तल्लो मुस्ताङमा फाइबर नेट,घमी र चराङमा रेडियो लिंक

बेनीदेखि जोमसोम हुँदै मुक्तिनाथसम्म द्रुत गतिको अप्ठिकल फाइबर नेट सञ्चालन गर्ने तयारी

जोमसोम, २९ मंसिर – उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका घमी र चराङमा २ जी रेडियो लिंक मोबाइल सेवा विस्तार हुने भएको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा विस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विस्तार गर्न लागिएको हो । सञ्चार सम्पर्क प्रभावकारी नभएको उपल्लो मुस्ताङमा रेडियो लिंक विस्तारपछि यहाँका ११ वटै गाउँमा सञ्चार सम्पर्कको पहुँच स्थापित हुने नेपाल दूरसञ्चार जोमसोमका कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए ।
यसअघि स्याटलाइट प्रविधिको माध्यमबाट नेपाल टेलिकम जोमसोमले तीन वर्षअघि सञ्चारसेवा सञ्चालनमा ल्याएको हो । तर, यस प्रविधिले बेलाबेलामा ब्याट्रीमा समस्या आउने, फोन तातिने, टावर नियमित नहुने र विद्युत् हाफ लाइन हुने जस्ता समस्याले सञ्चार सम्पर्क सहज हुन सकेको थिएन । स्याङ्वोचे र चराङका केही क्षेत्रबाहेक अन्य गाउँमा फोन टावरमा समस्या आउँदा यहाँका स्थानीय तथा पर्यटकले सेवा प्राप्त गर्न सकेका थिएनन् ।
नेपाल टेलिकमले रेडियो लिंक सञ्चालनमा ल्याउँदै गर्दा गाउँपालिकाकाका सबै गाउँमा सञ्चार सम्पर्क फराकिलो हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु)को भनाइ छ । उपल्लो मुस्ताङको लोमान्थाङमा केही वर्षअघि रेडियो लिंक सञ्चालनमा आएको छ । सीमावर्ती क्षेत्रका गाउँ छोसेर र छोनुप आदि स्थानमा सञ्चार सुविधाको पहुँच सुदृढ हुन सकेको छैन । यस्तै, नेपाल टेलिकमले म्याग्दीको बेनीदेखि जोमसोम हुँदै मुक्तिनाथसम्म द्रुत गतिको अप्ठिकल फाइबर नेट सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ । कार्यालयले आगामी आर्थिक वर्षदेखि फाइबर नेट सञ्चालन गर्ने तयारीका साथ ओयरिङलगायतका प्राविधिक काम सम्पन्न भएको नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जानकारी दिए ।