आर के अदीप्त लेख्छन, ढोरपाटन यात्रा : कथाभित्र र वाहिर !

थुप्रै देशमा आफ्नो साहसिक ‘सिकारी कौशल’ परीक्षण गरिसकेका इरिक सिगरिस्ट पहिलोपटक नेपाल आए।

कथाभित्र:
सिकार खेल्नु सोख मात्र होइन, आफैंमा साहसिक कार्य पनि हो। यसपटक प्रख्यात सिकारीसँगै ढोरपाटनको यात्रा गर्ने सुवर्ण मौका प्राप्त भयो। थुप्रै देशमा आफ्नो साहसिक ‘सिकारी कौशल’ परीक्षण गरिसकेका इरिक सिगरिस्ट पहिलोपटक नेपाल आए। उनको एक मात्र ध्येय थियो- ‘हिमाली ट्रफी हन्टिङ’को नाउँले प्रख्यात नाउर सिकार गर्नु। इरिक जर्मन नागरिक हुन्। एक कुशल ‘सुटर’का रूपमा उनले आफ्नो सिकारी कला प्रदर्शन गरे, जसको प्रत्यक्षदर्शी हुन पाउँदा आनन्द लाग्यो। यस सु–अवसरको चाँजोपाजो मिलाइदिएका थिए– ग्लोबल सफारी कम्पनीका सञ्चालक शमशेर पराजुलीले।०००
शरदीय याम आफैंमा सुन्दर र मनमोहक थियो। हामी ढोरपाटन पुग्दा ढोर क्षेत्र सधैंको ‘मर्निङ ग्लोरी फूल’जस्तो चम्किलो देखिन्थ्यो। सुन्दरताको के कुरा गर्नु, सुनमा सुगन्ध थपिएजस्तो लाग्थ्योे। ढोरपाटनको यो सौन्दर्यसँग एकाकार हुन हामी हेलिकप्टरमार्फत आइपुगेका थियौं। कात्तिक २६ गते बिहानै काठमाडौंबाट उडेका हामी डेढ घण्टामा ढोरपाटनको ‘स्याङ ब्लक’मा उत्रियौं। यहाँ उत्रने बेलाको इरिकको अनुहार सम्झन्छु। दृढ आत्मविश्वास र कौतुहलको चमक थियो त्यो अनुहारमा। हाम्रो गन्तव्य– स्याङ ब्लक र उद्देश्य– नाउरको सिकार। इरिकले यही ब्लकका लागि सिकार अनुमतिपत्र लिएका थिए। स्याङ ब्लक पुग्नु आफैंमा एक कष्टकर र साहसिक यात्रा त हो नै, उत्तिकै रोमाञ्चकारी पनि। साह्रै अप्ठ्यारो भिरालो पहाड। त्यस पहाड उक्लिन सानोतिनो साहस र सोखले नपुग्ने। पहाडी, हिमाली पठारका अग्लाअग्ला शिखरहरू चुम्नुपर्ने, हिमाली कुना–कन्दरा चहार्नुपर्ने। यहाँको भू–बनोट नै यस्तै छ, विशाल नाङ्गा पहाड र चट्टाने पहराहरूले बनेको।नाउरको बासस्थान नै चार हजार मिटरमाथिको हिमाली काखमा हुँदो रहेछ। हामी मुसाफिरजस्तो यात्रालाई अगाडि बढाउँदै थियौं। पहिलो दिनको यात्रालाई रुकुमको दुले गाउँमा बिसायौं। समुद्री सतहबाट तीन हजार तीन सय ५० मिटर उचाइमा रहेको दुलेमा त्यस्तै छ– सात घर थिए। यो ठाउँ यार्सागुम्बा टिप्ने मौसमको बेसक्याम्प पनि रहेछ। हाम्रो सम्पूर्ण बन्दोबस्ती भने टेन्ट क्याम्पमा थियो। एउटा नाउर सिकार गर्नु चानचुने कुरो थिएन। पोर्टर, गाइड तथा अन्य अनुभवी सहयोगी गरी झन्डै दुई दर्जनको डफ्फा थियो हामीसँग। समूहमा कामको बाँडफाँट व्यक्तिपिच्छे फरक–फरक थियो। म भने ती अद्भुत क्षणहरूलाई क्यामेरामा सचित्र उतार्न अभ्यस्त थिए। भोलिपल्ट हाम्रो यात्रा लेकाली बुकी खर्क हुँदै अगाडि बढ्यो। उकालो–ओरालोको नियमिततासँग अघिल्लो दिनजस्तै हामीले पाइला चालिरह्यौं। बिहानको मौसम बेदागी थियो। तर दिन ढल्दै जाँदा आकाश मलिन र कालो हुँदै गयो। नभन्दै बादलको गड्याङगुडुङ सुरु भयो। पानी पर्लाजस्तो लागेको थियो तर एकाएक हिउँ नै फुस्फुसाउन थाल्यो। हामी हिँउको चेपुवामा परिसकेका थियौं।लगातार हिँउको वर्षा भई नै रह्यो। हिउँको सेताम्मेभित्र केहीबेर त हामीले मौनता साध्यौं। तर, हिउँ रोकिने कुनै संकेत नपाएपछि हिउँका फूलहरूले छ्यापिँदै यात्रा जारी राख्यौं। करिब चार घण्टाको हिँडाइपछि सेङ खोला किनारमा आइपुग्यौं। र, हिउँकै विशाल खातमाथि क्याम्प खडा गर्‍यौं। आफूलाई आँटको न्यानोभित्र गुम्स्याउँदै वि श्राम लियौं। तर हिउँ भने रातैभरि परिरह्यो। त्यस रातको चित्र दुःख र कष्टको रेखाले कोरिन पुग्यो हाम्रो स्मृतिपटमा।
०००
अर्को बिहान, वरिपरिका सारा पहाडी थुम्काहरू हिउँ नै हिउँको बर्को ओढेर बसेका देखिए। सेङ खोला फ्रिज भएछ, ऊ महाध्यानमा हराएजस्तो लाग्थ्यो। हामी आफैं हिउँको साम्राज्यमा थियौं। यात्राको उद्देश्य अब चिप्लेकीराजस्तो ढुलमुलमा थियो। तर, दिन बिस्तारै–बिस्तारै घामसँगै खुल्दै गयो। प्रकृतिले पनि हिउँको दोसल्ला उघार्दै गयो। र, हाम्रा लागि मौसम ‘वातानुकूलित’ भयो। हाम्रा सिकारी गाइड मानबहादुर पुन नाउरको चियोचर्चाे गर्न पुपाल लेकतिर उक्लिए। उनको साथमा थिए सहयोगी राजु गुरुङ। हामी भने क्याम्पमै भोलिको योजना बुन्दै र चिसो सुम्सुम्याउँदै बस्यौँ। इरिक भने मौसमप्रति जिज्ञासु बन्दै हामीलाई आफ्ना अनेकन अड्कलबाजी सुनाउँथे।त्यस दिन बेलुका मानबहादुर र सहयोगी साथीहरू उत्साहित हुँदै क्याम्प फर्किए। उनीहरूले भोलिको सम्पूर्ण तालिका सुनाउँदा इरिकको अनुहारमा अर्कै चमक देखिन्थ्यो। म झनै कौतुहल र उत्साहित थिएँ। आशा आफैं एक ऊर्जा हो, जसको रापमा त्यो हिमरात्रि गुजार्‍यौँ।
०००
भोलिपल्ट सिकारको लक्ष्य बोकेर बिहानै ४ बजे पुपाललेक उक्लिन सुरु गर्‍यौैं, टर्चलाइटको सहायतामा। हिमाली पठार र हिमनदीयुक्त बाटो हिँड्नु हाम्रा लागि निकै चुनौतीपूर्ण थियो। बाटो बनाउँदै अगाडि बढ्दै गयौँ। हिउँमाथि बाटो पहिल्याउनु कष्टकर थियो। अनुभवी गाइड मानबहादुरले गर्दा केही सहज भएको थियो। उनकै पाइला पछ्याउँदै जेनतेन हामी पुपाललेक उक्लियौं। यतिन्जेल हाम्रो शरीर हिमचिसोले शिथिल भइसकेको थियो।पुपाललेकको करिब चार हजार एक सय मिटर उचाइमा पुगेपछि हामी केहीबेरका लागि सुस्तायौं। टोलीनेता मानबहादुर भने थाकेकै थिएनन्। उनी पुपाललेक वरपरका पहाडहरूमा नाउरको चर्चो गर्न थाले। हामी उनकै इसारामा अक्करे भीर–पहरा चहार्न थाल्यौं। बाटोमा नाउर, झारलका बथानहरू देखा पर्थे र हराउँथे। यिनको बासस्थान नै ठूला भीर–पहरा हुन्। नाउरहरू यति धेरै संवेदनशील हुँदा रहेछन् कि मान्छेको सुइँको पाउनेबित्तिकै कोसौं टाढा भागिहाल्ने। बडो होसियारी अपनाएर उनीहरूको पिछा गर्नुपथ्र्यो। गाइडले नाउरका आनीबानीका बारेमा पहिल्यै अवगत गराएका थिए र त हामी निकै संवेदनशील र चनाखो भएर उनीहरूको पिछा गथ्र्यौं। यहाँ वैधानिक सिकारका लागि छुट्टै नीति–नियम छन्। देखे–भेटेका जुनसुकै नाउरलाई ‘सुट’ गर्न नपाइने रहेछ। जुन ट्रफीका लागि उपयुक्त भनी तोकिएको छ, त्यसलाई मात्र सिकार गर्न पाइने। यस्तो उपयुक्त नाउर त्यसैलाई मानिन्छ, जुन बूढो र भाले नाउर होस् र जसको सिङ अर्थात् ट्रफी लामो भएको होस्। बाइनाकुलरको माध्यमले नाउरको बथान अध्ययन गरी उपयुक्तलाई निसाना बनाउनुपर्ने। पोथी र बच्चाको सिकार गर्नु चाहिँ अवैधानिक मानिने। उपयुक्त नाउरको खोजीमा घण्टौं कष्टकर यात्रा गर्नुपर्‍यो।यात्राको पाँचौं दिन भने उपयुक्त नाउर रहेको एक बथान फेला पर्‍यो। निम्कु हिमालको जरा, पुपालेकको उत्तरी भेगको गुर्गाड भन्ने ठाउँमा, जुन लेक करिब चार हजार आठ सय मिटरको उचाइमा थियो। त्यस दृश्यले हामीलाई निकै रोमाञ्चित बनायो। अघिल्ला कैयौं दिनमा झेल्दै आएका सारा दुःख–कष्टलाई भुल्यौं हामीले। हाम्रो यात्रा खुसीमा बदलिँदै थियो। अब यही नै उपयुक्त मौका लागेर नाउरको सुटका लागि क्याम्प खडा गर्‍यौं। कुशल सिकारी इरिकले नाउरलाई निसाना बनाउन थाले। गाइडले बेलाबेला इसारा गरिरहे। करिब चार सय मिटरको दूरीबाटै इरिकले आफ्नो अत्याधुनिक बन्दुक पड्काए। उता नाउर क्षणभरमै ढल्यो, एकै राउन्ड गोली खाएर। त्यस क्षण इरिकको अनुहारमा अर्कै बत्ती बलेको देखिन्थ्यो। इरिकले ढालेको नाउर करिब सय केजी तौलको हुँदो हो। शारीरिक लम्बाइ १.५ मिटर रहेको नाउरको सिङ २८.५ इन्चको थियो। त्यही सिङलाई ‘ट्रफी’ भनिन्छ (उक्त नाउरको सिङ र छालालाई सिकारीहरूले आफूसँगै लैजान पाउँछन्)। यसरी साहसिक ‘ट्रफी हन्टिङ’ गर्न सफल भएकोमा इरिक दंग थिए। उनका लागि त्यो क्षण अर्को ‘भिक्टोरी’ थियो, हाम्रा लागि पनि दुर्लभ र अविस्मरणीय।
कथाबाहिर:
ढोरपाटन देशको एक मात्र प्रख्यात सिकार आरक्ष हो। जुन बागलुङ, म्याग्दी, डोल्पा र रुकुम जिल्लाको उच्च हिमाली भू–भागमा अवस्थित धौलागिरि हिमशृंखलाअन्तर्गत पर्छ। विस २०३९ सालमा स्थापना भएको आरक्षको मुख्य विशेषता नै नाउर अर्थात् नीलभेडाको सिकार गर्नु हो। यहाँको नाउर सिकार एक एडभेन्चर हो। सिकारीहरूको मुटु दह्रो हुनैपर्ने तर्क गर्छन् गाइड मानबहादुर पुन। यहाँको भूगोल विदेशी हन्टरहरूका लागि निकै चुनौतीपूर्ण मानिन्छ। कतिपय ठाउँमा त पूरै हात र खुट्टाको सहयोगले हिँड्नुपर्ने भीर छन्। आफूले यही पेसालाई विगत १७ वर्षदेखि निरन्तरता दिँदै आएको उनी गर्वसाथ बताउँछन्।उच्च लेकाली हावापानी पाइने यो क्षेत्र जैविक विविधताका दृष्टिले धनी छ। प्राकृतिक भू–सम्पदा, दुर्लभ वन्यजन्तु, वनस्पति एवम् पर्या–पर्यटनको दृष्टिले यो निकै महत्वपूर्ण क्षेत्र मानिन्छ। सिकारको बेला प्रायः हावाहुरीदेखि हिमपातसम्मका कष्टकर चुनौती झेल्नुपर्ने हुन्छ। सिकारीले आफूलाई निकै सतर्कताका साथ नियन्त्रणमा लिएर सिकार गर्नुपर्ने हुन्छ। त्यसमाथि केही भयो भने ज्यानकै बाजी लगाउनुपर्छ। सिकारीमा ठूलो आँट र आत्मविश्वास अनि दक्षता नभई यहाँ सफल हुन नसकिने पुनको अनुभव छ।
०००
एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस आरक्षले पूर्वमा दारेखानी, भाल्के र लामा भन्ज्याङका धुरीहरू समेटेको छ भने पश्चिमतर्फ खरिवाङ खोला, कुल्टा भन्ज्याङ, ज्याङ्ला भन्ज्याङसम्म। यस्तै दक्षिणतर्फ सुर्तीबाङ र उत्तरगंगासम्म तथा उत्तरी सिमाना पुथा, चुरेन र गुर्जा हिमालसम्म फैलिएको छ। आरक्षको धेरै भू–भाग घाँसेमैदान र अग्ला भीर–पहाराले भरिएका छन्। एक तिहाइ भाग हिमाली चरण क्षेत्र र खर्कले ओगटेको छ। बाँकी क्षेत्र मध्यवर्ती क्षेत्र हो। ढोरपाटन उपत्यका भने त्यस क्षेत्रका घोडा, खच्चर र अन्य घरपालुवा बस्तुभाउको चरन क्षेत्र बनेको वोवाङका स्थानीय युवा पदमबहादुर पुनले बताए। यो क्षेत्र न्यूनतम दुई हजार मिटरदेखि अधिकतम सात हजार दुई सय ४६ उचाइसम्म फैलिएको हुनाले शीतोष्ण लेकाली एवम् हिमाली हावापानीको मि श्रण पाइन्छ। यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावरहरू पाइन्छन्।
०००
सोखका लागि सिकार गर्नेदेखि अन्तर्राष्ट्रिय सिकार प्रतियोगितासम्म भाग लिन सिकारीहरू ढोरपाटन आउने गर्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले टेन्डर आह्वान गरी सिकारीहरूको छनोट गर्दछ र लाइसेन्स दिएर यहाँ पठाउने गर्छ। वैधानिक सिकारका लागि ढोरपाटन प्रसिद्ध छ तथापि यहाँ अवैध चोरी–सिकारीको समेत बिगबिगी रहेको स्थानीयहरू बताउँछन्। अवैध रूपमा बढेको चोरी–सिकारीलाई आफूले सक्दो नियन्त्रण गर्ने कोसिस गरेको ढोरपाटन आरक्षण विभागका अधिकृत अणनाथ बरालको दाबी छ। राष्ट्रिय निकुञ्जअन्तर्गतको आरक्षण विभागले लाइसेन्स दिँदा सिकारी समूहसँग स्थलगत अनुगमनका लागि एक कार्यालय प्रतिनिधि (गेम स्काउट) पनि सँगै पठाउने प्रावधान रहेछ। ताकि अन्य वन्यजन्तुहरूको सुरक्षा निगरानी होस्। ढोरपाटनमा सिकारका लागि वर्षमा दुई सिजन छुट्ट्याइएको छ। पहिलो सिजन असोजदेखि मंसिरसम्म र दोस्रो फागुनदेखि वैशाखसम्म। विश्वभरका नामुद सिकारीहरू यिनै दुई याम ताकेर नेपाल आउने गर्छन्। अनुमति पाएपछि उनीहरू हेलिकप्टरमार्फत सिकारका लागि यहाँ उत्रन्छन्।आरक्षण कार्यालयका अनुसार एउटा नाउर सिकार गर्न सिकारीले १५ देखि २५ लाख (आवश्यकताअनुसार बढी) सम्म खर्च गर्ने गर्दछन्। यसमा सरकारले पाउने राजस्व सलामी रकम भने दुईदेखि दस लाखसम्मको हुन्छ। सिकारीलाई लाइसेन्सदेखि लिएर सिकार खेल्ने प्रक्रियागत कागजातमा विभागले सम्पूर्ण सहयोग गर्ने गर्दछ। विदेशी हन्टरहरूको संख्या बढ्दै गए पनि यहाँ हाल नाउर सिकारको संख्या भने घटाइएको छ यहाँ। पहिले एक सिजनमा २६ नाउरको सिकार गर्न पाइन्थ्यो, हाल २० मात्र कायम गरिएको छ। विभागको यो निर्णयले सिकारमा समस्या निम्तिएको ढोरपाटनमा हन्टिङ सफारी चलाउँदै आएका ग्लोबल सफारीका शमशेर पराजुली बताउँछन्। उनका अनुसार राज्यले अब यहाँ सिकारका लागि नयाँ नीति तय गर्न सकेमा ढोरपाटनले देशको पर्यटन र आर्थिक विकासमा सहयोगी भूमिका खेल्ने निश्चित छ।अन्नपूर्ण