बाङ्गेचौर खेल मैदानमा ५४० दर्शक क्षमताको प्याराफिट निर्माण हुँदै

१६ लाखको लगानीमा प्याराफिट निर्माण हुँदै

बागलुङ, २१ पुस – बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा प्यारापिट निर्माण शुरु भएको छ । फलामबाट बन्ने प्यारापिट ५४० दर्शक क्षमताको हुनेछ । रु १६ लाख खर्चेर जिल्ला फुटबल संघ बागलुङले प्याराफिट बनाउन लागेको हो । प्यारापिटसँगै ३० जना बस्न मिल्ने मञ्च पनि बनाइने सङ्घले जनाएको छ । ३० मिटर लम्बाइ, ६ मिटर चौडाइ र ६ फिट उचाइको प्यारापिट ३ तहको हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रु १० लाख उपलब्ध गराएको छ । रु छ लाख अन्यत्रबाट सहयोग जुटाउने जिल्ला संघले जनाएको छ । ‘‘एक महीनाभित्रै काम सक्ने लक्ष्य छ । हामी आफैँ पनि खटिएका छौँ ’’ संघका अध्यक्ष रामराज गुरुङले भने ।

प्यारापिट नहुँदा फुटबललगायतका प्रतियोगिता कि भूइँमा बसेर कि उभिएर हेर्न दर्शक बाध्य थिए । एन्फाले पूर्वाधार निर्माणमा छुट्टाएको बजेट प्यारापिटमा खर्च गरिएको संघका अध्यक्ष गुरुङको भनाइ छ । प्यारापिट बनेपछि प्रतियोगिता व्यावसायिक हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष सूर्य लामिछानेले बताए । ठूला प्रतियोगिता हुँदा टिकटमा दर्शक राख्न सकिने सङ्घले जनाएको छ । प्यारापिट बनेपछि दर्शकले सहज रुपमा फुटबलको मज्जा लिन पाउनेछन् । दर्शकको सुविधालाई ध्यानमा राखेर प्यारापिट बन्न लागेपछि खेलप्रेमी खुशी छन् । बाङ्गेचौर सदरमुकाममा रहेको एकमात्र खेल मैदान हो ।

फुटबल खेलको लागि मापदण्डयुक्त जिल्लाकै एकमात्र खेल मैदान भएका कारण बाङ्गेचौरको विकासमा सबैको चासो छ । गण्डकी प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता गत माघमा बाङ्गेचौरमै भएको थियो । यो वर्ष पनि प्रतियोगिता सञ्चालनको तयारी छ । जिल्ला खेलकूद विकास समितिले दुई वर्षअघि मैदान सम्याउने र तारबारको काम गरेको थियो । राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गर्न समिति र बागलुङ नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी अघि बढाएका छन् ।