युभेन्ट्सको अपराजित यात्रामा रोनाल्डोले गरे गोल

बागलुङ, १६ मंसिर – इटालियन सिरी ‘ए’ फुटबलमा साबिकको विजेता तथा लिग लिडर युभेन्ट्सले पराजित यात्रा कायम राखेको छ। जितसंगै युभेन्ट्सले लिगमा १३ औं जित निकाल्दै १४ खेलबाट ४० अंक जोडेको छ।शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई ३ – ० गोल अन्तरले हराउँदै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो। फियोरेन्टिनाको मैदानमा युभेन्ट्सको सहज जितमा रोड्रिगो बेन्टानकर, जर्जियो चिलिनी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे।
घरेलु टोलीविरुद्ध युभेन्ट्सले खेलको ३१ औं मिनेटमा बेन्टानकारको गोलबाट अग्रता बनाएको थियो। खेलको ६९ औं मिनेटमा चेलिनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए।त्यसपछि खेलको ७९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरेका थिए। तर, रोनाल्डोले पेनाल्टीमा गोल गरेलगत्तै एक पहेलो कार्डको सामना गरेका थिए। गोल गरेपछि बललाई हावामा प्रहार गरेको भन्दै रेफ्रीले रोनाल्डोलाई पहेलो कार्ड देखाएका थिए।