जमना फेरियो साईली…

के आए जमना,
मिनी बसमा अटेन समाना…
हामी केटाकेटीमा खुबै गाएको गीत हो यो, कति रमाइलो हुन्थ्यो । वनपाखामा जाँदा यस्तै गीत घन्काउथ्यो, निकै रमाइला दिन थिए ती । आजकाल यस्तै गीत जस्तै जमना फेरिए साईली…। धेरै वर्षपछि हाम्रो भेट भएको छ, त्यही पनि म्यासेन्जरको भिडियोमा । ती दिन कस्ता थिए, अहिले कस्ता भइएछ है, हेर्दा–हेर्दै कता–कता लाज, कता– कता हाँसो लागेर आयो त ! रमाइला दिनहरु बिर्सेर व्यावहारिक दिनहरुमा छौ यतीबेला । ति हरिया वनपाखामा बाख्रा चराउन होस् या खेतबारीमा मल बोक्न नै किन नहोस् वनबाट स्याउला ल्याउन नै किन नहोस, संगै स्कुल गएका दिन पनि त कम्ता रमाइला नै थिएनी है । एकले अर्कोलाई सहयोग गर्ने समाज थियो, सबैका घर रमाइला थिए, सबै साथप्भाइहरु एकजुट थिए तर अहिले गाउँघर अलि फरक भएको छ । एकछिन गाउँघरका कथा सुनाउछु, ध्यान दिएर सुन । जमना फेरिए साइली…।
पहिला–पहिला भएका खरका छानावाला घर विस्थापित भएर जस्तापाता र ढुङगाले छाना छाएका घरहरु भेटिन्छन भने फाट्ट–फुट्ट ढलान गरेका घरहरु देखिन्छन् । आजभोलि बाटो फेरिएको छ, नयाँ बाटोको रुपमा मोटरबाटो आएको छ । दिनदिनै सदरमुकामबाट गाडी धुलो उडाउँदै घरको आडैबाट हुइकिन्छन् । सदरमुकामतिर बस्ने प्रायः युवाहरुले मोटरसाइकल किनेका छन् । हाम्रो पालामा पानी खाने कुवा थियो तर अहिले घर–घरमा धारा बनेको छ, शौचालय गर्नको लागि खोलापाखा, कुना–काप्चामा लुकेर शौच गर्नुपर्ने थिए तर अहिले सबैको घर–घरमा आधुनिक शौचालय बनेका छन् । पहिला–पहिला मट्टितेलबाट बत्ति बालिन्थ्यो अहिले सबैको घरमा बिजुली बत्ति गएको छ, बत्तिसंगै सबैको घरमा टेलिभिजन पनि छन् । टेलिभिजनले गर्दा केटाकेटी, बुढापाका भुल्ने वातावरण भएको छ । पौडी खेल्ने पोखरीमा घाँस उम्रिएको छ, आजभोलि बिसौनी चौपारी दिनानुदिन भत्कदै छन्, चौपारी वरिपरि कालोपातीले ढाकेको छभने वरपिपल त्यसै हराउँदै गएका छन् । समग्रमा गाउँ नै फेरिएको छ । त्यहि कारण जमना फेरिए साइली…।
अहिले गाउँमा रमाइलो छैन किनकी गाउँमा आजभोलि बुढाबुढी र छिटफट रुपमा केटाकेटी देखिन्छन् । गाउँ नै सुनसान छ । कोही मर्दा मलाम जाने मलामी हुदैन भने विवाहवारी हुँदा समेत सघाउने गतिलो मानिस भेटिदैन । हामीले पढेको विद्यालयमा विद्यार्थीको संख्या घट्दै छ । हामीले अध्यायन गर्दा कस्तो रमाईलो थियो विद्यालय तर अहिले त्यस्तै छ । गाउँमा भएका युुवाहरु विदेश पलायन भएका छन्भने तिनीहरुका श्रीमति छोराछोरी पनि गाउँ छाडेर शहरतिर कोठा भाडामा लिएर भएपनि बसाई सरेका छन् । स्वदेशमै जागिर गर्नेहरुका परिवार पनि अहिले सदरमुकाम बसाई सरेका छन् । सबैको बाध्यता वा रहर विदेश नै भएका कारण गाउँका स्कुलमा पढाउने शिक्षकसम्म पाउन छाडेका छन् । अलिअलि पढे लेखेकाहरु बजारमा सानो–तिनो जागिर गरेर बजारिया भएका छन् । त्यही कारण जमना फेरिए साइली…।
हामीले खेतालो गरेर लगाउने गरेको आलुबारीमा अहिले वनमाराले लपक्कै ढाकेको छ, त्यस्तै मानो खाएर मुरी उव्जाउने खेत बाँझिएको छ, घाँस उम्रिएको छ । बारीमा औशेलुका बिरुवाहरु उम्रिएका छन्, गाउँघरमा काम गर्ने कामदार पाउनै छाडिएको छ । पहिले–पहिले जस्तो अहिले गाईभैसी पनि पाल्न छाडिएको छ । हामी केटाकेटी हुँदा बाख्रा चर्ने चउरमा वनमारा उम्रिएको छभने बोटबिरुवा उम्रिएको छ, वनभरि झाडी पलाएको छ, एक्लै दुव्लै जान डर लाग्ने भएको छ । विदेश गएर एक दुई लाख कमायो भने कोही पनि गाउँ नबस्ने रे ! बसाई सरि हाल्नु पर्ने रे बजारतिर, गाउँमा दुःख हुन्छ रे ! त्यसैले त जमना फेरिए साइली…।
