उत्पादन भएको खाद्यन्न बढी मदिरामा

पर्वत, १२ मंसिर — खाद्यान्न उत्पादनको अवस्था र जनसंख्याको हिसाब गर्दा पर्वत जिल्लामा हुने अन्न उत्पादन पुगेर पनि बेच्न मिल्ने परिमाणमा हुनुपर्ने देखिन्छ । साबिकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्षअघि त्यस्तो हिसाब निकाले पनि पर्वतलाई स्थानीय उत्पादनले पुग्दैन । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १ लाख ४६ हजार हो । धान, मकै, कोदो र गहुँ लगायतका खाद्यान्न उत्पादनको अवस्था वर्षको सरदर ३१ हजार मेट्रिक टन छ । कृषि विज्ञहरूका अनुसार एक वयस्क व्यक्तिलाई वर्षमा २ सय १ किलो खाद्यान्न आवश्यक हुन्छ । जिल्लामा उत्पादित खाद्यान्नको परिमाणलाई जनसंख्यासँग जोडेर हिसाब गर्दा बर्सेनि २९ हजार टन खाद्यान्नले पर्वतवासीलाई पुग्छ । १२ हजार मेट्रिक टन चामल र १९ हजार मेट्रिक टन कोदो, मकै, गहुँ लगायतको खाद्यान्न उत्पादन हुन्छ । उत्पादित खाद्यान्नको परिमाण हेर्दा पर्वतबाट करिवब दुई हजार मेट्रिक टन बेच्न बाहिर पठाउन सकिन्छरु। तर, पछिल्लो दशकको अवस्था हेर्ने होभने प्रतिवर्ष १२ हजार मेट्रिक टन चामल, ५ हजार टन पिठो र २ हजार टन मैदा खपत भएको देखिन्छ । त्यसबाहेक व्यवसायीले सोझै गाडीमा ढुवानी गरेर गाउँमा बिक्री गर्ने खाद्यान्नको हिसाब कसैसँग छैन ।

ग्रामीण क्षेत्रका केही किसानले पालेका बस्तुभाउलाई खुवाउन दानामा कोदो र मकै उपयोग गर्दैआएको पाइए पनि उत्पादित अधिकांश कोदो, मकै र गहुँलगायत खाद्यान्न घरेलु मदिरामै उपयोग हुने गरेको पाइएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा स–साना किराना, खाजा र चिया पसलहरूमा पनि घरेलु मदिराको बिक्री बढेको छ । राम्रो नाफा आउने भएकाले बिक्रेताले उत्पादन बढाएका छन् । गाउँका गृहिणीहरूलाई थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि कोदो, मकै र गहुँको रक्सी बनाएर बिक्री गर्न आकर्षित हुन्छन् । गाउँमा सस्तो दरमा पाइने कोदो र मकै पकाएर मदिरा बनाई बिक्री गर्दा १० गुणासम्म फाइदा हुने सम्बद्ध व्यवसायी बताउँछन् । ‘एक पाथी कोदोलाई ८० रुपैयाँ पर्छ,’ मोदीकी एक महिलाले भनिन्, ‘त्यसको १० बोतलसम्म रक्सी बन्छ ।’ एक बोतल घरेलु मदिरा सय रुपैयाँमा बिक्री हुने उनले बताइन् । पर्वतका सबैजसो गाउँमा घरेलु मदिरा बनाउने परम्परागत भट्टी सहजै भेट्न सकिन्छ । गाउँमा मात्रै होइन बजार क्षेत्रमा समेत धेरैजसो महिलाको मुख्य आम्दानीको स्रोत नै घरेलु मदिरा हो । मंसिरमा गाउँबाट कोदो खरिद गरेर राख्ने महिलाहरूले वर्षभरि रक्सी बनाएर बजारमा बिक्री गर्दछन् । जिल्ला सदरमुकाम कुश्मामा पनि घरेलु मदिराको व्यवसाय फस्टाएको छन् । प्रहरीले यदाकदा घरेलु मदिरा नियन्त्रणको प्रयास गरेको भएपनि त्यो पूर्णरूपमा सफल हुन सकेको छैन । प्रहरीका अनुसार सदरमुकाम कुश्मा बजारमै करिब २० प्रतिशतभन्दा बढी घरमा घरेलु मदिराका भट्टी छन् । जानकारहरूका अनुसार कोदो र मकै मात्रै नभएर आयातित चामलबाट समेत रक्सी बनाउने गरेका छन् । ‘सबैतिर रक्सीको बिगबिगी छ,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘प्रहरीले रोक्न खोजे पनि सफल भएको छैन् ।