दमेकमा किशानलाई मौरी घार वितरण

५ बर्षमा सबै घरमा पु¥याउने लक्ष

बागलुङ, ५ मंसिर– जिल्लाको जैमिनी नगरपालिका–२ दमेकले सञ्चालन गरेको ‘एक घर एक मौरीघार’को दोस्रो चरणको अभियान सुरु भएको छ । आगामी ५ बर्ष भित्रमा वडाका सबै घरमा मौरीको घार पु¥याउने लक्षका साथ सुरु गरिएको अभियानअन्तर्गत यस बर्ष कृषकहरुलाई तालिमसहित मौरीका घार वितरण गर्न थालिएको हो । अघिल्लो आर्थिक बर्षमा १ सय ५० मौरीका घार वितरण गरेको वडा कार्यालयले यस बर्ष दोस्रो चरणको अभियान अन्तर्गत ६० वटा मौरीका घार वितरण गर्न लागेको वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले बताए । दोस्रो चरणको अभियानअन्तर्गत वडा कार्यलयले कृषि विकास समितिको समन्वयमा ३२ जना कृषकहरुलाई मौरीपालन सम्बन्धि तालिम समेत दिएको छ ।
मौरीपालक किसानहरुलाई व्यवसायीक र अत्मनिर्भर बनाउनका लागि दुई दिने मौरीपालन तालिम सञ्चालन गरेको वडा कार्यालयका कृषि प्राबिधिक रविन्द्र शर्माले बताए । तालिम पाएका किसानहरुले वडाका अन्य किसानलाई मौरीपालनको अनुभव र प्रबिधिको प्रयोगका बिषयमा जानकारी गराउने उनले बताए । वडा कार्यालयले मौरीसहित घार लान चहने कृषकहरुका लागि मौरीको मुल्य तिरेर घर मात्रै अनुदानमा पाउने व्यवस्था मिलाएको छ । गत बर्ष मौरीघार मात्रै वितरण गर्दा किसानहरुले मौरी खोज्न सास्ती भएको गुनासो गरेपछि यस बर्ष अनुदानको घारसँगै मौरी समेत उपलव्ध गराउन लागिएको सापकोटाले जानकारी दिए ।
दमेकका ८ सय परिवारमा मौरीको घर पुग्ने गरी अभियान थालिएको वडा कार्यालयले जनाएको छ । उत्तर फर्केको अधिकांश भुभाग रहेको दमेकमा तरकारी खेती बढी हुने भएकाले मौरीपालनको भविश्य खोजिएको हो । प्रसस्त जंगल क्षेत्र, सुन्तला लगायतका फलफुलको खेती हुने गरेका कारणले पनि मौरीपालनका लागि दमेक उपयुक्त रहेको कृषि प्राबिधिक रविन्द्र शर्माले बताए । बर्षका दुई सिजनमा मौरीपालनबाट फसल लिँदै आएका दमेकका किसानहरु वडा कार्यालयले चलाएको अभियानबाट उत्साहित छन् ।