प्रेस बिरोधी धारा शंसोधनको माग

बागलुङ, १० मंसिर — नेपाल पत्रकार महासंघ बागलुङको ११ औं वार्षिक साधारणसभाले मुलुकी फौजदारी संहितामा उल्लेख भएका स्वतन्त्र प्रेस बिरोधी दफाहरु तत्काल सच्याउन र शंसोधन गर्न माग गरेको छ । महासंघको बन्दसत्रमा प्रस्तुत यो सहितका १२ बुँधाहरु सर्बसम्मतले पारित गरेको हो । महासंघले पत्रकार प्रकाश बराल, नविन शिसिर, सिर्जना पन्त र सुवास गौतम रहेको मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले तयार गरेको मस्यौदालाई बन्दसत्रले शंशोधन सहित पारित गरेको हो । पास भएका प्रस्तावमा समाचार संप्रेषण गरेकै भरमा पटक पटक पत्रकार, स्तम्भकार र संचरकर्मीलाई गरिने दुव्र्यवहार, भौतिक तथा मनोबैज्ञानिक आक्रमण जस्ता घटना तत्काल रोक्न माग गरिएको छ । साथै घटनामा नेपाल सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णय गरिएको अध्यक्ष दिल शिरिषले बताए । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान संचालन गर्ने र व्यवसायिक पत्रकारिताको बिकास र स्वतन्त्र प्रेसको ग्यारेन्टी दिलाउने अभियान संचालन गर्न महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखालाई आग्रह गर्ने निर्णय गरेको छ ।

महासंघको केन्द्रीय र प्रदेश नेतृत्व चयनका लागि पार्सद मार्फत गरिने महाधिवेसनबाट देखिएका विकृति विसंगती अन्त्य गर्नका लागि सदस्यता शुद्धिकरण अभियानमा सहयोग गर्न एक सदस्य एक भोटको नीति अख्तियार गर्न केन्द्रीय समितिलाई माग गर्ने निर्णय गरेको हो । यो निर्णयले साथै जिल्ला तहका सदस्यले जिल्लामै बसेर शाखा, प्रदेश र केन्द्रको उमेदवारलाई मतदान गर्ने अबस्थाको सिर्जना हुने विश्वास लिइएको छ । महासंघको भवन निर्माण र कोषाध्यक्ष बिजय रानाको उपचारमा सहयोग गर्नेलाई धन्यवाद, न्युनतम पारिश्रमिक लागू गर्न र श्रमजिवि पत्रकार ऐन अनिवार्य लागू गर्न माग पनि गरिएको छ । पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिम संचालन गर्ने, खोजी अध्ययन र अनुसन्धान गर्नका लागि सरकार र स्थानीय तहहरुमा माग गर्ने निर्णय गरेको छ । देशमा संघियता लागू भैसक्दा समेत प्रेस रजिष्ट्रार, प्रेस पास उपलब्ध गराउने सूचना बिभाग, प्रेस काउन्सिल र प्रेस आयोगहरु केन्द्रीकृत भएको भन्दै प्रदेश तहमा पनि स्थापनाको माग गरिएको छ ।