तनावपूर्ण खेलमा मनाङले थ्रीस्टारलाई हरायो

मनाङले खेलको सुरुबाटै अग्रता लिएर थ्रीस्टारविरुद्ध २–१ को जित दर्ता गराएको हो । 

काठमाडौँ, ६ मंसिर – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको प्रतिस्पर्धात्मक भिडन्तमा थ्रीस्टारविरुद्ध मनाङ मर्स्याङ्दीले बाजी मारेको छ । मनाङले खेलको सुरुबाटै अग्रता लिएर थ्रीस्टारविरुद्ध २–१ को जित दर्ता गराएको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउने क्रममा अञ्जन विष्ट र विदेशी खेलाडी आडीलेजेले गोल गरे ।
मनाङका लागि खेलको ११ औं मिनेटमा हेमन गुरुङको पासमा अञ्जन विष्टले भलिबाट गोल गर्दै अग्रता दिलाए । त्यसलगत्तै मनाङले अर्को गोल गर्‍यो खेलको १८ औं मिनेटमा थ्रीस्टारको डिफेन्स छरपस्ट भएको अवस्थामा मनाङले अर्को गोल थप्यो । १८ औँ मिनेटमा विदेशी खेलाडी आडीजेलेले गोल गरे । आफ्ना प्रमुख चार खेलाडीलाई बेन्चमा राखेको मनाङले थ्रीस्टारविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो ।
पहिलो हाफमा दुई गोल खाएको थ्रीस्टारले ८२ औं मिनेटमा पेनाल्टीको मौका पायो । पेनाल्टीलाई रञ्जित धिमालले गोलमा परिणत गर्दै खेललाई २-१ मा ल्याए । थ्रीस्टारले मनाङविरुद्ध खेलको अन्तिम समयमा दबाब बढाए पनि पराजित हुन पुग्यो । जारी लिगमा यो थ्रीस्टारको पहिलो हार हो । यो जितसँगै मनाङले तीन खेलबाट नौ अंक बटुलेर शीर्ष स्थान आशिन भएको छ  । पराजित थ्रीस्टारले भने ६ अंक जोडेको छ ।