गाउँका बिम्ब : जंगलमा कविता

स्याङ्जाको हरिनाश गाउँ, मेरो लागि नयाँ गन्तव्य। साहित्यलाई प्रकृति र पर्यावरणसँग, अझ ग्रामीण पर्यटनसँग जोड्ने उद्देश्य बोकेको कार्यक्रम रहेछ। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि केही होस् र गाउँको प्रचार पनि होस् भनेर गाउँमा कार्यक्रम गर्न लागिएको सुन्दा राम्रो लाग्यो। आयोजकका तर्फबाट मिलन समीरजी हुनुहुन्थ्यो मलाई निम्तो दिने। स्याङ्जामा भएका यसअघिका कार्यक्रमहरूमा पनि उहाँले बोलाउनुभएको थियो। पुग्न नसकेको पछुतो छँदै थियो, यस पटक छुटाउँन मन मानेन।
काठमाडौँमा रहनुभएका मित्र हेमन्त विवशजी पनि निम्तालु। उहाँले मलाई सिधै भन्नुभयो, ‘तपाईँ जानुहुन्छ भने जान्छु, नत्र जान्नँ।’ उहाँ नजानुभएको भए म पनि नजान के बेर थियो र ? तर दुबै जना जाने भयौँ।
कात्तिक ६ गते, बिहान ७ बजे।
सल्लाहअनुसार नै भेटियौँ कलङ्की चोकमा। केही उत्साह र उत्सुकताको पोको पनि झोलामा कोचेका थिए होलान् विवशजीले। त्यो क्षण उहाँको चेहरा पढेर त्यस्तै अनुमान गर्दै थिएँ म। कार्यक्रमको बहाना नै सही, नयाँ ठाउँ घुम्न त पाइने भयो। घुमूँघुमूँ लागेका नयाँ ठाउँ घुम्दा र पढूँपढूँ लागेका नयाँ पुस्तक पढ्दा उस्तै मज्जा लाग्छ मलाई पनि। रोचकताका रङले पोतिँदै थिए हामी दुबैका मन।
आकाशमा घाम प्रस्ट नदेखिए पनि उमङ्गमय आभास उपहार बोकेर उदाएको थियो बिहान।
निम्त्याइको स्थान र कार्यक्रममा पुग्ने हतारो थियो हामी दुबैलाई। यात्राका लागि तम्तयार त भइयो तर दुबै निम्तालु उस्तै, निजी सवारी साधनको बन्दोबस्ती नाइँ। जुन गाडी छिटो पाइन्छ त्यसमै चढ्ने सल्लाह भयो। बस्ने सिट नपाए बाँदरजस्तै झुन्डिएर भए पनि दुलेगौँडा नपुगीनहुने थियो अपराह्न सम्ममा। त्यहाँबाट कार्यक्रमस्थलसम्म पुग्न चाहिँ आयोजकद्वारा नै हाम्रा लागि गाडीको व्यवस्था गरिएको सूचना पाएका थियौँ।
बस त पाइयो, ड्राइभरतिर ध्यान दिइएन चढ्ने बेला। मस्तको जवान केटो परेछ, उसको बैँस छचल्किएजस्तै लाग्यो गाडी हँकाइ पनि। बेतोड हुँइक्याइ, सातो नै उडाउने खालको। सवारी साधन सही तरिकाले चलाए, नचाएको हेर्ने निकाए कति छन् कुन्नि हाम्रा राजमार्ग क्षेत्रहरूमा ? त्यस दिन कुनै व्यक्ति र निकाय सचेत देखिएनन्, संवेदनशील भेटिएनन्। ट्राफिक प्रहरी त देखिन्थे ठाउँठाउँमा। तर के गर्नु ? ती त राजमार्गमा देखाउनका लागि मात्र उभ्याइएकाजस्ता।
गाडीको तीव्र वेग। पछाडी सिटको बसाइ। भ्यागुतोजस्तै उफ्रिँदैउफ्रिँदै पुगियो दुलेगौँडा। सोचेभन्दा पनि छिटो भयो पहिलो चरणको यो यात्रा। विराम लाग्यो बेलैमा।
