सामुदायीक स्वास्थ्य इकाईलाई औषधि खरिद गर्न अक्षयकोष

लक्षभन्दा धेरै चन्दा संकलन

बागलुङ, १९ पुस– जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायीक स्वास्थ्य इकाईले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै १२ लाख रुपैयाँ संकलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्ने र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि इकाईले सहयोग अभियान सञ्चालन गरेको हो । गत असोज महिनामा स्थापना भएको सामुदायीक स्वास्थ्य इकाईले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने गरी अक्षयकोष स्थापना गर्न लागेको हो ।
लोप हुने अवस्थामा पुगेको स्थानीय सोरठी नाचको प्रदर्शन र स्वस्फुर्त चन्दा दानको माध्यामबाट सहयोग जुटाउने काम चलिरहेको छ । इकाईले सञ्चालन गरेको अभियानमा हालसम्म ११ लाख ७० हजार रुपैयाँ रकम संकलन भएको इकाई प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए । ‘हामीले स्थानीय सोरठी समुहसँग सहकार्य गरेर बेसीजनमा देउँसी भैलो खेलिरहेका छौं’ भण्डारीले भने ‘देउसीमा दान गर्ने र इकाईलाई माया गर्ने सबैको सहयोगले हाम्रो लक्ष्यभन्दा धेरै रकम संकलन भएको हो ।’ ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ सुरु गरिएको अभियानमा झण्डै एक सय जनाले सहयोग गरेका छन् । स्थानीयले ५ हजारदेखी ६० हजारसम्म सहयोग गरिरहेको भण्डारीले जानकारी दिए ।
सहयोगकै भरमा स्वास्थ्य इकाईलाई आवश्यक सामग्रीको जोहो गरेर इकाई सञ्चालनमा आएको थियो । गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य इकाईको लागि एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगी काममा खटाईएको छ । सामुदायीक स्वास्थ्य इकाईको लागि गाउँपालिकाले उपलव्ध गराएका औषधिहरु प्राप्त नहुने भएकाले औषधिको व्यवस्था गर्न र कार्यालय व्यवस्थापन तथा उपचार सामग्रीको व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न लागिएको भण्डारीले जानकारी दिए । ‘इकाईमा आउने सबै औषधि बच्चाका लागि दिन नमिल्ने खालका हुन्छन्’ भण्डारीले भने ‘इकाईले दिन मिल्ने सबैखाले औषधि कसैलाई किन्न नपरोस् भनेर अभियान थालेका हौं ।’ अक्षयकोष स्थापना अभियानका लागि गाउँलेले खुलेर सहयोग गरेका छन् ।
स्वास्थ्य इकाईले सञ्चालन गरेको अभियानले गाउँलेलाई सहयोग पुग्ने भएकाले आँफुहरुले खुलेर सहयोग अभियान चलाएको स्थानीय खुम बहादुर भण्डारीले बताए । ‘इकाई स्थापना हुनुपुर्व सामान्य स्वास्थ्य सेवा लिनको लागि समेत घण्टौं हिँड्नुपर्ने बाध्यता थियो’ भण्डारीले भने ‘गाउँमै स्थापना भएको इकाईलाई सबल बनाउनका लागि हामीले दिल फुकाएका छौं ।’ अक्षयकोषका लागि व्यक्तिगत सहयोगका अलावा सामाजिक संस्थाहरुले समेत सहयोग गरेको इकाईले जनाएको छ । सहयोग अभियान जारी रहेकाले १५ लाखसम्म सहयोग उठ्ने अनुमान गरिएको छ ।
सहयोग बापत उठेको रकमलाई कार्यबिधि बनाएर परिचालन गर्ने र त्यसबाट आएको व्याज रकमले इकाईका लागि आवश्यक औषधि, कार्यालयको व्यवस्थापन र उपचार सामग्रीको व्यवस्थापन गरिने छ । स्थापना भएको चार महिनाको अबधिमा १ हजार ३ सय २३ जना बिरामीको उपचार गरेको इकाईले प्रसुती र खोप सेवाबाहेकका स्वास्थ्य चौकीले उपलव्ध गराउने सबै सेवा उपलव्ध गराउँदै आएको छ । प्रत्येक महिना आँखा, दाँत, तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको इकाईमा काठेखोलाका बिभिन्न वडाबाट बिरामी आउने गरेको प्रमुख भण्डारीले जानकारी दिए ।