बागलुङका किसानले लगाएको सुन्तलामा समस्या

किसानको भने दोब्बर फलाउने योजना

बागलुङ, १३ मंसिर– केही समय यता बागलुङको बिहुँको सुन्तलामा हाँगा मर्ने समस्या देखिन थालेको छ । उत्पादन दोब्बर बनाउने भन्दै अभियान थालेका किसानलाई हाँगा मर्ने समस्याले चिन्तित बनाएको छ । अघिल्लो बर्षको तुलनामा सुन्तला पनि पातलो र सानो दाना फलेको किसानले गुनासो गरे । सुन्तलाको टुप्पा मर्ने, हाँगा सुक्ने जस्ता समस्या देखिएपछि किसानहरुसँग मिलेर संरक्षण अभियान चलाएको बाली संरक्षण अधिकृत सुजित पौडेलले बताए । बागलुङमा ४ सय ९७ हेक्टरमा सुन्तला लगाइन्छ । त्योमध्ये बिहुँ र सिगाना सुन्तलाका लागि बिशेष उत्पादनको क्षेत्र हो ।
जिल्लामा २ हजार ९ सय ७१ टन सुन्तला उत्पादन भएको तथ्यांक छ । दुई बर्षपछि यो तथ्यांक दोब्बर पु¥याउन किसानले अन्य रुख काटेर सुन्तलाकै बिरुवा थपेका छन् । अघिल्लो बर्ष जिल्लाभरको उत्पादनबाट किसानले १५ करोड नगद कमाएको तथ्यांक छ । उत्पादन बढाउने अभियान स्वरुप बारीमा नयाँ बिरुवा धमाधम रोपिएको काठेखोला–६ का किसान बालानन्द कंडेलले बताए । दशकदेखि सुन्तलाबाट बार्षिक लाखौं कमाई रहेका उनले उत्पादन दोब्बर बनाउने लक्ष बनाएका हुन् । काठेखोला गाउँपालिका–५ र ६ तथा वडा नं. २ स्थित भीमापोखराका किसानले पनि घरघरमा सयौं बिरुवा रोपिसकेको बताए । उत्पादन बढाएर सुन्तला ब्लकहुँदै जोनको रुपमा बिकास गर्ने उनीहरुको योजना छ । बागलुङ नगरपालिकाको वडा नं. ८ स्थित सिगाना, काठेखोलाकै वडा नं. ७ रेश र ८ को लेखानीमा समेत उत्पादन बढाउने गरी बिरुवा बितरण गरिएको काठेखोला वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले बताए । अघिल्लो बर्ष एक करोड ३ लाख रुपैयाँको सुन्तला वडा नं. ६ बाट मात्र बिक्री भएको तथ्यांक छ । दुई बर्षभित्रै उक्त अंकको दोब्बर उत्पादन गर्न पहल भएको उनले बताए ।
‘एक लाख बिरुवा थप गरेर यो क्षेत्रलाई नै सुन्तलाको जोन बनाउने चाहना छ’ कंडेलले भने, ‘प्रदेश स्तरीय सुन्तला भण्डारण केन्द्र बनाउनका लागि पहल पनि शुरु भैसक्यो ।’ गण्डकी प्रदेशले केन्द्र निर्माणका लागि चालु बर्षबाटै बजेट बिनियोजन समेत गरिसकेको छ । एक÷एक हेक्टरका ब्लक बनाएर प्राविधिक, मल तथा व्यवस्थापनलाई संगै बढाउन गाउँपालिकाबाट पनि पहल भएको वडा नं. ६ का अध्यक्ष शिवप्रसाद कंडेलले बताए । ‘माथिल्लो स्थानमा त्यति राम्रो हुँदैन, हुने सम्ममा लगानी बढाउने भनेका छौं’ उनले भने, ‘किसानलाई रोजगारीका लागि अन्यत्र नजाने अबस्था फलफूलबाटै बनाउन लगानी गर्दैछौं ।’ बिहुँका किसानले लगाएको सुन्तला बारीबाटै बिक्री हुने गरेको छ । चितवन र बुटवलदेखिका व्यापारी आएर सिंगो बारीनै ठेक्कामा लिने समेत गरेका छन् ।
सुन्तला जोन बनाउने अभियानका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई समेत गाउँपालिकाले बोलाएको छ । ‘केही किसानका बिरुवामा हाूगा मर्ने रोग पनि लागेको छ, त्यसको उपचारका लागि पनि प्राविधिक बोलाएका छौं’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘बिदेशमा निर्यात गर्न सकिने गरी उत्पादन गर्न किसानलाई प्रोत्साहन समेत गरेका छौं ।’ जापानमा बसेका केही उद्यमीले बिहुँका सुन्तला माग गरेकोले पठाउने तयारी समेत गरेको किसानले बताए ।