नेपाल मगर संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका सिद्धान्त गर्जामगर निर्वाचित

बागलुङ, ३० पुस – नेपाल मगर संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका सिद्धान्त गर्जामगर निर्वाचित भएका छन् । शुक्रवार देखि संचालित प्रदेश सम्मेलनले मगरकै अध्यक्षतामा ३५ सदस्य रहेको कार्यसमिति चयन समेत गरेको छ । समितिको प्रथम उपाध्यक्षमा बागलुङका गणेशबहादुर थापामगर, द्वितिय उपाध्यक्षमा हेमबहादुर बुढामगर सचिवमा पर्वतका बिष्णुबहादुर रानामगर चयन भएका छन् । सचिवमा स्याङजाका हेमन्त थापामगर, म्याग्दीका राजकुमार थापामगर र नवलपुरकी देवीसरा पुलामीमगर चयन भए । महिला सचिवमा नवलपुरकै तारामाया थापामगर र कोषाध्यक्षमा नवलपुरकै तुलबहादुर सुनारीमगर तथा सहकोषाध्यक्षमा गोरखाका मोहन थापामगर चयन भएका हुन् ।
आइतवार पत्रकार सम्मेलन गरेर संघले सम्मेलनको ११ बुँधे घोषणापत्र समेत सार्वजनिक गरेको हो । सम्मेलनले नेपालको संविधान २०७२ले पहिचान सहितको ११ प्रदेशलाई घटाएर ७ प्रदेश बनाएकोमा असहमति जनाएको हो । वर्तमान संघियतालाई सम्मान गर्दै असहमति पनि कायम राख्ने निर्णय गरेको गर्जामगरले बताए । त्यस्तै जहाँ मगर त्यहाँ मगरसँग, जहाँ मगर संघ त्यहाँ मगरात स्वायत्त शासन भन्ने नारालाई स्थापित गर्ने योजना बनाएको पनि बताइएको छ । सम्मेलनले समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थालाई अक्षरस पालना गर्न सरकारलाई दवाव दिने, फागुन २ गतेलाई लखन थापाको स्मृति दिवशको रुपमा शहिद दिवश मनाउनुपर्ने, मगरका सास्कृतिक पर्वलाई सार्वजनिक बिदा घोषणा गर्नुपर्ने लगायतका एजेण्डा पास गरेको हो । पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष गणेशबहादुर थापामगर र केन्द्रीय सदस्य जोकलाल बुढा मगरले पत्रकारका प्रश्नको जवाफ दिएका थिए । समावेशी प्रतिनिधित्वलाई राजनीतिक क्षेत्रमा मात्र नभएर तीनतहकै सरकार र सरकार मातहतका निकायमा समेत लागू गर्नुपर्ने समेत बताइएको थियो ।