बागलुङ नगरपालिका–५ मा सार्वजानिक सुनुवाई

बागलुङ, १९ मंसिर – वडाले गरेका काममा जवाफदेहिता र पारदर्शीता कायम गर्ने भन्दै बागलुङ नगरपालिका–५ मालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार वडा कार्यालयमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सडक निर्माण र स्तरोन्नतीमा भएका कामको बिषयमा चासो राखेका थिए । सर्वसाधारणले सडक बनाउँदा मापदण्ड नअपनाईएको, सडकका कारण पुराना गोरेटा बाटोहरु मासिएको र आवात–जावतमा समस्या भएको लगायतका समस्या सम्बन्धित सरोकारवालासँग राखेका थिए । वडा कार्यालयबाट प्रदान हुने सेवा सुबिधा भन्दा बिकास निर्माणका काममा भएका ढिलाई नगरपालिकाले बनाएका कानुन, नगरपालिकाबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका सुबिधाको बिषयमा समेत मालिकाका सर्वसाधारणले चासो देखाएका थिए । सर्वसाधारणको प्रश्नको जवाफ दिँदै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरपालिका तथा वडा कार्यालयबाट सम्पादन भैरहेका कामलाई पारदर्शि, व्यवस्थित र जनउपयोगी बनाईने बताए । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बिचमा समन्वय हुन नसक्दा कर्मचारी परिचालनमा समस्या भएको भन्दै पौडेलले कर्मचारीका केही कमीकमजोरीका कारण सर्वसाधारणले दुःख भोग्नु परेको बताए । नगरपालिकामा लेखा तथा प्रशाशन शाखामा कर्मचारी नभएका कारण काम गर्न कठिन भएको भन्ने प्रश्नमा पौडेलले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

मालिकामा निर्माण भैरहेका सडकहरुको मापदण्ड तोकेर आवश्यक सबै जमिन ट्रयाक खोल्ने समयमानै कटान गर्नुपर्ने सर्वसाधारणले माग गरेका थिए । स्थास्थ्यचौकी भवन निर्माणमा भैरहेको ढिलाई, मालिका माध्यामिक विद्यालयको भवन निर्माणमा भैरहेको ढिलाई, चुनावका बेला प्रतिबद्धता अनुसार नगरबसको सञ्चालन नभएको लगायतका बिषयमा सर्वसाधारणले चासो देखाएका थिए । मालिकाको विकासका लागि सबै क्षेत्र र वर्गसँग मिलेर कामहरु अघि बढाईएको भन्दै वडाअध्यक्ष शिव प्रसाद सापकोटाले आगामी दिनमा समेत सार्वजनिक सुनुवाईमा उठेका सवालहरुमा जिम्मेबार भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । निरन्तर खबरदरी र सल्लाह सुझावको लागि समेत सापकोटाले आग्रह गरे । कार्यक्रममा उठेका सवालहरुको बिषयमा नगर प्रमुख जनकराज पौडेल, वडाअध्यक्ष शिव प्रसाद सापकोटा, मालिका स्वास्थ्य चौकीका प्रमुख महेन्द्र प्रसाद शर्मा, बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्मा, प्रबिधिक टेकबहादुर रोका र वडा सचिव शिव थापाले जवाफ दिएका थिए । कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटा, नेपाली काँग्रेस मालिकाका सभापति फुलप्रसाद सापकोटा, समाजसेवी कृष्णराज शर्मा, हरि प्रसाद शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा उठेका प्रश्न र जवाफको संक्षेपीकरण नगर कार्यपालिका कालिका सापकोटाले गरेकी थिईन् । वडा सचिव शिव सापकोटाको स्वागत र पत्रकार तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।