वाइडबडी विवाद : निगमले नै माग्यो छानबिन

‘म विनम्र आग्रह गर्छु, संसद्ले छानबिन गरोस्, कतै त्रुटि भएको रहेछ भने कडा कारबाही गरोस्, हामी सघाउन तयार छौं ।’

काठमाडौं, ८ मंसिर – नेपाल वायुसेवा निगम र पर्यटन मन्त्रालयका अधिकारीहरूले नै वाइडबडी जहाज खरिद प्रक्रियामाथि छानबिन गर्न संसदीय समितिलाई आग्रह गरेका छन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइडबडी खरिद विवादबारे छलफल गर्न शुक्रबार बोलाएको बैठकमा उनीहरूले त्यस्तो आग्रह गरेका हुन् । ‘हुँदै नभएको आरोप लगाएर निगमलाई बदनाम गराउने काम भइरहेको छ,’ पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले समितिका सदस्यहरूलाई भने, ‘म विनम्र आग्रह गर्छु, यसमाथि संसद्ले छानबिन गरोस्, कतै त्रुटि भएको रहेछ भने कडा कारबाही गरोस्, हामी सघाउन तयार छौं ।’
वाइडबडी खरिदमा भ्रष्टाचारको गुनासो आएपछि शुक्रबारको समिति बैठकले उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सचिव देवकोटा, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, कार्यकारी अध्यक्ष मदन खरेल एवं खरिद प्रक्रियामा संंलग्न अधिकारीहरूलाई बोलाएर सोधपुछ गरेको थियो । बैठकको सुरुमै सांसदहरूले यसमाथि छानबिन गर्न उपसमिति गठनका लागि सभापति पवित्रा निरौला खरेललाई आग्रह गरेका थिए । उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री अधिकारी र महाप्रबन्धक कंसाकारले पनि छानबिन गरेर सत्यतथ्य खुट्याउन आग्रह गरे ।
‘यतिका प्रश्न उठिसकेपछि संसद्ले चासो दिएको देख्दा मलाई खुसी लागेको छ,’ मन्त्री अधिकारीले भने, ‘संसद्ले के भएको हो भनेरजान्ने अधिकार राख्छ, छानबिनका लागि आवश्यक कागजात २४ घण्टाभित्र उपलब्ध गराउने वाचा म गर्न चाहन्छु ।’ चार घण्टा चलेको सवालजवाफपछि समितिले खरिद प्रक्रियामाथि छानबिन गर्न समिति गठन गरेको छ । समितिमा सांसदहरू प्रकाशमान सिंह, रेणुका गुरुङ र नारदमुनि राना सदस्य रहने प्रस्ताव सभापतिले गरेकी छन् । सिंह बैठक छाडेर हिँडिसकेकाले र गुरुङ अनुपस्थित रहेकाले निर्णय भने हुन सकेको छैन । यसबारे प्रस्तावित सदस्यहरूलाई सोधेर निर्णय गरिने समितिको सचिवालयले जनाएको छ । बैठकमा पूर्वपर्यटन मन्त्रीसमेत रहिसकेका नेकपाका नेता भीम रावलले विमान खरिद प्रक्रिया रहस्यमय बन्दै गएको र यसमाथि धेरै प्रश्न आइसकेको अवस्थामा पनि जिम्मेवार निकायका पदाधिकारीले प्रस्टीकरण दिन नसकेको भनी आलोचना गरेका थिए । ‘सबभन्दा आश्चर्यको कुरा त यो विमान कसको स्वामित्वमा छ भन्ने प्रश्न उठ्नु हो,’ रावलले भने, ‘यो विमान किनिएको हो कि भाडामा लिइएको हो ? चित्तबुझदो जवाफ किन अहिलेसम्म निगमलेदिन सकेन ?’
कांग्रेस नेतृ सुजाता कोइरालाले देश टाट पल्टिएका बेला विमान किन्नु पर्नाका कारण सोधेकी थिइन् । ‘म विराटनगर गएर फर्किँदा ठाउँ नपाएकाले काठमाडौं विमानस्थलमा ओर्लन एक घण्टा हावामै तैरिन पर्‍यो, ज्यानै जाला कि भन्ने डरले सबै यात्रु डराएका थिए, म पनि डराएँ,’ कोइरालाले भनिन्, ‘हरेक जहाज अवतरणका बेला यस्तो भइरहेको छ, हामीसँग ठाउँ नै छैन र पैसा पनि छैन भने किन २५ अर्ब तिरेर वाइडबडी किन्नुपर्‍यो ? यसको चित्तबुझदो जवाफ दिनुस् ।’ सांसदहरू सिंह, राना, दिव्यमणि राजभण्डारी, पुष्पा भुसाललगायतले किन्नेबित्तिकै विमान ग्राउन्डेड भएको, पार्टपुर्जासमेत खरिद हुन नसकेको, जहाज पुरानो परेको, निगम दिनहुँ १ करोड घाटामा गएर टाट पल्टिन थालेको लगायतका विषयमा प्रश्न उठाएका थिए । ‘निगमको नियमावलीले सिधै जहाज निर्माता कम्पनीसँग खरिद गर्न‘ भनेको छ, तर त्यसको पालना किन भएन ?’ कांग्रेसका नारायण खडकाले सोधे, ‘महालेखाले ५५ औं प्रतिवेदनमा विमान खरिद प्रक्रियामा त्रुटि छ भनेर प्रस्टै भनेको छ, के त्यो झूटो थियो ?’
