व्यवसायीको हितमा नेतृत्व

आगामी मंसिर २२ मा हुने बागलुङ उद्योग वाणिज्य संघको सरगर्मी शुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार यहि मंसीर १४ मा मनोनयनकको कार्य शुरु भई २१ गते उद्घाटन भै २२ गते मतदान हुने कार्यतालिका प्रकाशन गरिएको छ । हुनतः यस अघिका निर्वाचन भन्दा यस पटकको निर्वाचनले फरक माहोल सिर्जना गरेको छ । संघको नेतृत्व लिन चाहने प्रमुख पद र अध्यक्षका दाबेदारहरु यस पटकको निर्वाचनमा करिब २ महिना अगावैदेखी आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै बागलुङ बजारदेखी बलेवा, कुश्मीशेरा, गलकोट, बुर्तिबाङसम्म पुगेर मतदातासंग भेटघाट गरिसकेका छन् र सो प्रक्रिया अहिले पनि जारी छ । यस पटकको बागलुङ उद्योग वाणिज्य संघको प्रमुख पदका उम्मेदवार बामपन्थी तथा प्रजातान्त्रिक गरी दुई धारका उम्मेदवार निर्वाचनको मनोनयन भन्दा करिब १ महिना पहिला नै टुङगाइएको कारण प्रचार–प्रसारमा उम्मेदवारलाई प्रशस्त समय प्राप्त भएको र प्रमुख पदको उम्मेदवार अहोरात्र घरदैलो, व्यक्तिगत भेटघाट र छलफलमा जुटिरहेका छन् ।

यस पटकको बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन अलिक फरक परिवेशमा सम्पन्न हुन गैरहेको छ । बागलुङ जिल्लाभरका सदस्यता प्राप्त गरी १ वर्ष पुरा गरेका मतदाता सहभागी हुने यस निर्वाचन संभवतः आगामी निर्वाचन नगरपालिका स्तरिय हुने बताइन्छ । तसर्थ यस पश्चातका निर्वाचनको घेरा साँघुरिने पक्कापक्की जस्तै नै छ । यसपटक सम्मको निर्वाचन जिल्लाभरको नेतृत्व चयनका लागि हुने गरेकोमा आगामी निर्वाचनको मोडल फरक हुने बताइन्छ र त्यो नगरपालिकमा सिमित हुने छ । तसर्थ यस पटकको निर्वाचन हत्याउनको लागि दुवै उम्मेदवार कम्मर कसेर लागिपरेका छन् । अर्कोतर्फ यस पटकको निर्वाचनलाई मतदाता (व्यवसायी) हरुले समेत विशेष चासोका साथ हेरिरहेका छन् । मुलुक संघिय प्रणालीमा प्रवेश गरेपश्चात सम्पन्न हुन गैरहेको यस पटकको निर्वाचनको विशेष महत्व छ । खासगरि संघियता पश्चात बागलुङ बजार क्षेत्र र आसपासको व्यापार व्यवसाय अत्यन्तै खस्कँदो छ । गाँउपालिका तथा नगरपालिकाले आफ्नो आयश्रोतको प्रमुख माध्यम व्यवसायी मानेर कर नीति निर्माण गर्दा आम व्यवसायी, घरधनी, उद्योग कलकारखाना सम्पूर्ण क्षेत्र नै करको भार थेग्न नसकी रुग्ण बन्न पुगिरहेका छन् । कैयन् व्यवसायीले बजार क्षेत्र त्यागीसकेका छन्भने कतिपय बसाईसराइ गर्ने तरखरमा छन् । ठेला गाडामा व्यापार व्यावसाय गरेर आफ्नो जिविका चलाउने व्यवसायीको नगरपालिकाको पछिल्लो निर्णयले बिचल्ली नै भएको छ ।

