वाइडबडी प्रकरणमा छानविन समितिले गर्यो मन्त्री अधिकारी र पूर्वमन्त्री सहित सचिवहरुलाई कारवाहीको सिफारिश

वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न सिफारिस गरेको छ ।

बागलुङ, १८ पुस – नेपाल वायु सेवा निगमले खरिदि गरेको वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिका एक सदस्यले दिएको जानकारी अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार पारिएको छ । समितिमा बहालवाला पर्यटनमन्त्रीलाई कारबाही सिफारिस गर्ने कि नगर्ने भन्ने विवाद देखिएको भएको थियो । मंगलवार राति अवेर सकिएको बैठकले मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा, पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई कारबाही गर्ने सिफारिस गरेको छ । तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरिउको ती सदस्यले बताए । राई हाल गृह मन्त्रालयका सचिव छन् । वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न सिफारिस गरेको छ । यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ । वायु सेवा निगमले ल्याएको दुई वटा बाइडवडीबारे अध्ययन गर्न लेखा समितिका राजेन्द्र केसीको नेतृत्वमा उपसमिति बनाएको थियो । उपसमितिको प्रतिवेदन बुधवार पेश हुनेछ ।