क्रिकेटबाट आँसु झार्दै सन्यास लिए शक्ति गौचनले

‘क्रिकेटबाट म टाढा हुन सक्दिन । यही खेलको कुनै न कुनै भूमिकामा रहेर नेपाली क्रिकेटको विकासमा काम गर्नेछु,’

बागलुङ, २९ मंसिर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले क्रिकट खेलबाट सन्यासको घोषणा गरेका छन् । किर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजबाट खेलेका शक्तिले शनिबारबाट आफ्नो खेलाडी जीवनको अन्य गरका हुन् । पोखरा राइनोज इपीएलको समूह चरणबाट बाहिरिएको छ । झण्डै २० बर्ष लामो क्रिकट खेलको करियरबाट उनले विश्राम लिएका हुन् । नेपाली क्रिकेटको हरेक सफलतामा जोडिएका ३४ बर्षीय शक्तिले सन्यास घोषणा गरेपनि आफू क्रिकेटबाट टाढा भने नहुने बताएका छन् ।
‘क्रिकेटबाट म टाढा हुन सक्दिन । यही खेलको कुनै न कुनै भूमिकामा रहेर नेपाली क्रिकेटको विकासमा काम गर्नेछु,’ शक्तिले भने । नेपाली क्रिकेटलाई डिभिजन ५ देखि टी–२० विश्वकप पुर्याउन र एकदिवसिय मान्यता दिलाउँदा शक्ति नेपाली टोलीको मुख्य सारथी थिए । उनको अन्तर्राष्ट्रिय खेल भने नेदरल्यान्डसविरुद्धको पहिलो एकदिवसिय क्रिकेट श्रृखंला अन्तिम बन्यो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को प्रतिबन्धमा परेका कारण शक्तिको विदाई भब्य भने हुन सकेन । निजि क्षेत्रको प्रतियोगिता इपीएललाई नै शक्तिले सन्यास लिने उपयुक्त थलोको रुपमा प्रयोग गरे । शक्ति खेलुन्जेल नेपाली क्रिकेटका लागि शक्ति नै भए ।
सन् २००२ देखि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका शक्ति ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटमा सतक पनि हानेका छन् । सन् २००५ को विश्वकप छनोट अन्तर्गत इटलीविरुद्ध उनले एक सय ६ रन बनाएका थिए ।
त्रिवि क्रिकेट मैदानमा अन्तिम खेल खेल्दै विदा भएका गौचनले आफुलाई सम्हाल्न नसक्दा खेल मैदानमै अाँसु खसाल्न पुगे। उनी विदा हुँदै गरेको क्षणले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनी सहभागी टोली पोखरा राइनोज र चितवन टाइगरका खेलाडीले उनलाई काधमा राख्दै मैदान वरपर घुमाएका थिए। सो क्रममा उनले नेपालको झण्डा काधमा बोक्दै अाँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए।