बागलुङमा धमाधम खेलकुदका संरचना निर्माण हुँदै

पाँच योजनाको योजना सम्झौता सकियो

बागलुङ, १२ पुस– युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा जिल्लाभर निर्माण हुन थालेका बिभिन्न संरचनाको काम थालिएको छ । जिल्ला खेलकुद विकास समितिले जिल्लाभर निर्माण हुने खेल मैदान, कबर्डहल र स्पोर्ट एकेडेमीको कामलाई अघि बढाएको हो । मन्त्रालयले बजेट बिनियोजन गरेर पठाएका योजनाको निर्माणका लागि उपभोक्ता समिति गठन, योजना सम्झौता र प्रारम्भिक अध्ययनको काम थालिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताए । जिल्लाभर सञ्चालन हुने १० वटा योजनामध्ये ५ वटा योजनाको काम सुरु भएको र बाँकी पाँचवटा योजनाको काम यसै सातादेखि सुरु हुने परियारले जानकारी दिए ।
बागलुङ नगरपालिका–४ दारेगौंडामा क्रिकेट मैदान निर्माणको काम थालनी भएको छ । मन्त्रालयले बिनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट काम गर्ने गरी उपभोक्ता समिति गठन गरेर काम अघि बढाईएको हो । त्यस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको दुर्लेबेशी खेल मैदान निर्माणको काम पनि अघि बढेको छ । उपभोक्ता समिति गठन गरेर काम अघि बढाईएको उपभोक्ता समितिका सचिव दिलिप थापाले बताए । दुर्लेबेशी खेल मैदानको लागि मन्त्रालयले २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यस्तै निफन्ने खेल मैदान बानपा–१० भकुण्डे, बैद्य भचौर खेल मैदान काठेखोला गाउँपालिका–७ रेश र मदन भण्डारी स्पोर्ट एकेडेमी बागलुङले पनि योजना सम्झौता गरिसकेका छन् । भकुण्डे र रेशमा बन्ने खेल मैदानको लागि १०÷१० लाख रुपैयाँ र मदन भण्डारी स्पोर्ट एकेडेमीको लागि २० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।
समयमै काम सक्नेगरी खेलकुदसँग सम्बन्धित संरचनाको निर्माणको काम थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । बागलुङ नगरपालिकामा निर्माण हुने तेक्वान्दो कवर्डहल निर्माणका लागि बिनियोजन भएको १० लाख रुपैयाँ बजेटबाट काम गर्नका लागि उपभोक्ता समिति गठनको काम चलिरहेको छभने बाङ्गेचौर खेल मैदानको बिस्तृत परियोजना प्रस्तावको काम अघि बढेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । बडिगाडमा निर्माण हुने कबर्ड हल, बुर्तिबाङमा निर्माण हुने उत्तरगंगा कवर्ड हलको कामलाई समेत तिब्रता दिईएको अध्यक्ष परियारले बताए । भौगोलिक हिसाबले टाढा रहेकाले कतिपय योजनाको कामका लागि उपभोक्ता समिति गठनमा ढिलाई भएको भएपनि यसै साता काम सक्ने लक्ष्य समितिले बनाएको छ । बडिगाड कर्बड हलको लागि १० लाख र उत्तरगंगा कर्वड हलको लागि २० लाख रुपैयाँ बजेट छ ।
देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा निर्माण हुने हाई अल्टिच्युट तालिम केन्द्रको काम पनि सुरु भएको छ । ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम थालिएको हो । ‘हामीले सबै योजनाको कामका लागि सम्बन्धित क्षेत्रका नागरिकलाई उपभोक्ता समिति गठन गरेर योजना सम्झौताका लागि आउन पत्राचार गरेका छौं’ अध्यक्ष परियारले भने ‘सम्झौता भएका योजनाको पहिलो किस्ताको रकम समेत भुक्तानी भएर काम सुरु भएको छ ।’ केन्द्र सरकारको बजेटबाट बन्ने संरचना निर्माणको काम थालेको समितिले प्रदेश सरकारले बनाएको ‘एक नगर एक रंगशाला र एक गाउँपालिका एक खेलकुद मैदान’को कामलाई समेत सँग–सँगै लैजाने जनाएको छ । प्रदेश सरकारले मागेबमोजिम गाउँपालिका तथा नगरपालिकाबाट रंगशाला र खेल मैदानको लागि योजना मागेर प्रदेश सरकार समक्ष पेश भैसकेको र एक दुई महिनाभित्रै काम सुरु गरिने अध्यक्ष परियारले बताए ।