बनाएको छ ।