बागलुङ नगरपालिकाले लिएको कर नीतिविरुद्ध व्यावसायीहरु पटक–पटक आन्दोलित भएका छन् । कहिले आफ्नो छाता संगठन उद्योग वाणिज्य संघको नेतृत्वलाई त कहिले बागलुङ नगरपालिकासंग डेलिगेसन र हारगुहार गर्दा समेत कर नीतिमा कुनै परिवर्तन हुन सकीरहेको छैन । पटक–पटक वर्तमान उद्योग वाणिज्य संघको नेतृत्व र बागलुङ नगरपालिकाका पदाधिकारीसंग पटक–पटक वार्ता भएको बताईए पनि कुनै परिणाम आउन सकिरहेको छैन । अहिले बागलुङ नगपालिकाका पदाधिकारी र उद्योग वाणिज्य संघका बीच शितयुद्ध चलिरहेको छ । बागलुङ बजारका व्यवसायी धरासायी हुने अवस्थामा पुग्दा समेत न त उद्योग वाणिज्य संघका वर्तमान पदाधिकारीहरुले कुनै सार्थक निष्कर्ष निकाल्न सके न त बागलुङ नगरपलिकाले व्यवसायीका दाहोरो तेहोरो कर, महंगो घरभाडा, प्रशासनिक झमेला, बागलुङ बजार क्षेत्रको व्यापार प्रवर्धनका लागि नयाँ कुनै उपायका बारेमा छलफल र सम्बोधन नै ? त्यसैले यहाँका व्यवसायीहरु अहिले यस्तो नेतृत्वको खोजीमा छन् कि जसले आगामी दिनमा हर संभव व्यवसायीका समस्या सम्बोधन गर्न सकोस र त्यसै अनुरुपको प्रतिबद्धता जाहेर गरोस् । बागलुङ बजार र आसपास क्षेत्रका व्यवसायीका आगामी दिन अझै चुनौतीपूर्ण बन्ने पक्कापक्की नै छ । एकातिर राजश्वको मुख्य कार्यालय बागलुङ बजार केन्द्रित भएको परिवेशमा स्वतः राजश्व कार्यालय र व्यवसायी बीच बेला–बेला टकराब र खिचातानी हुने देखीन्छ भने प्रशासनको तर्फबाट पनि विगतदेखी नै यो वा त्यो बहानामा व्यापारीहरु प्रचावित भैरहेको छन् । आगामी दिनमा अझै चुनौती थनिने पक्का नै छ । अर्काेतर्फ व्यवसायी प्रतिको बागलुङ नगरपालिकाको रबैया पनि अझै बढ्ने पक्कापक्की नै छ । यसरी हरेक व्यवसायीका समस्या र चुनौतीमा साथ, सहयोग र भरोसायोग्य नेतृत्वको खोजीमा बागलुङका व्यावसायी रहेका छन् ।

बागलुङ उद्योग बाणिज्य संघमा अहिले प्रस्तुत भएका प्रगतिशिल समुहका दयाराम पौडेल तथा प्रजातान्त्रिक समुहका युवराज राजभण्डारी दुवै मतदाता बीच लोकप्रिय नै मानिन्छन् । लामो समय उद्योग बाणिज्य संघको पदाधिकारी र सदस्यमा रहेर काम गरेका आफ्नो अहिले सम्मको जिवन व्यवसायमा नै समर्पण गरि ख्याती प्राप्त दुवै व्यावसायी मतदाता बीच समान प्रकृतिका मानिन्छन् । प्रगतिशिल तर्फबाट उम्मेदवार बनाईएका दयाराम पौडेल खासै राजनीतिक गतिविधिका संलग्न नहुने गरेको मतदाता बीच चर्चा छभने प्रजातान्त्रिक समुहबाट उम्मेदवार भएका युवराज राजभण्डारी पनि खासै राजनीतिक गतिविधिमा संलग्न देखीदैनन् ।
दुवै उम्मेदवार मतदाता बीच विगतका निर्वाचनदेखी नै लोकप्रिय मानिदै आएका पनि छन् । खासगरि बागलुङ बजार क्षेत्रको बद्लिदो परिवेश र व्यवसायीहरुका अनगिन्ती समस्याहरुको बीच नेतृत्व लिन अगाडी बढेका दुवै नेतृत्वबाट मतदाताहरु उहाँहरुका प्रतिवद्धता र व्यवहारिकतामा कसरी खरो उत्रन सकिन्छ ? बागलुङ बजार क्षेत्रमा व्यावसायीलाई टिकाई राख्न र व्यावसायी स्थिरताका लागि उहाँहरुको भिजन अथवा योजना के छ ? व्यवसायीका समस्या हल गर्न उहाँहरुको प्रतिवद्धता के हो ? लामो समयदेखी चर्चामा रहेको सीटी हल निर्माण बजार क्षेत्र भित्रको पार्किङ व्यवस्था, ट्राफिक नियम पालना आदि ईत्यादी विषयमा दुवै उम्मेदबारवाट योजना प्रतिवद्धता र विश्वसनियताको विश्लेषण पंश्चात मात्र व्यवसायीहरु मतदान गर्ने पक्षमा रहेका कारण अहिले नै कुन उम्मेदवारले नेतृत्व हत्याउन सफल होला भनी विश्लेषण गर्ने कठिन देखिएको छ ।