बागलुङ नगरको स्रेस्ता कमजोर

कमजोर स्रेस्ताकै कारण बेरुजु बढ्दै

बागलुङ, १९ पुस– सरकारी स्रेस्ता व्यवस्थित गर्न नसक्दा बागलुङ नगरपालिकामा आर्थिक हिसाब तथा योजना र विकासे काममा समेत अस्तव्यस्तता देखिएको छ । भएको खर्चको विवरण समेत सही ढंगले नराख्दा बेरुजु देखिएको वडा सदस्यहरुले बताए । से्रस्ता व्यवस्थापन नगरेकै कारण आर्थिक पारदर्शीतामा समेत समस्या भएको देखिएको हो । आन्तरिक लेखा परिक्षणको क्रममा भेटिएका त्रुटी सच्याउन सुझाव दिएपछि नगरपालिकाको व्यवस्थापन पक्ष कमजोर भएको पाइएको हो । गत आर्थिक बर्षको अन्त्यमा खर्च नभएको रकम समेत समयमा संघिय कोषमा फिर्ता नभएपछि संघिय सरकारबाट आउने अनुदान समेत आउन ढिलाई भएको थियो । गत बर्ष बागलुङ नगरपालिकाको झण्डै पाँच करोड रुपैयाँ संघिय संचित कोषमा फिर्ता गर्नुपर्नेमा आन्तरिक लेखा परीक्षकले औल्याएपछि मात्र दाखिला गरिएको भेटिएको छ । त्यस्ता त्रुटी सच्याउन लेखा समितिले पनि सुझाव दिएको छ ।
गत आर्थिक बर्षको लागि जेष्ठ नागरिक दिर्घ सेवा सम्मान, बहुक्षेत्रीय पोषण कार्यक्रम, गरिबसंग विश्वेश्वर कार्यक्रम तथा स्थानीय शासन तथा सामुदायक विकास कार्यक्रमको बजेट खर्च नभई फ्रिज भएको थियो । उक्त रकम सरकारी खातामा फिर्ता गर्नुपर्नेमा नगर्दा समयमा अनुदान रकम आएको थिएन । जनप्रतिनिधिले फ्रिज रकम आन्तरिक खातामा राख्न सुझाव दिएपछि कर्मचारीले पनि सोही अनुसार गरेका थिए । गत आ.ब.मै बैंक मौज्दात भनिएको ७ करोड ३७ लाख रुपैयाँको पनि हिसाब मिलान नभएको भेटिएपछि लेखा परीक्षणले उक्त त्रुटी सच्याउन सुझाव दिएको थियो । आन्तरिक लेखा परीक्षणपछि महालेखाको टोली डोर टु डोर आउँदा पनि धेरै त्रुटी सच्याउनु पर्ने सुझाव दिएको हो । नगरपालिकाले सरकारी खातामा दाखिला गर्नुपर्ने रकममध्ये सामाजिक सुरक्षातर्फ २ करोड ६१ लाख, शिक्षा कार्यक्रमको १ करोड ४१ लाख, स्वास्थ्य कार्यक्रमको ४२ लाख र आर्युवेद कार्यक्रमको १० लाख देखिएको हो । आयकर छुट भएको ४ लाख ७४ हजार, बैठक भत्ता भनेर लगेपनि अनुपस्थित सदस्यको १८ हजार ७ सय पनि फिर्ता गर्न ढिलाई गरेको थियो । सार्वजनिक खरिद नियमाबली २०६४ को नियम ८५ बिपरित ५ लाख रुपैयाँ भन्दा धेरै अंकका योजनामा एउटै व्यक्तिसंग पटकपटक सामान खरिद गरिएको र बोलकबोल बिना भुक्तानी दिएको पनि परीक्षणबाट खुलेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले चालु बर्ष केही बेरुजु घटाउनै नीति बनाएको बताए । ‘काम गर्दा भएका त्रुटीहरु सच्याएर जाने र बेरुजु घटाउने भनेका छौं’ उनले भने, ‘अहिले डोर टोली आएकोले सबै बीलभरपाई र कागजात खोज्ने काम भैरहेको छ ।’ सबै काममा के कति खर्च भयो भन्ने भन्दापनि प्रकृया पुगेको नपुगेको खोजी गरिने उनले बताए । कार्यालयले आन्तरिक आए खाताको आर्थिक श्रेस्ताहरु नराखेकोले उक्त श्रेष्ताहरु तयार गरी मासिक रुपमा बैंक स्टेटमेन्टसँग हिसाब भिडान गरी श्रेष्ता राख्नुपर्ने सुझाव दिइएको छ ।
आ.व.०७४÷७५ मा बागलुङ नगरपालिकाबाट मालपोत रसिद १५६ वटा ठेली जारी गएिकोमा १५० वटा ठेली प्रयोग गरिएको र बाँकी रसिदहरुको कूल रकम ४ लाख ८१ हजार ५ सय २७ रुपैयाँमध्ये पुरै बैंकमा दाखिला नभएको भेटिएको हो । स्रेस्तामा समस्या देखिएकोले करोडौै रुपैयाँ बेरुजु भएको समेत पाइएको हो । कार्यलयमा सन्चालित सवारी साधनहरुको इन्धन खर्च लेख्दा सवारी लगबुक भरी सम्बन्धित व्यक्तिको सहीछाप गराई राख्नुपर्नेमा नगरेको, कार्यलयबाट विभिन्न मितिमा बैठक भत्ता भनि खर्च भुक्तानी गर्दा उपस्थिति र निर्णय संलग्न नगर्दा खर्च पारदर्शी नभएको परीक्षकको ठहर छ ।