गाजाको दहमा पर्यटकको चहलपहल

बागलुङ, ११ मंसिर — सरकारले घोषणा गरेको पुग्नै पर्ने १ सय गन्त्व्यमा समाबेश भएको बागलुङको जैमिनी–३ दमेकमा रहेको गाजाको दहमा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाका चार वटा स्थानीय तहको संगम स्थलको रुपमा रहेको गाजाको धुरी र दमेकमा रहेको गाजाको दहमा पुग्ने पर्यटकको संख्यामा बृद्धि भएको हो । सामुन्द्रिक सतहभन्दा २ हजार ६ सय मिटर उचाईमा रहेको गाजाको दह र ३ हजार ५ सय मिटर उचाईमा रहेको गाजाको धुरीमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढेको जैमिनी नगरपालिका–३ का वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताए । ‘पहिले–पहिले भन्दा यहाँ लाग्ने मेलामा आउने पर्यटकको संख्या बढ्दै गएको छ’ छन्त्यालले भने– ‘बिदा मनाउन आउने विद्यार्थी कर्मचारी र बिभिन्न समुह तथा संगठनको भ्रमणको केन्द्रका रुपमा गाजाको दह पर्न थालेको छ ।’ गत हप्ता मात्रै रुद्र ताल गाजाको दह विकास समितिले आयोजना गरेको बैकुण्ठ चतुर्दशी पूर्णिमा मेला पनि आन्तरिक पर्यटकहरुको उल्लेखित उपस्थिती देखीयो । गाजाको बिषयमा जानकारी लिन र त्यहाँ लाग्ने मेलामा रमाउनका लागि पुग्नेहरुको संख्या बढ्दै गएको हो ।

मेलामा सहभागी भएकाहरुले आन्तरिक पर्यटकको लागि खाने बस्ने व्यवस्था लगायतका पुर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए । उनीहरुले गाजामा लाग्ने मेलाका कारण लोप हुन लागेका कला संस्कृतिको संरक्षण र गाजाको दहको प्रचार–प्रसारमा समेत टेवा पुग्ने बताए । मेलाको मुख्य आर्कषणको रुपमा रहेको तोरन तार्ने कार्यक्रम हेर्न विभिन्न ठाँउबाट हजारौँको संख्यामा मानिसहरु मेला उपस्थित भएका थिए । त्यस्तै मेलामा भलिबल प्रतियोगिता, नौमति बाजा प्रतियोगिता, कलाकारहरुको प्रस्तुति र सोरठीको प्रस्तुती पनि मेलाको आर्कषणको रुपमा रहेको थियो । पर्यटन प्रर्वधनलाई मुख्य प्राथमिकता दिएर र यस क्षेत्रलाई पर्यटक गन्तव्यको रुपमा स्थापना गराउने हेतुले मेला संञ्चालन भएको जैमिनी आयोजकले जनाएको छ । गाजाको दहमा घरबास पर्यटनको समेत व्यवस्था गरिने स्थानीयले बताएका छन् ।