बागलुङे वसन्त थापा करोड क्लबका ‘किङ मेकर’ !

‘कसैले आमालाई धेरै माया गरेको भनेर जसरी अरुले भन्न मिल्दैन त्यसैगरी गीतमा पनि आफ्नो माटोप्रतिको मायालाई धेरै भन्न मिल्दैन।’

बागलुङ गल्कोटबाट काठमाडौं छिरेका वसन्त थापाले काठमाडौं छिर्ने बेलै सोच्न त सोचेका थिए गायक बन्छु, संगीतकार बन्छु, राम्रो राम्रो गीत लेख्छु। लय पनि राम्रो बनाएर आफ्नो कला र गला संसार सामू पुर्याउँछु। अहिले जुन तहमा उनको चर्चा छ त्यो चाहिँ उनको कल्पनामा थिएन। पछिल्लो पटक युट्युबमा करोडभन्दा बढी पटक हेरिएका गीत ‘सालको पात टपरी हुने’, ‘उही खोलीमा पानी’, लगायतका गीतमा शब्द, संगीत, स्वर र अभिनयमार्फत् कुनै कुनै माध्यमले जोडिए वसन्त थापा। लोक संगीतका सबै पक्षमा उनको उपस्थिति सशक्त भए पनि उनी भने आफ्नो दख्खल भएको विधाको रुपमा संगीतलाई लिन्छन्। आफूले गाएको, लेखेको गीतको तुलनामा संगीत भरेका गीत शक्तिशाली हुने उनको बुझाइ छ।
बागलुङको गल्कोटबाट काठमाडौं छिरेका थापाका धेरैजसो गीतको परिवेश बागलुङ नै छ। एकै खालको गीत गाउँदा स्रोतालाई मनोटोनस हुँदैन भन्ने प्रश्नमा भन्छन्, ‘मेरो गीतमा बागलुङ र त्यसमा पनि गल्कोट आसपासको परिवेश ज्यादा झल्किन्छ। यो मेरो जन्मभूमिप्रतिको कर्तव्य पनि हो। कसैले आमालाई धेरै माया गरेको भनेर जसरी अरुले भन्न मिल्दैन त्यसैगरी गीतमा पनि आफ्नो माटोप्रतिको मायालाई धेरै भन्न मिल्दैन।’ तीन तालको पञ्चेबाजा धौलागिरिभन्दा बाहिर नभएको उनको बुझाइ छ। आफ्ना गीतहरुमा उनले त्यसलाई धेरै पेश गरेका छन्। त्यसले पनि स्रोता दर्शकलाई एकैखालको जस्तो अनुभूत गराउँछ। अब जन्मभूमिप्रतिको कर्तव्य पूरा गरेको र गीतमा विविधता दिन थालेको वसन्त सुनाउँछन्। ‘मलाई गीत लेख्न गाउँन र समग्रमा यो क्षेत्रमा लाग्ने रुचि जगाउने काम गल्कोट र त्यस आसपासमा गुञ्जिने लोकगीत संगीतले नै बनाएको हो’ उनी भन्छन्। स्थान विशेष गीतमा पनि आफूले भिन्दाभिन्दै विषय र प्रस्तुत दिएको उनको दाबी छ। गीतमार्फत आफूले आफ्नो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाएकोमा उनलाई आनन्द लाग्छ।
