अपांग पनि कम छैनन्

बागलुङ, १९ मंसिर – बलेवाका सन्तोष पौडेल बहिरा हुन् । तर उनले धौलागिरी बहिरा बिद्यालयमा १० बर्षदेखि अध्यापन गराउँदै आएका छन् । सांकेतिक भाषाको सहयोगले पौडेलले दशबर्षदेखि ३ सय विद्यार्थी पढ्ने धौलागिरी बहिरा विद्यालयमा पढाई रहेका छन् । उनी बागलुङ बहिरा संघको अध्यक्ष पनि हुन् । दुवै खुट्टामा अपांगता भएका बागलुङ नगरपालिका–४ का धर्मराज आचार्यको सिप सिक्न सांग व्यक्तिहरुले समय माग्छन् । कम्प्युटरमा दखल राख्न आचार्यले सयौंलाई कम्प्युटर सिकाएर दक्ष बनाएका छन् । उनले सिकाएका धेरै विद्यार्थीले राम्रो रोजगारी पनि पाएका छन् । सरकारी जागिरमा उनलाई आदर्श मान्ने धेरै छन् । अपांगता भएपनि उनको क्षमतालाई कसैले रोक्न सकेको छैन । सर्कुवा–२ का दृष्टिविहिन अमिट केसीले सगरमाथा चुम्ने साहस बटुलेका छन् । ६ हजार मीटर उचाईको आईसल्याण्ड पिक र सगरमाथाको ८ हजार मिटरसम्म चढिसकेका छन् । मौषमी खराबीले दुइ बर्षअघि उनी फर्केका थिए । सन् २०१९ को बैशाख जेठमा फेरी सगरमाथा चढ्न उनले तयारी गरिरहेका छन् । झण्डै ७० लाख खर्च लाग्ने भएकोले आर्थिक संकलन अभियानमा उनी लागेका छन् । अझै बरेङ गाउँपालिका–३ का सुशिला बस्नेत र उमा बस्नेतले सामान्य बिद्यार्थी पढ्ने समुदायिक बिद्यालयमा शिक्षण गर्छन् । बलेवास्थित आधारभूत बिद्यालय र जनताधन माबिमा उनीहरु उत्कृष्ठ शिक्षकको नाउमा गनिन्छन् । विभिन्न संघर्ष गरेर उच्च शिक्षा पढेका अपांगहरुले सांगझै क्षमता देखाउन सफल भएका छन् । चेतना अभावले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा नपठाएको भए सम्झाएर शिक्षाको पहुँचमा ल्याउन पनि उनीहरुको अभियान संचालनमा छ ।

अहिलेसम्म उनीहरुको अभियानले जिल्लामा रहेका कुल अपांगमध्ये ६० प्रतिशत अपांगलाई शिक्षाको पहुँचमा ल्याउन सफलता पाएको जिल्ला अपांग संजालका सचिव पुरनबहादुर थापाले बताए । ‘अभिभावकबाटै हेलाहामा परेका बालबालिकालाई बिद्यालय ल्याउन सकेका छौं’ उनले भने, ‘संघर्ष गरेर सफलता भित्राउन हाम्रा साथीहरु सक्रिय छन् ।’ जिल्लामा संकलित तथ्यांक अनुसार चार हजार एक सय २३ अपांगमध्ये एक तिहाई अझै शिक्षाबाट बञ्चित छन् । उनीहरुले अपांगलाई दयामाया भन्दा अवसर चाहिएको बताए । ‘हामीलाई अबसर चाहिन्छ, मेहेनत हामी आूफै गरेर देखाउूछौं’ पौडेलले भने, ‘अपांगता भएकोलाई सार्वजनिक संस्थाहरुमा राख्न नचाहने प्रवृत्ति अझै छ, त्यो तोड्नुपर्छ ।’ बौद्विक क्षमताले जागिर पाएर कार्यालयमा गएकाहरुलाई समेत अपमान गर्ने चलन रहेको भन्दै तोड्नुपर्ने उनले बताए । सोमबार संजालकै अगुवाईमा सत्रौं अन्तराष्ट्रिय अपांग दिवश मनाईएको छ । सहभागीले दिवशको दिन मात्र दया देखाउने चलन हटाएर संविधानले दिएको अधिकार प्रदान गर्न सबै अगाडि बढ्नुपर्ने संजालका अध्यक्ष होमनाथ शर्माले बताए । राजनीतिक दल, सामाजिक संस्था र लाभका पद लिने बेलामा अपांगलाई पाखा लगाउने संस्कृति अन्त्य नभएसम्म बिभेद अन्त्य नहुने उनले टिप्प्णी गरे ।