इलाम, झापालगायतका स्थानबाट रात्रीबसमा आएका केही साथी हाम्रै प्रतीक्षामा रहेछन्। बिस्तारै अन्य स्थानका साथीहरू पनि भेटिए। त्यहीँको एउटा होटेलमा व्यवस्था थियो भोजनको। खाना खाइवरी एकछिन आराम गर्न पनि भ्याइयो। देशका सात वटै प्रदेशबाट लेखक, साहित्यकारको प्रतिनिधित्व हुनेगरी निमन्त्रणा रहेछ। त्यसै अनुसारको उपस्थिति थियो। त्यहाँबाट ३ वटा साना गाडीमा हामी स्याङ्जाको हरिनाशतिर  लाग्यौँ, सर्रसर्र।कच्ची बाटो। उकालो र भीर। पहाडी पर्यावरणको सौन्दर्यमा भने छैन कुनै कमी।   बाटोबाट देखिँदै थिए भिमाद, चित्रेलगायतका रमाइला बस्तीहरू। नथाकी डुलिरहे आँखाहरू वल्लो डाँडा र पल्लो डाँडा, वल्लो पाखा र पल्लो पाखा। अनेक आकृति र आकर्षणका प्राकृतिक स्वरूपहरू। आँखामा छाइरहेका याबत् दृश्यहरू  काफी थिए रमाइलो अनुभूतिका लागि। नजरभरिभरि रङ नै रङ, भीर नै भीर। अनेक घुम्ती र डाँडाकाँडा पार हुँदै गए। आकाशबाट झमक्क साँझ खस्नुअघि नै हामी पुग्न भ्यायौँ हरिनाश।
जङ्गलबीच खुला चौर। शान्त र स्वच्छ परिवेश। त्यहीँ बेलुकीको भोजनको प्रबन्ध मिलाउन एकजुट भएका गाउँले। लाग्यो, यस्तो हार्दिकता बिछ्याइएको स्वागत त गाउँमा मात्र पाउन सकिन्छ। हरिनाशको त्यो चौरमा बसेर बेलुकीको खाना खाइरहँदा मलाई धेरै वर्षअघि गाउँमा जन्ती गएको याद आयो। त्यति बेला पनि बारीका पाटामा बसेर त्यसै गरी भोज खाइन्थ्यो। टपरी र दुनामा चाहिँ खान पाइएन। त्यत्ति फरक।
सुत्न गाउँलेकै घरमा गयौँ। आयोजकले कति जना पाहुना कुन गाउँमा पठाउने भन्ने व्यवस्था  मिलाइसकेका रहेछन्। नजिकनजिकका गाउँ र घरघरमा छरिन पर्ने अवस्था भयो, रात बिताउँन। हेमन्तजी, भूपीन, आकाश अधिकारी, हरिकृष्ण काफ्लेलगायतका अतिथिसँगैको टोलीमा परेँ म। नजिकैका रानामगरका घरमा बास बस्न लागियो। अँध्यारोमा ओरालो बाटो। बारीका छिप्पिएका कोदोको नाल समात्दै पुगियो बास बस्ने घर। पूर्णकुमारी राना दिदी आफ्नो घरका पुगेका पाहुनाका लागि घरमा नै निर्मित पेय सहित स्वागत गर्न हतारिनुभयो। पेयको सगुन चल्ने साथीहरूको मुहारमा खुसीको अर्को एक लहर मुस्कुरायो। उहाँहरूका गफ अबेरसम्म चल्दै थियो। कला, साहित्य, संस्कृति, जीवन दर्शन आदिको अटुट अभिव्यक्ति। गफमाथि गफ थपिन रोकिने लक्षण देखिएन। म र हरिकृष्ण दाइचाहिँ छिट्टै ओछ्यान तताउनतिर लाग्यौँ।
पृष्ठभूमिबाट कानमा आइरहेको थियो जमेका साथीहरूको गफको रन्को। थाकेका बेला छिट्टै निदाउन पाउँदा राहत मिल्छ ज्यानलाई।यही सोच्दैँ लामो श्वास तान्दै थिए ओछ्यानमा म। गुनगुन सुन्दैसुन्दै कतिबेला भुसुक्कै निदाएछु, थाहै भएन।
बिहान कोदोको रोटी, अचार र अम्बाको खाँजा टन्न खाइयो। थालमा खाने कुराभन्दा पनि धेरै पायौँ रानामगर परिवारको हार्दिकता।
