मगर संघ गण्डकी प्रदेशको अधिवेशन शुरु

अधिवेसनले ५५ सदस्यीय प्रदेश समिति गठन गर्ने

बागलुङ, २८ पुस – नेपाल मगर संघ गण्डकी (तमुवान, मगराँत गण्डक) प्रदेशको प्रथम अधिवेसन शुक्रबारदेखि बागलुङ बजारमा शुरु भएको छ । अधिवेशनको बिशेष समारोहका बीच नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले उद्घाटन गरे । मगर समुदायका परम्परागत भेषभुषा र झाँकीसहित बजार परिक्रमा पश्चात गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोकाले मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापित र क्रियाशिल नभएको बताए । मगर संघ सबै उत्पीडित समुदायको अधिकारका लागि संर्घषरत रहेको र आगामी दिनमा पनि उत्पिडित समुदायको पक्षमा निरन्तर लडिरहने उद्घोष गरे । ‘मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापना भएको संस्था होईन, हामी मूलधारमा नसमेटिएका सबै वर्ग र जातिको मुद्दाका लागि लड्छौं,’ उनले भने, हामीले आफ्नो अधिकार माग्दै गर्दा अरुको अधिकार खोसेर देउ भनेका छैनौं ।’ सरकारले कसैलाई बढि काखी च्याप्ने र कसैलाई हेप्ने गरेका कारण नै अहिलेको अवस्था सिर्जना भएको उनले बताए । ‘हामी न्यायोचित समाज निर्माणको पक्षमा छौं, हामीले आफनो अधिकारको खोजी गर्दै गर्दा जातिय सद्भाव खलबल्याउने काम भयो भन्ने आरोप पनि लाग्ने गरेको छ,’ उनले भने, ‘हामीले कसैलाई नदेउ भनेका छैनौं आफ्नो भागको अधिकार खोज्दा कसरी सद्भाव खलबलियो ?’ नेपालमा रहेका सबै वर्ग समुदायलाई समान राजनीतिक अधिकार र अपनत्वको महसुस गराएको भए मगर संघको जन्म नै नहुने उनको भनाई छ । 

नेपाल एकीकरणको नाममा विभिन्न राज्य सञ्चालन गरेर बसेका आदिबासी जनजातिहरुको राज्य खोसिएरबाटै उनीहरुको भाषा संस्कार र संस्कृति मेटाउने काम भएको उनले आरोप समेत लगाए । ‘पुुस २७ गते पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रुपमा व्याख्या गर्ने गरिएको छ, हामीले उनको योगदानको अबमूल्यन गर्न खोजेका होईनौं,’ अध्यक्ष रोकाले भने, ‘तर राज्य एकीकरणको नाममा भएको आदिबासी जनजाति माथिको नरसंहार र त्यसपछिको भाषा संस्कार माथिको आक्रमण मगर समुदायले भुल्न सक्दैन, आदिवासी जनजाति समुदायले भुल्न सक्दैन ।’ पृथ्वीनारायण शाहले भूगोल एकीकरण गरेपनि भावना एकीकरण गर्न नसकेको उनको जिकीर थियो । नेपालको विविधता यहाँको सौन्दर्यता भए पनि यहाँका शासकहरुले त्यसलाई बोझको रुपमा लिँदा समस्या पैदा भएको उनले बताए । नेपाल मगर संघका पूर्वअध्यक्ष एवं संरक्षक झकबहादुर थापाले नाम मात्रको संघियताले नेपालको मगर तथा आदिवासी जनजातिलाई झन् पीडित बनाएको बताए । संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक महेन्द्र थापा मगरल बन्दुक बोक्नु मात्र लडाँई नभएको भन्दै अहिले पनि राजनीतिक अधिकार प्राप्तीको लडाँईमा रहेकाले अधिकारको आन्दोलन नसकिएसम्म निरन्तर गोलबद्ध हुन आग्रह गरे । बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले राजनीतिक परिवर्तनको लागि मगर समुदायले खेलेको ईमान्दार भूमिका प्रशंसनीय भएको बताए । ‘मोर्चामा अगाडी लगाउने र अवसरमा पछि पार्ने गरिएको मगर समुदायको तपाईहरुको गुनासो छ,’ उनले भने, ‘अलिकति विभेद भए जस्तो पनि देखिन्छ, हामी सामाजिक सामाजिक एकता कायम गरेर अगाडी बढ्नुपर्छ ।’ कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्षद्वय दलबहादर विरकट्टा मगर, गंगा खासु मगर, नेकपा बागलुङका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य यामबहादुर घर्ती, राप्रपा नेपालका उपाध्यक्ष नविनचन्द्र सर्वुजा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले राज्यले सबै जातजाति र भाषाभाषीलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिएका थिए ।

शुक्रबार सुरु भएको अधिवेसनले ५५ सदस्यीय प्रदेश समिति गठन गर्ने नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापा मगरले जानकारी दिए । अधिवेसनमा १० जिल्लाका ७४ स्थानीय तहबाट करिब तीन सय प्रतिनिधि सहभागी छन् । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने बताइएको छ । कार्यक्रम सञ्चालन मगर संघ प्रदेश सचिव पूर्णबहादुर रानाले गरेका थिए । अधिवेसन शनिबार सकिनेछ ।