मिनिटेलरबाट मनग्य आम्दानी गर्न सफल मिनबहादुर

एक दिनमा करिब ७, ८ घण्टा जोत्ने भएका कारण दिनमा ५ हजारसम्म आम्दानी हुने गरेको खत्रीले वताए।

बागलुङ, ५ मंसिर – गलकोट दुदिलाभाटीका कृषक मिनबहादुर खत्रीले मिनिटेलरबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । अहिले गहुँ छर्ने सिजनमा मात्रै खत्रीले १ लाख बराबरको कमाई गरेको बताए । दुदिलाभाटी टोडकेका ४६ बर्षिय कृषक खत्रीले ५२ हजार पर्ने मिनिटेलरलाई गलकोट नगरपालिकाबाट ५० प्रतिशत अनुदान स्वरुप २६ हजारमा खरिद गरि दिएका थिए ।
दुई हलको बारीमा तरकारी खेति गर्दै आउनुभएका खत्रीले मिनिटेलर खरिद गरेपछि तरकारी खेति गर्न सजिलो भएको बताए । पहिले तरकारी खेति गर्न एक सिजनमा करिब १ सय जना भन्दा बढि कृषक आवश्यक पर्नेमा अहिले आफनै परिवारले मात्रै तरकारी खेति गर्न सफल भएका छन् । दिनभरी लाग्ने काम मिनिटेलरले एक दुई घन्टामा नै सिध्याइदिने भएपछि काम गर्न सजिलो भएको कृषक खत्रीको भनाई छ ।

आफ्नो काम भ्याएर अहिले खत्रीले छिमेकीको खेती लगाइदिएर मनग्ये आम्दानी गर्न सफल भएका हुन् । खत्री भन्छन, १० दिनसम्म लगाएर रोप्ने खेत एकै दिनमा सक्ने भएका छौ । उहाँ र उहाँको परिवार अहिले हलगोरु पाल्ने चिन्ताबाट मुक्त भएका छन् ।
मिनिटेलरले गर्दा निकै सहज भएको उनीहरु वताउछन् । अहिले हिउदभरी लगायर रोप्ने खेतबारी समयमै रोपेर सकिन्छ, मिनिटेलरले गोरु पाल्न नपर्ने र घाँसको पनि केहि पीर छैन । २६ हजारमा किनेको मिनिटेलरले काम दिनुको साथै कमाइ पनि गरिदिएकोमा उनी खुशी छन् ।
गत जेठ महिनामा गलकोट नगरपालिकाले नगरभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको थियो । खत्रीको मिनिटेलर दुदिलाभाटीको टोडकेसँगै भाटीबजारको फाँट जोत्नमा धमाधम प्रयोग भईरहेको छ । १ हलको मेलो जोत्नका लागी १ घण्टा ३० मिनेट लाग्ने भएका कारण कृषकहरुको माग बढ्दो छ । खत्रीका अनुसार एक दिनमा करिब ७, ८ घण्टा जोत्ने भएका कारण दिनमा ५ हजारसम्म आम्दानी हुने गरेको खत्रीले वताए। मिनिटेलरमा एक घण्टामा १ लिटर डिजेल लाग्ने गरेको छ। आफुलाई आवश्यक परेर ल्याएको भएपनि अहिले दुदिलाभाटीका कृषकहरुलाई सहज भएको खत्रीको भनाई छ । खत्रीले अहिले आफनो बारीमा बन्दा, काउली, मुला, गाजर, सिमी लगायतका तरकारी लगाएका छन । उनी गत २ बर्षदेखि ब्यवसायीक रुपमा कृषि पेसामा लागेका छन् ।