बिहानको खाजापछि गफिँदैगफिँदै केही बेर पैदल हिँडेर कार्यक्रमस्थलतिर लाग्यौँ। अर्को गाउँमा बास बसेर आएका साथीहरू पनि भेटिए बाटोमा। रूपिन्द्र प्रभावी, अनिल श्रेष्ठ, अर्जुन अधिकारीलगायतका लेखकहरू त चिनिएकै साथीहरू हुनुहुन्थ्यो, अन्य नयाँ लेखक, कविहरूसँग पनि चिनजान गर्न पाइयो।
वरिपरिका हरियाली, डाँडाकाँडा र पहाडी परिवेश। बिहान अझ सफा र आकर्षक दखियो। तस्बिर खिच्न को कम ? समान रुचिका साथ प्राकृतिक सौन्दर्यका अनेक बिम्बहरू मोबाइल र क्यमराभित्र कैद हुँदै थिए बाटोभरि। रोचक, घोचक र आनन्ददायी कुराकानीले रौस्याउन पनि रोकेन कसैलाई।
अलिखित इतिहासको सन्दर्भ जोडिन्छ हरिनाशसँग। श्रुतिस्मृतिका आधारमा भए पनि केही पुराना कुरा बिर्सिसकेका रहेनछन् गाउँलेले। अझै गाउँका बुढापाकाहरूसँग कुरा गर्दा थाहा पाइन्छ उक्त स्थानको नामकरण हरिनाश हुनुको कारण। पुरानो परिचयको झल्को दिन्छ गाउँपालिकाको नाम समेत रहेको हरिनाशले।
नेपालमा बाइसे-चौबिसे राज्य सुरु हुनुभन्दा पनि अघिको कुरा। भुरेटाकुरे राजाहरूको समय थियो त्यो। त्यहाँ हरि नाम गरेका मगर राजा थिए रे। जब बाइसे- चौबिसे राजाहरूले आफ्नो राज्य विस्तार गर्न थाले।  त्यहाँका टाकुरे राजा हरिलाई आत्मसमर्पण गर्न भनिएछ। उनले मानेनछन्। लड्न तयार भए र अन्तमा मारिएछन्। हरि राजाको राज्य नाश भएका कारण त्यस स्थानको नाम हरिनाश रहन गएको भन्ने सुनियो। यी टाकुरे राजा मारिएपछि आफू बाँच्नुको औचित्य देखिनछिन् उनकी रानीले पनि। ती रानीले आत्महत्या गरिछिन् त्यहीँको एउटा कुवानजिक। अझै पनि गाउँलेहरू रानीकुवा नै भन्छन् त्यस कुवालाई।
केही समयअघि त्यहाँको एउटा भागमा उत्खनन गर्दा प्राचीन समयमा प्रयोग भएको माटोका सामग्रीहरू भेटिएका रहेछन्। यस विषयमा अझ प्रष्ट हुन प्राचीन इतिहासको सूक्ष्म अध्ययन र पुराना अभिलेखहरू खोजी गर्नु आवश्यक छ।
हामी तोकिएकै समयमा कार्यक्रमस्थल पुग्यौँ। जङ्गल बिचको एउटा ठूलो चौर। पृष्ठभूमिमा झ्याउकिरीहरूकाआवाज निरन्तर आइरहेका थिए। झ्याउँकिरी बास्ने समय भन्नाले साँझ पर्नुअघिको समय भन्ने मात्र थाहा थियो मलाई। हरिनाश गाउपालिकाको वडा नं. ५ मा पर्ने  कार्यक्रमस्थल वरपर त दिनभरि नै गुन्जँदो रहेछ झ्याउँकिरीको सङ्गीत।
कात्तिक ७ गते बिहान १० बजेदेखि नै सुरु भयो साहित्य सम्मेलन। कार्यक्रम आयोजक ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जा। सामाजिक तथा सांस्कृतिक उन्नयनका लागि गाउँमा साहित्यिक अभियान चलाउँदै आएको रहेछ यस संस्थाले। यही सिलसिलाले जोडिन पुगेका थियौँ हामी गाउँमा। जुनसुकै गाउँ होस्, गाउँको माटोमा जस्तो स्वच्छता, पवित्रता र मौलिकताको बिम्ब अन्त खोजेर कहाँ पाइएला र ?