पछिल्लो समयका लोक दोहोरी गीतमा दोहोरीका नाममा एकोहोरो आरोप लगाउने प्रचलन बढ्दै गएको छ। दोहोरीमा सवालजवाफ हुन्छ, एउटाले प्रश्न सोध्दा अर्कोले त्यसको जवाफ दिनुपर्छ। उनी पछिल्लो समयमा आएका धेरै गीतमा एकै खालको थेगो भएको स्वीकारर्छन्। उनले गीतमा एउटै खालको स्थायी राखे पनि शब्दबाट खुलाइएको बताउँछन्। ‘गीतमा थेगो पनि दोहोरो खालको हुँदा राम्रो हुन्छ’, उनी भन्छन्, तर एउटै थेगो हुँदा पनि शब्दका माध्यमबाट त्यसमा सवाल जवाफ भएको हुन्छ, दर्शक स्रोताले त्यसमा ध्यान दिनुपर्छ।’ कतिपय अवस्थामा भिन्दा भिन्दै थेगो नमिल्ने हुँदा एउटै खालको थेगो बनाइएको उनको तर्क छ। धेरैले शब्दमार्फत भएको दोहोरीलाई नबुझेका कारण यस्तो प्रश्न उठ्ने गरेको उनको भनाइ छ। १७ वर्षदेखि लोक संगीतको यात्रामा गायक, लय तथा शब्द संकलक, संगीतकार, म्युजिक भिडियोको अभिनयकर्ताका रुपमा उनी परिचित छन्। निरन्तरता उनको सांगीतिक यात्राको सबैभन्दा सबल पक्ष हो। २०५८ मा सरस्वती क्याम्पसमा बिबिएसको विद्यार्थीका रुपमा काठमाडौं छिरेका उनी यो क्षेत्रमा पनि त्यही समयदेखि क्रियाशील बने। एकपछि अर्को गीतको सफलतासँगै लोकसंगीतका क्षेत्रमा उनको राम्रै परिचय बन्यो। गीत हिट हुँदा पनि उनी भने मिडिया खासै छाएनन्। ‘मलाई मिडियादेखि टाढै रहेको त भन्न मिल्दैन’, उनी सुनाउँछन्, ‘मिडियाप्रति मेरो सम्मान छ तर आफ्नोबारेमा लिखिदिन प¥यो भनेर कहीँ जान्नँ।’

पछिल्लो समय नयाँ पुस्ता लोकगीतप्रति आकर्षित हुन नसकेकोमा उनलाई दुःख लाग्छ। ‘लोकगीतको पुरानो स्रोता मरिरहेको छ, लोकगीत सुन्नै नचाहने पुस्ता जन्मिरहेको छ, त्यो पुस्तालाई यसतर्फ आकर्षित गर्न सकिएको छैन’, उनले भने, ‘यसमा हाम्रै पनि कमजोरी छ। एउटै ढर्राका गीत गाएर लोकगीततर्फ नयाँ पुस्ताका स्रोतालाई आकर्षित गर्न सकिँदैन।’ उनी नयाँ प्रयोग गरेर स्रोतालाई लोकगीततर्फ आकर्षित गर्नुपर्ने बताउँछन्। हुन पनि गत सेप्टेम्बर १७ मा युट्युबमा अपलोड भएको उनको गीत तीन महिनामा १ करोड ५२ लाख ४३ हजार पटक हेरिएको छ। केही अघि यो गीत युट्युब ट्रेन्डिङमा थियो। गीत लोकप्रिय हुन स्रोताको मन छुनसक्नु पर्ने उनको बुझाइ छ। ‘लोकगीत अपरिष्कृत छ, यसलाई सिक्ने र सिकाउने ठाउँ छैन। यसलाई विकसित गर्दै विद्यालय र कलेज पाठ्यक्रमसम्म पुर्याउनु पर्छ, लोकगीत र संगीतलाई पाठकले पढ्न पनि पाउँनुपर्छ’, उनी भन्छन्, ‘सबै खाले गीत संगीतको महत्व आ–आफ्नै प्रकारको छ, तिनीहरुका स्रोता पनि आ–आफ्नै प्रकारका छन्। सबैलाई समान व्यवहार गर्न सक्नुपर्छ।’पछिल्लो समय उनी नयाँ पुस्तालाई लोकसंगीततर्फ आकर्षित गर्न काम गरिरहेका छन्। ‘गीत, संगीत, भिडियो, शब्द आदि सबैमा नयाँ प्रयोग गरिरहेको छुँ’, उनले भने, ‘नयाँ पुस्तालाई यो क्षेत्रमा आकर्षित नगर्ने हो भने यसको आयु धेरै लामो छैन्।’ त्यतिबेला म्युजिक कम्पनीहरु चलेका गायक संगीतकारलाई मात्रै खोज्थे। यो २०६३ सालतिरको कुरा हो। उनीहरु नयाँका लागि जोखिम मोल्न तयार थिएनन्। यस्तो अवस्थामा नयाँ आउने कलाकारले अर्को कुनै सेलिब्रेटीसँग जोडिनु पथ्र्यो। कि अस्वीकृत भएर बस्नु पथ्र्यो। उनी पनि आफ्ना सिर्जना बोकेर धेरै म्युजिक कम्पनीमा पुगे। धेरै ठाउँमा अस्वीकृत भए। कसै कसैले उनलाई यो गीत फलानालाई गाउन दिने हो भने हामी रेकर्ड गर्छाैँ नत्र गर्दैनौं भन्ने जवाफ फर्काए। लामो समय आफूले शब्द र संगीत सिर्जना गरेका केही गीत अरुलाई नै गाउन दिए। जब दर्शक स्रोताले चिन्न थाले, त्यसपछि उनले पनि अवसर पाउन थाले। त्यसैले उनी गायकभन्दा पहिले शब्द–लय संकलक र संगीतकारका रुपमा परिचित भए। ‘मेरो संगीत र शब्द बिके पनि स्वर बेच्ने धोको भने बाँकी नै थियो’, उनले भने, ‘बिस्तारै आफ्नो कम्पोजमा आफैले गाउन थालेँ। पहिलो पटक मलाई विस्वास गरेर धौलागिरी क्यासेट सेन्टरका गायक दाजु इन्द्र श्रेष्ठलाई त्यो अवसर दिलाइदिनु भयो।’ पछि यम क्षेत्री, प्रह्लाद सुवेदी, कुलेन्द्र विक, दुर्गेश थापासँगको सहकार्यमा उनले याे यात्रा अगाडि बढाए।
बुबाले छोराले प्राइभेट क्याम्पसमा पढेर राम्रो जागिर खाए हुन्थ्यो भन्ने सोचेका रहेछन्। ‘बुबाले सधैँ छोरा तिमीले अँध्यारो बाटो रोज्यौ भन्नुहुन्थ्यो’, उनी भन्छन्, ‘बुबााले भनेको त्यही अँध्यारो हिँड्दै म अहिलेको यो उज्यालो अवस्थामा आइपुगेको छु।’ उनले गायका भन्दा उनले शब्द र संगीत गरेका गीत तुलनात्मक रुपमा सफल भएका छन्। उनी त्यसलाई संयोग मात्र मान्दछन्। गीत तयार गर्ने बेला नै यो गीत कसले गाउँने कसले संगीत भर्ने र कसले लेख्ने भन्ने बारेमा तयारी गर्छाैँ’, उनले भने, ‘म अरुको भागमा परेको कुरा आफूले लिन चाहन्नँ।’ संगीत सिर्जना आफूले गर्नेहुँदा आफूले त्यही अनुरुप म्यानेज गरेर जिम्मा बाँडफाँड गर्ने उनी बताउँछन्। पछिल्लो समय गायकहरु भिडियोतर्फ आकर्षित बन्दै गएको छन्। कतिपय गायकले त भिडियोमा खेल्न नपाउने हो भने गीत नै गाउँदिन भन्न थालेका चर्चा र समाचारहरु सार्वजनिक भएका छन्। उनी यसलाई जायज ठान्दछन्। गीतसंगीत क्रमशः कानबाट आँखातिर सरेपछि यसो हुनु स्वभाविक नै भएको उनको तर्क छ। ‘गीत संगीत क्रमशः कानबाट आँखातिर सरेको छ’, उनी भन्छन्, ‘अहिलेको समयमा कलाभन्दा बढी चर्तिकला बिक्छ।’