मास हिस्टेरियाको बढ्दो आतंक र जानकारी

हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर संवेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने रोग हो । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो, सामान्य प्रभाव परेको अवस्थामा कुनै किसिम को ज्यान हानी हुँदैन त्यसैले आत्तिनु आवस्यक छैन । हिस्टेरिया भन्ने शब्दलाई मनोरोग विशेषज्ञले पटक्कै प्रयोग मा ल्याउन चाहदैनन् ।
हाम्रो परम्परागत समाजमा ब्याप्त हिस्टेरियाको गलत बुझाइले गर्दा रोगीमा हिस्टेरिया शब्दको प्रयोग गर्दा बिरामी झनै बढी प्रभावित हुनसक्छ, त्यसैले यसमा सावधानी अपनाउनुपर्छ, तसर्थ आजभोलि डिस्सोसियटिभ डिस्अर्डर भनिन्छ । हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हेरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनजन्य क्रियाकलापसंग कुनै सोझो सम्बन्ध नभएको तर मानसिक तनावसँग सम्बन्धित भएको देखाएको छ ।
किन हुन्छ हिस्टेरिया ?
अनुसन्धानका अनुसार तनावका कारण हुन्छ । तनावको प्रकार जस्तो पनि हुन सक्छ । पढाइलेखाइको तनाव । पारिवारिक तनाब । नाता सम्बन्धको तनाव, आर्थिक तथा सामाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहुँदाको तनाव, इज्जत प्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याहरूले तनाव, आत्मा ग्लानिताको तनाव, संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव ।
लक्षणः हिस्टेरिया भयो भने बेहोस हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झमझमाउने र लाटो हुने । घाँटीमा डल्लो अड्केको महसुस हुने । वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हातखुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । – बर्बरीउने, चिडिडउने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ ।
लक्षणहरू विभिन्न जातजाति, समुदाय र धर्मावलम्बी बीच फरक–फरक हुन सक्छन् ।कारणः हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनाबबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ । यो बुझाइ एकदमै गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।
साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । नोचिकित्सकले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।
महिलालाई किन बढी ?
महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् । उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ । किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो । किशोरी परिवार र समाजबाट बढी नियन्त्रण हुनु । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता । महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु । पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ ।
हिस्टेरिया र अन्य मनोरोगः हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाब बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुन सक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हुन सक्छन् । आफैँ तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायताबिना ठिक हुन कठिन हुन्छ ।
हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरू जस्तैः ‘डिप्रेसन, आत्तिने रोग’ उत्पन्न हुन सक्छ । अन्धविश्वास, कुरीति, चेतनाको कमी नै अविकसित देशमा हिस्टेरियाको प्रमुख कारण र उपचारमा ढिलाई हुने मुख्य कारणमध्ये एक हो । देवीदेवता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतमाथिको अन्धविश्वासले यो रोग लाग्नमात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ । अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरू देखिएको खण्डमा विवाहले हिस्टेरिया ठिक गर्छ भन्ने गलत धारणा कायमै छ ।
विवाहले कसैकसैलाई तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठिक पारेको हुन सक्छ, यो एकादुई अपबाद हो । तर कतिपय महिला तथा पुरूषलाई हिस्टेरिया विवाह भएपछि उत्पन्न हुन्छ । अझै भन्नपर्दा कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ । बुझ्नुपर्ने कुरा विवाहले होइन तनाबको निदानले नै हिस्टेरिया ठिक हुन्छ । हिस्टेरियाको उपचारमा एकदमै साम्यता र सावधानिता आवश्यक छ ।
उपचारः हिस्टेरिया पूर्णतया मनको खेल भनौ मनको गहिरो खाडल हो, मनको अवचेतन हो । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग ब्यक्तीको मानसिकताले म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । जनाउ धन्टी जस्तै हो । यस कुरालाई परिवार, साथी समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।
यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिको प्रयोगले हिस्टेरियाका केही लक्षणलाई क्षणिक रूपमा शान्त हुन्छन् तर सँधैको लागि भने पटक्कै होइन । तनाबको निदान नभए हिस्टेरियाका लक्षण फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिद्वारा पहिचान तथा निदान सम्भव छ ।
हिस्टेरियाको उपचार माइन्डबडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी ‘सीबीटी’, इएफटी तथा योग, ध्यान, प्राणायाम जस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ । हिस्टेरियाको अर्को एक महत्वपुर्ण भुमिका भनेको घरमा धरको सबैभन्दा ठुलो सदस्य, बिद्यालयमा प्रधानाध्यापक, तालिम केन्द्रमा प्रमुख प्रशिक्षक र कक्षामा भय समकक्षिक सहपाठी साथिहरूको हौसला, सहास, आढस र बिनम्रता नै उपचार तथा समाधानको मुख्य माध्यम हो ।