प्रा.डा. रामलाल अधिकारी, दिलबहादुर क्षेत्री, विश्वप्रेम अधिकारीजस्ता अग्रजहरू मञ्चासीन थिए। कार्यक्रममा ज्याग्दीखोलाको तरङ्ग नामक साहित्यिक पत्रिकाको नयाँ अङ्क सार्वजनिक गरियो। मगरभाषामा सिर्जित साहित्यबारे लेखिएको कार्यपत्रलाई पनि स्थान दिइयो। मगर समुदायको एउटा प्रचीन थलो, जहाँ साहित्यिक कार्यक्रम हुँदै थियो। उनीहरूको जीवन्त चिनारीका लागि यो कार्य उदाहरणीय लाग्यो। हरेक भाषिक समुदायको अस्तित्व उजागर हुनु नै पर्छ।
स्थानीयको आत्मीयताको छहारीमा महसुस गरियो छुट्टै शीतलता र मिठास। दिवाभोज पछिको समय विशेष कवि गोष्ठीको रौनकले तातियो।
किशोर पहाडी, महेश प्रसाईं, मिलन समीर, हेमन्त विवश, भूपिन, पूर्ण समीर महतारा, महेन्द्र चन्द महासागर, असीम सागर, खगिन्द्रा खुसी, तिलाश्री तिम्सिना, रुपिन्द्र प्रभावी, घनश्याम परिश्रमी, अर्जुन अधिकारी, हरिकृष्ण काफ्ले, अभागी थेगुवा, अनिल श्रेष्ठ, रेशम विरहीलगायतका नेपीली भाषी स्रष्टाहरूको जमघट र प्रस्तुति। कविता, गीत, गजल र मुक्तक जेजे सुनाइए, सुनिए, ताली र वाहवाही रोकिएन। विविध रङ र रसको प्रवाह। देखियो गाउँमा भावनाको इन्द्रेणी।
मित्रलाल पंज्ञानी, मिलन समीर र नारायण मरासिनी सम्मिलित तीन सदस्यीय उपसमितिद्वारा तयार पारिएको ६ बुँदे हरिनास साहित्यिक घोषणापत्र पनि पढेर सुनाइयो। घोषणापत्रमा साहित्य सिर्जना मार्फत ग्रामीण बिम्बहरू बाहिर ल्याउने, स्थानीय लोकसंस्कृति, कला र मिथकीय परम्परालाई उजागर गर्ने, आन्तरिक पर्यटन प्रबर्द्धनसँग साहित्यको सम्बन्ध जोड्नेजस्ता प्रसङ्गहरू समेटिएका छन्। गाउँका अनेक सम्भावनासँग सिर्जनाकर्मलाई  जोड्ने प्रयास सुन्दर पाटो हो।
प्राकृतिक सौन्दर्यले सुसज्जित हनिनाश क्षेत्र। संस्कृति र सौन्दर्यको दोभान। कार्यक्रम मार्फत रम्नुसम्म रमे स्रष्टा। गाउँ जोड्ने पुल बने सिर्जना, मन जोड्ने मूल बने भावना।
दिउँसो ४ बजे कार्यक्रम समापन भयो। समय न हो, बिती त जान्छ। घडीको सुइले बिदाइको हात हल्लाए पनि गाउँको मनसँग हामी छुट्टिनेवाला त कहाँ छौँ र ! गाउँसँग नछुट्टिने मन बोकेर त्यसै दिन फर्कियौँ हामी, कार्यक्रम सकिनेबित्तिकै फर्किन लाग्दा पनि कार्यक्रमस्थल नजिकका रूखहरूमा बसेर झ्याउँकिरीले अलापेको राग यथावत नै थियो।
ती एकलास जङ्गलमा बासिरहून् झ्याउकिरी। तिनका आवाजमा पनि सुन्छु म प्रकृतिको नै लय। फर्केर टाढा पुगिसक्दा पनि प्रतिध्वनित भइरहेझैँ लाग्यो एउटा छुट्टै किसिमको मिश्रित लय। मानौँ, झ्याउँकिरी र कविताको ध्वनि एकै साथ गुन्जिरहेको मनमा अझै।