पूर्वप्रधानमन्त्री तथा समिति सदस्य माधवकुमार नेपालले निगमलाई जहाज जरुरी भए पनि खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै उठेका सबै प्रश्नको उत्तर दिन कंसाकारलाई निर्देशन दिए । ‘जहाज किन्नेबित्तिकै ग्राउन्डेड अरे ! यस्तो पनि हुन्छ ?,’ उनले सोधे, ‘कुन कारणले जहाज उड्न सकेन, त्यसको जवाफ दिनुस् ।’ उठेका प्रश्नहरूको जवाफ दिने क्रममा कंसाकारले निगमलाई थप विमानको आवश्यकता र वाइडबडी किन्नुको औचित्य प्रस्टयाएका थिए ।
‘नेपालमा बर्सेनि १ खर्बको उड्डयन कारोबार हुन्छ, त्यसमा निगमको हिस्सा भनेको १० अर्ब मात्रै हो, बाँकी सारा रकम ३० वटा विदेशी एयरलाइन्सले लगिरहेका छन्, त्यो पैसा हामीले खोस्न पनि जहाज किन्नु आवश्यक थियो,’ उनले भने, ‘जाबो दुइटा विमान एउटा देशका लागि केही पनि होइन, यो किन्नै तीन–तीन वर्ष लाग्यो, फेरि किनिसकेपछि यत्रो विवाद भयो, विकास यो पाराले हुँदैन ।’ निगमलाई बदनाम गराएर निजी कम्पनीहरूले आफ्नो स्वार्थसिद्ध गर्न केही मिडियामार्फत दुष्प्रचार गरेको आरोप उनले लगाए । ‘२/३ वटा मिडियाले आक्रमण गरिरहेका छन् । हाम्रो देशमा मिडियाले झूट कुरा पनि छाप्न पाइन्छ । तर हामीसँग कागजात छन्,’ कंसाकारले भने, ‘सार्वजनिक खरिद ऐन र नेपाल वायुसेवा निगमको आर्थिक विनियमावलीको कुन बुँदा उल्लंघन भयो, देखाइदिनुपर्‍यो । हामीले नियम–कानुन डिट्टो फलो गरेका छौं ।’
यस प्रक्रियामा सुरुदेखि संलग्न उनले प्रश्न उठाउनेलाई चुनौती दिँदै उनले भने, ‘यो उपदफा, यो विनियमावली उल्लंघन भयो भनेर कसैले औंल्याउन सकेको छैन । खरिद प्रक्रियामा म चोखो छु । डराउनुपर्ने कारण छैन । जेलसम्म पुगेको मान्छे हुँ । पारदर्शी हुनु भनेको निगमका कागजात असनमा लगेर छर्न‘ हो र ? होइन भने जहाजको लालपुर्जा हामीसँग हुँदाहुँदै यसको स्वामित्व नै छैन भनेर लेख्न मिल्छ ? यस्तो टिप्पणी हुँदा हामी त्यस्ता सामग्रीलाई जोक सम्झेर हाँस्यौं ।’ नेकपाका नेता भीम रावलले भने कंसाकारको भनाइले संसदको मानहानि भएको आरोप लगाए । ‘लोकतन्त्रमा प्रश्नहरू उठ्छन्, त्यसको जवाफ दिने कि हाँसेर बस्ने ?,’ रावलले भने, ‘संसद्ले यसबारे प्रश्न उठाउँदा असनमा लगेर फाल्ने हो कि भनेर सोध्ने ? केठानेका हामीलाई ? तपाईँले यो शब्द फिर्ता लिनुस् ।’ कंसाकारले आफूबाट संसदको मानहानि गर्ने कुनै मनसाय नभएको र त्यसो पर्न गएको भए क्षमा पाऊँ भन्दै जहाज खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरे ।
‘मैले संसद्लाई असन भनेको होइन र कागजात दिन्न भनेको पनि छैन,’ उनले भने, ‘एउटा विमान सानो उपकरण अभावले तिहारयता ग्राउन्डेड भएको हो ।’ कार्यकारी अध्यक्षले जारी गरेको श्वेतपत्र आउनुभन्दा १८ महिना पहिल्यै २० अर्ब रुपैयाँ सरकारसँग मागेको बताउँदै कंसाकारले भने, ‘अर्थमन्त्रीले त्यसबेला हाम्रा मन्त्रीसहितको बैठकमा ५ अर्ब दिने कमिटमेन्ट पनि गरिसक्नुभएको थियो । अहिले वाइडबडी आएकै कारण प्यानिक भएर मागेका होइनौं ।’ उनले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको ब्याज छल्न श्वेतपत्र जारी नभएको सांसदहरूलाई प्रस्टीकरण दिए ।
निगमले यी निकायलाई वर्षमा ४ किस्तामा ऋण भुक्तानी गर्नुपर्छ । एउटा किस्तामा १ अर्ब १३ करोड रुपैयाँ पर्छ । सचिव देवकोटाले निगमलाई आगामी डिसेम्बरको किस्ता बुझाउन गाह्रो हुने तर त्यसपछि सहज हुने बताए । ‘डिसेम्बरमा एउटा किस्तामा अलि कठिन छ । मार्चमा सजिलो हुनेछ । किनकि त्यस बेलासम्म वाइडबडी जापानको ओसाका र चीनको गोन्जाउमा उड्न थालिसक्नेछन् ।’ कान्तिपुर