अमेरिकी राष्ट्रपति ट्रम्पले दिए संकटकाल लगाउने धम्की

ट्रम्पले पर्खाल लगाउन चाहिने कोषका लागि भन्दै ५ अर्ब डलरभन्दा बढी अमेरिकी डलर छुट्याउन प्रस्ताव गर्दै आएका छन्।

बागलुङ, २१ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नभए अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पले पहिलेदेखि कोष स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्। पर्खाल लगाउनको लागि कोष स्थापना गर्न डेमोक्रेट्स विधायकहरू तयार नभएपछि ट्रम्पले शुक्रबार यस्तो चेतावनी दिएका हुन्। ‘हो मैले भनेँ’, ट्रम्पले पत्रकारहरूसँग भने, ‘यस्तो होला जस्तो लाग्दैन मलाई। तर मैले तयारीचाहिँ गरेको छु।’ ट्रम्पले गरेका वाचामध्ये एक महत्वाकांक्षी योजनाको रूपमा मेक्सिकोको सीमामा पर्खाल लगाउने पनि एक हो।

यो योजनालाई डेमोक्र्याट विधायकले साथ दिएका छैनन्। ट्रम्पले पर्खाल लगाउन चाहिने कोषका लागि भन्दै ५ अर्ब डलरभन्दा बढी अमेरिकी डलर छुट्याउन प्रस्ताव गर्दै आएका छन्। सीमा पर्खालका निम्ति कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले स्पष्ट पारेका छन्। मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ। गत डिसेम्बर २२ तारिखदेखि ८ लाख संघीय कर्मचारीले तलब पाएका छैनन्। सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि आफ्नै निकटस्थबाट आलोचित बनेका अमेरिकी राष्ट्रपतिलाई पछिल्लो तयारीले झनै दबाव सिर्जना गरेको छ। एजेन्सी