आमा र शिशुको स्वास्थ्यमा सुधार

बागलुङ, १४ पुस – सुआहारा कार्यक्रम २ को सामुदायिक नक्सांकन सर्भेक्षण र सूचकको प्रस्तुतीकरण शुक्रबार सम्पन्न भएको छ । बालबालिका र आमाको स्वास्थ्यको लागि काम गरिरहेको सुआहाराले डेढ बर्षदेखि गरेको बिभिन्न तथ्यांकको प्रस्तुतीकरण गर्दै समुदायमा गरेका कामको समेत जानकारी गराएको हो । कार्यक्रममा सुआहारा कार्यक्रमका चिरन्जिवी दाहालले प्रस्तुतीकरण गर्दै सुआहार कार्यक्रम लागू भएपछि गर्भदेखि दुई बर्षको बालबालिका भएका आमाहरुको स्वास्थ्यमा सुधार आएको, नियमित स्वास्थ्य संस्था जान थालेको र पोषणयुक्त आहारा खाएको भेटिएको बताए । उनले कार्यक्रमको प्रस्तुतीकरण गर्दै स्थानीय साझेदार संस्था नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन मार्फत काम गरेको जानकारी गराए । साथै घरघरमा पुगेर आमाहरुको स्वास्थ्यको तथ्यांक संकलन गरेको उनको भनाई थियो । घरघरमा पुग्दा गर्भवती आमाहरुको लागि नियमित परीक्षणका लागि जान सम्झाउनका लागि मोबाईलबाटै सन्देश दिने व्यवस्था गरिएको पनि बताए । १ हजार दिनभित्र एक महिलाले स्वास्थ्य संस्था र आमासमूहको बैठक समेत गरी २७ पटकसम्म भेटघाट गरेको दृष्टान्त उनले सुनाएका थिए । यस्तो क्रियाकलापले महिला स्वास्थ्यमा सुधार भएको दाबी समेत गरिएको छ ।

त्यस्तै कुपोषण बिरुद्धको अभियान संचालन गरेको र कुपोषित बालबालिकालाई उपचारमा पठाएको पनि बताए । धौलागरी अञ्चल अस्पतालमा रहेको पोषण गृहमा लगेर १ सय ५४ बालबालिकाको उपचार भएको तथ्यांक प्रस्तुतीकरण गरिएको थियो । स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रममार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान समेत गरिएपछि उनीहरुलाई उपचार भएको बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए । ‘तौल र उचाईको अनुपात नमिलेको र पौष्टिक आहारा नपाएको खण्डमा बालबालिका कुपोषण भएर मर्ने सम्मको खतरा हुन्छ’ तिवारीले भने, ‘समयमै उपचार गराएर स्वस्थ्य बनाउन सकिन्छ ।’ बालबालिकाको स्वास्थ्य परीक्षणको क्रममा तीन समूहमा राखेर उपचार गरिने उनले बताए । सामान्य अवस्था भएकोलाई निलो, जोखिम तर्फ लागेकोलाई पहेलो र पूर्ण जोखिम बालबालिका लाई रातो रंगको समूहमा राखेर उपचार गरिने प्रावधान छ । अध्ययनबाट बागलुङ नगरपालिकामा ९ जना जोखिमका परेको देखिएको हो । गलकोट र ढोरपाटन नगरपालिकामा ३÷३ जना, जैमिनी नगरपालिकामा २ जना, निसीखोला गाउँपालिकामा ६ जना, तमानखोलामा ३ र बडिगाड गाउँपालिकामा २ जना कुपोषित देखिएको हो । ताराखोला र बरेङ गाउँपालिकामा कुपोषित बालबालिका नभेटिएको हो । गर्भदेखि जन्मेको दुई बर्षसम्म आमा र शिशुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्ने तथा आमाले पोषणयुक्त खाना खाएमा मात्र कुपोषणबाट बचाउन सकिने तिवारीको सुझाव छ । प्रस्तुतीको क्रममा अझै पनि ११ प्रतिशत बालबालिकाहरु नियमित बिद्यालय नगएको भेटाएको थियो ।

घरको आर्थिक अवस्था, खानपानको अवस्था र अभिभावकको कारणले पनि उनीहरुले शिक्षाको अवसर नपाएको बताइएको छ । त्यस्तै गाउँगाउँमा खुलेका बर्थिङ सेन्टरले नियमित स्वास्थ्य परीक्षणका लागि भने सहयोग पुगेको पाइएको हो । सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजरले घरघरमा पुगेर गर्भवतीदेखि १ हजार दिनभित्रका आमाको खोजी गर्दै उनीहरुको स्वास्थ्यका लागि काम गरिरहेका छन् । साथै उनीहरुको घरमा खानेपानीको अवस्था, साबुनपानीले हात धुने गरे नगरेको परीक्षण समेत गरेका थिए । शौचालय गएर हात धुने भने शतप्रतिशत पुगेको अध्ययनले देखाएको हो । आर्थिक अवस्था सुधार गर्न सुआहाराले कुखुरापालन, शौचालय निर्माण, तरकारीखेती लगायतमा सहयोग समेत गरेको छ । कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख बिष्णु भूसालले अध्ययनले राम्रो सफलता देखाएकोमा धन्यवाद दिंदै अझै काम गरेर देखाउन आग्रह पनि गरे । कार्यक्रममा स्थानीय तहका प्रमुख, कार्यालयप्रमुख र सरोकारवालाको सहभागिता थियो । कार्यक्रम क्षयकुष्ट सुपरभाईजर देवप्रकाश घिमिरेको संचालन र तथ्यांक सहायक घनश्याम सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।