विपन्न परिवारलाई बिउ पुँजी

बागलुङ, १८ मंसिर – विपन्न परिवारको जिवनस्तर सुधारका लागि यहाँको एक गाउँपालिकाले पशु पंक्षीको बिउ पूँजी उपलव्ध गराउने कार्यक्रम अघि सारेको छ । बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यहरुको लागि बिउ पूँजीको रुपमा पशुपंक्षी निशुल्क उपलव्ध गराउने भएको हो । गाउँपालिकाले पशुसेवा शाखामार्फत यसबर्ष १५ लाख रुपैयाँ बराबरको बिउ पूँजी किसानलाई उपलव्ध गराउने पशु सेवा शाखाका प्रमुख होम बहादुर थापा मगरले जानकारी दिए । ‘हामीले किसानसँग निवेदन माग गरेका छौं’ थापाले भने ‘निवेदनका आधारमा अनुगमन गरेर बिपन्न भएको प्रमाणित भएमा बिउ पूँजीको व्यवस्था गाउँपालिकाले गर्नेछ ।’ विपन्न किसानलाई प्रतिपरिवार एक÷एक ओटाका दरले पशुचौपाय उपलव्ध गराउने योजना गाउँपालिकाले बनाएको छ । ‘हामीले बिउको रुपमा पशुपंक्षी उपलव्ध गराउने छौं, बाँकी पाडा बाच्छा तथा चल्ला उत्पादन गरेर आयआर्जन गर्ने जिम्मेबारी किसानहरुकै हुन्छ’ थापाले भने । गाउँपालिकाले ४ समुहमा बिभाजन गरेर निशुल्क बिउ पूँजी पशुपंक्षी वितरण गर्ने जनाएको छ । गरिब तथा बिपन्न किसानलाई स्थानीय र उन्नत जातका गाईभैसी पालन र कोरली पालनका लागि बिउ पूँजी उपलव्ध गराईने छ । गोठ सुधार गर्न चाहनेको लागि समेत अनुदान उपलव्ध गराईने छ । तीन जना सहभागी हुन पाउने यस कार्यक्रमको लागि आँफै लगानी गर्न नसक्ने र अनुदानमा आएको पशु चौपायबाट उत्पादन गर्न सक्ने योजना बनाएका किसानलाई मात्र यो कार्यक्रममा सहभागी गराईने थापाले बताए । त्यस्तै १० जनाका किसानलाई स्थानीय तथा उन्नत जातका बाख्रापालनका लागि बिउ पूँजी उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । स्थानीय जातका कुखुरा संरक्षण गर्दै आयमुलक हिसाबले उन्नत जातका कुखुरापालन गर्ने किसानलाई पनि बिउ पूँजी उपलव्ध गराउने योजना गाउँपालिकाले बनाएको छ ।

गरिब तथा बिपन्न किसानलाई सहयोग गर्ने कार्यक्रमअन्र्तगत २० जना किसानले कुखुरापालनको लागि बिउ पूँजी पाउने थापाले जानकारी दिए । गरिब तथा अति गरिव बिपन्न परिवारका किसानको लागि स्थानीय जातका बाख्रापालन गर्न १० जना र स्थानीय तथा उन्नत जातका कुखुरापालन गर्न १२ जनालाई बिउ पुँजी उपलव्ध गराईने गाउँपालिकाले जनाएको छ । एकल महिलालाई आयआर्जनसँग जोडेर जिवन गुजारा गर्ने माध्याम बनाउनको लागि भन्दै १५ जनालाई भेडा बाख्रापालन र १५ जनालाई कुखुरापालनको लागि बिउ पूँजी उपलव्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले जनाकारी दिए । गाउँपालिकाले द्धन्द्ध पीडितहरुलाई पनि समावेश गरेर बिउँ पुँजी वितरणको कार्यक्रम बनाएको छ । द्धन्द्ध पिडित परिवारका २० जना किसानलाई भेडा बाख्रापालन र २० जना किसानलाई कुखुरा पालनको लागि बिउ पुँजी अनुदान उपलव्ध गराईने घर्तिले बताए । यो बर्ष पशु तथा पंक्षीपालनको लागि १ सय २५ जना किसान लाभान्वित हुने गरी कार्यक्रम तयार पारिएको घर्तिले बताए । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आँफु बिपन्न भएको प्रमाण र पशु तथा पंक्षीपालन गरेर आर्थिक उन्नती गर्ने योजनासहित अनुदानका लागि निवेदन माग गरेको छ । बिउ पुँजीको रुपमा उपलव्ध गराईएका पशुपंक्षीको औषधि उपचार गाउँपालिकाले गर्ने जनाएको छ । किसानले उत्पादनमुलक हिसाबले पालेका पशुपंक्षीमा कुनै रोगको संक्रमण भए गाउँपालिकाको प्राबिधिक टोलीले निशुल्क उपचार गर्ने शाखा प्रमुख थापाले बताए । पहिलो चरणमा सुरु गर्न थालिएको बिउ पुँजी वितरण कार्यक्रमलाई सफल बनाउनका लागि गाउँपालिकाले किसानहरुलाई आग्रह समेत गरेको छ । बजारमा भाउअनुसार पशुपंक्षी खरिद गर्न नसकेका कारण व्यवसायीक पशुपंक्षीपालन गर्न नसकेका किसानलाई आकर्षित गर्दै व्यवसायीक उत्पादनमा प्रेरित गर्न कार्यक्रम सुरु गरिएको अध्यक्ष घर्तिले बताए ।