सुखौरामा पुल बन्यो

बागलुङ, १२ मंसिर — स्थानीयको सक्रियतामा यहाँको खोलामा झोलुंगेपुल निर्माण गरिएको छ । बरेङ गाउँपालिका ४ सुखौरा स्थित थप्लुबाटा सुखौरा जोड्ने तम्बुखोलामा पुल निर्माण गरिएको हो । ४७ मिटर लामो झोलुंगेपुलका लागि झोलुंगेपुल बिभागबाट लठ्ठा र प्लेट सहयोग भएको हो । निर्माणका लागि वडा कार्यालयले १ लाख ५० हजार, गाउँपालिकाले ७३ हजार नगद सहयोग गरेको थियो । झण्डै ५० हजारको स्थानीयले श्रमदान पनि गरेपछि पुल तयार भएको निर्माण समितिका अध्यक्ष नारायण खत्रीले बताए । झोलुंगेपुल अभावमा बर्षातमा स्थानीयले वारपार गर्न र घाँसदाउरा गर्न दुःख पाएका थिए ।

यो पुल बनेपछि स्थानीयले सजिलै आउजाउ गर्न सकेको स्थानीय सुरेश केसीले जानकारी दिए । २६ लाख रुपैयाँको लागत स्टिमेटको यो पुलका लागि लठ्ठा र प्लेट विभागबाटै प्राप्त भएकोले जडान खर्चका लागि मात्र गाउँपालिका र वडा कार्यालयले सहयोग गरेका हुन् । स्थानीयले पनि सक्दो श्रमदान गरेपछि सहजै पुल निर्माण भएको हो । वडा कार्यालयले नियमित मर्मत र हेरालो राखेर पुल लामो समय सम्म टिकाउने योजना बनाएको खत्रीले बताए ।