गाउँघर पहिलाभन्दा धेरै परिवर्तन भएको छ, सूचना संचारको पहुँचमा सबैमा पुगेको छ । सबैका हात–हातमा मोबाईल, इन्टरनेट जस्ता साधानको प्रयोग हुँदै गएको छभने नयाँनयाँ चलचित्र, गीतहरु पनि छिनमै हेर्न र सुन्न सकिन्छ । विदेशमा जस्तै सुविधा प्रविधि भएको छ । अस्ति पल्ला घरकी माइली आमालाई विदेशबाट ठुल्दाइले म्यासेन्जरमा भिडियो कल गरेर माइली आमा र ठुल्दाई देखादेख कुरा गरेका थिए, माइलीआमाले दाईलाई भन्दै थिइन– हेर मोरो कस्तो राम्रो भएको कोरिया गएपछि मोटाएछ । दशैमा पनि यस्तै भिडियोमा आउनु, महिले तँलाई टिका लगाइदिने हो है भन्दै…यो मोबाइलको ठाडो त अचम्मको पो हुँदो रहिछ । बाँच्न पर्छ के–के देखिन्छ, खुशीका साथ छोराछोरीसंगै भएको महशुस गर्नुभएको थियो । यस्तै गरेर संगै वनपाखा गरेका साथीभाईलाई पनि भेट्न पाए कस्तो हुन्थ्यो होला भनेर भन्दै हुनुहुन्थ्यो । माथि कृष्ण दाई चश्मा लगाएर भएपनि मोबाइलबाट व्यापारिक कुरा गर्दै थिए । भैसी, खसी बेचविखनका कुरा गर्दै थिए, कति हो दाम, कतिमा दिने हो । यिनै कारण जमना फेरिए साइली…।
आजभोली यो फेसबुकले कतिलाई नजिक बनाएको छभने कतिलाई टाढा बनाएको छ । राम्रो पनि छ, नराम्रो पनि छ । माथिल्लाघरे साइलाकी छोरीले फेसबुकबाट विवाह गरिछ, कहाँ को हो ? कहाँको केटासंग, जात मिलेन भनेर रुवाबासी चल्दै थियो । दुई वर्ष पहिले फेसबुकमा चिनजान भएको रे ! कुरा निकै चल्थ्यो रे ! फेसबुकबाट मोवाइल नम्बर मागेको थियो रे ! केटाले भन्छन्– उसका साथीसंगीहरु । तलतिर दाईको छोराले पनि फेसबुकबाट लभ पारेर पुर्व तिरकी तामाङकी छोरी ल्याएको छ । उसले पनि दुई चार वर्ष लभ गरेर ल्याएको रे ! गाउँघरमा आजभोली मागी विवाह कमै मात्रमा हुने गरेको पाइन्छ । यस्तै–यस्तै गरि जमना फेरिए साइली…।
अहिले गाउँघरमा कसैलाई कसैको मतलव छैन किनकी सबै मोबाइल, फेसबुक, म्यासेन्जर, इमो लगायतका संचारका साधानको प्रयोगमा व्यस्त छन् । गाउँघरमा मेला महोत्सवमा पनि कोही देखिदैनन्, राती हुने भजनमा त झन् कुरै छाडौ, सुनसानै हुन्छ । ब्रतवन्ध, बिहेवारीमा हुने भजन तथा रत्तौलीमा समेत कोही उपस्थित हुदैनन्, सुनसानै छ । सबैका हात–हातमा महंगामहंगा मोबाइलहरु मात्र देखिन्छन्, कोही कोही त मोबाइल बोक्ने झोला समेत प्रयोग गर्छन । पहिला–पहिला हसिया राख्ने खुृर्पेटो भिर्ते अहिले त्यो हरायो । रुखमा घाँस काट्दै गदौ पनि फोनमै कुरा गरेको पाईन्छ । विद्यालयमा पढ्ने विद्यार्थी पनि वल्लो बेन्चबाट पल्लो बेन्चमा मोबाइलबाट म्यासेज गरि लभका कुरा गर्छन । यसरी नै जमना फेरिए साइली…।
माथिको श्यामे पनि वडा सदस्य भएको छ । अहिले गाउँमा जस्तातस्ता भुसतिग्रेहरु नेता बनेका छन । अलि–अलि बोल्न जानेका महिला पनि जनप्रतिनिधि भएका छन् । घरैपिच्छे नेताहरु उत्पादन भएका छन्, अहिले गाउँको विकासमा माखो मार्ने होइन तर नेता बने भयो । पारिकी कान्छीभाउजु पनि महिला कोटाबाट वडा सदस्य जितेकी छिन्, कान्छा दाई घरको काममा व्यस्त हुन्छन्, भाउजु चाहिँ राजनीतिमा व्यस्त छिन् । गाउँमा गतिलो मान्छे छैन, त्यहिँ मान्छे मास्टर छ, त्यही नेता छ, त्यही उपभोक्ता समितिको अध्यक्ष बनेको छ, त्यस्तै–त्यस्तै छ । यसैगरी जमना फेरिए साइली…।
समग्रमा गाउँ यतीबेला विरह र वेदनामा छ । युवाहरु कतिबेला गाउँ आउँलान भनेर कुरी रहेको छ तर कोही फेर्केर आउदैन । दशै र तिहारमाबाहेक बिरामी हुँदा अस्पताल प¥याउने मानिस भेटिदैन । यस्तै–यस्तै समस्यामा अल्झिएका छौ हामी, कति सुनाउ त गाउँघरको कहानी सम्झदा पनि उदेक लागेर आउँछ । यस्तै नियतिसंग जुधिरहेका छौ साइली…। सुनसान गाउँघरको कहानी यिनै हुन्, यिनै कारणले जमना फेरिए साईली…।