स्वास्थय सेवा लिन सेवाग्राहीको भीड

बागलुङ, १७ मंसिर — दक्ष प्रसुतीकर्मी र नियमित उपचार सेवा पाउने भएपछि ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि बिरामीको भीड लाग्ने गरेको छ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीले अपरेशन गर्ने बिरामी बाहेकलाई गाउँमै सेवा दिनेगरी व्यवस्था गरेपछि सेवाग्राहीको भीड लाग्ने गरेको हो । लामो समयदेखि काम गरिरहेकी विद्यालक्ष्मी शर्मासहित पवित्रा शर्मा र प्रजिना बिक रहेको तालिम प्राप्त प्रसुतीकर्मी नियमित बस्ने भएकोले सेवाग्राहीको भीड लागेको हो । अपरेशनमार्फत प्रसुती गराउनुपर्ने बाध्यता भएका बाहेक अरुलाई उनीहरुले गाउँमै सेवा दिन्छन् । अस्पतालमा उपचार हुन नसकेर सास्ती खेपेको खवर सुनेका गाउँलेले प्रसुतीकर्मीको सल्लाह लिएर मात्र अन्यत्र जाने गरेका हुन् । सदरमुकाम पुगेरपनि उपचारको ठेगान नहुँदा गाउँकै स्वास्थ्यचौकी जाने गरेको महिलाले बताए । अञ्चल अस्पतालमा स्त्रीरोग बिशेषज्ञ नभएकोले जटिल समस्या आउनेलाई सोझै पोखरा पठाउने गरिन्छ । अनमीहरुले गाउँमा भएका सबै गर्भवतीहरुको सूचीकरण गरेका छन् । केही समययता शर्मासहित प्रबित्रा शर्मा र प्रजिना बिकले पनि प्रसुती सम्बन्धी तालिम लिएर आएका छन् । नियमित खोप लगाउन आएको वा नआएको रेकर्ड राख्ने, आएकाहरुको गर्भको अबस्थाबारे जानकारी राख्ने उनीहरुको दैनिकी हो । दुई बर्षअघि यो स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको छ । सेन्टरले उनीहरुको जिम्मेवारी थपेको छ । शर्माले राती वा दिउँसो नभनी आएका गर्भवतीको परीक्षण र अबस्थाबारे जानकारी गराउँछिन् । ‘बच्चा उल्टो भएको वा जटिल समस्या भएको खण्डमा अपरेशन गर्ने अस्पताल पठाउँछु’ उनले भनिन्, ‘अन्य काममा उनले सहजै सुत्केरी गराईरहेकी छिन् ।’ मासिका पदमा प्रवेश गरेपछि उनले अनमी अध्ययन गरिन् । पास गरेपछि उनी अनमी पदमा उत्तीर्ण भएर पनि भीमापोखराकै स्वास्थ्यचौकीमा नियुक्ती भईन् । उमेरले पाको र अनुभव बटुलेकोले अधिकांसले उनलाई नै आफ्नो समस्या देखाउन आउँछन् । ‘दरबन्दी अनुसार सबै जनशक्ति बसेको, दक्ष प्रसुतीकर्मीहरु भएको र व्यवस्थापकीय चुस्तताले गाउँपालिकाको अब्बल स्वास्थ्य चौकीको रुपमा दर्ज भएका छौं’ स्वास्थ्य चौकी प्रमुख दिया छन्त्यालले भनिन्, ‘सुरक्षित प्रसुती सेवा लिनेको संख्या पनि बढ्दो छ ।

’ कामको बिश्वासले धेरै गर्भवती र अन्य रोगका बिरामी नियमित आएको छन्त्यालले बताईन् । तालिम प्राप्त अनमीहरु गाउँमै बसेकोले स्वास्थ्य चौकीप्रतिको विश्वास बढेको उनको भनाई छ । ग्रामीण तहमा भएपनि मासिक ४६ जनाले खोप लगाएका र साउनदेखि २० जनाले प्रसुती सेवा लिएका छन् । गाउँपालिकाले पनि यो स्वास्थ्यचौकीको सेवाबाट धेरैले सन्तुष्टी जनाएकोले आवस्यक उपकरण, जनशक्ति र अन्य सहयोगका लागि चासो राख्ने गरेको छ । यहाँ भीमापोखराबाहेक छिमेकी धम्जा र पालाका बिरामी पनि नियमित उपचारका लागि आउने गरेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुले समेत उनको सल्लाह मागेर नियमित काम गर्ने गर्छन् । शर्मा लगायतले घरदैलोमै पुगेर खोप लगाउने, गर्भवतीका लागि पौष्टिक आहार खान सल्लाह दिने र गह्रौ काम नगर्न सुझाव दिने गरेको स्थानीय गीता हमालले बताईन् । लामो समयदेखि सेवारत शर्मालाई स्वास्थ्य कार्यालयले सम्मान गरिसकेको छ । स्वास्थ्य चौकीमा बिरामी लैजान समस्या भएकोले गाउँपालिकाले सडक मर्मतका लागि लगानी गरेको छ । ‘वडा कार्यालय र स्वास्थ्यचौकी आउन सास्ती खेप्न नपरोस् भनेर सडक मर्मत गरेका छौं’ वडा अध्यक्ष बिद्यापति शर्माले भने, ‘स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा कसैले पनि खेलवाड नगरौं भनेर सम्झाउने काम समेत भएको छ ।’ हाल चौकीमा हेल्थ असिस्टेन्ट, अहेब, ३ जना अनमी र सहयोगीको व्यवस्था छ ।