जैमिनी महोत्सवमा प्रर्दशनीमा आर्कषण

बागलुङ, ३० पुस – जैमिनी नगरपालिका–१ कुश्मीशेराको एक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेका रविन शर्मा कुश्मीशेरामा जारी प्रथम जैमिनी महोत्सवको अवलोकनका लागि पुगे । महोत्सवमा आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा भन्दा पहिले उनका आँखा त्यहाँ आयोजित कृषि तथा पशु प्रदर्शनीमा पुग्यो । महोत्सव स्थलको अग्रभागमै रहेका स्टलमा रहेको शैक्षिक र कृषि प्रदर्शनीमा राखिएको छ । कृषि प्रदर्शनीमा राखिएको एक सय किलोग्रामको बोका महोत्सवमा पुग्ने सबै दर्शकको आँखामा पर्ने गरेको छ । जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका देवी प्रसाद सुवेदीले उत्पादन गरेको जमुनापारी जातको बोका सबैको नजरमा परेको हो । प्रदर्शनी हेर्न पुगेकाहरुले बोका देखेर आँफुहरुले पनि यस्तै उत्पादन गर्ने इच्छा जाहेर गर्ने गरेका छन् । स–साना विद्यार्थीदेखी पाका उमेरका नागरिकसम्मले प्रदर्शनीमा पुगेर सबै उत्पादनको अवलोकन गरेका छन् ।

महोत्सवमा आयोजना गरिएको कृषि प्रदर्शनी पनि पहिलोनै भएकाले सबैको ध्यान तानेको आयोजक संस्था सहारा क्लब कुश्मीशेराका सचिव दिलिप थापाले बताए । शैक्षिक प्रदर्शनी हेरेर केही सिक्ने भन्दै महोत्सव स्थलमा पुगेका विद्यार्थीहरुले पनि चासोका साथ कृषि प्रदर्शनी अवलोकन गरेको प्रदर्शनी संयोजक अर्जुन प्रसाद श्रेष्ठले बताए । महोत्सवको पहिलो दिनदेखी सुरु भएका कृषि प्रदर्शनीमा तरकारीबाली, नगदवाली, फलफुल बाली र पशुधन प्रदर्शनीमा राखिएको छ । स्टलमा राखिएका मनमोहक तरकारीका परिकार, फलफुल खसि कुखुरा लगायतले सबै दर्शकको मन तानेको श्रेष्ठले बताए । प्रदर्शनीमा राखिएका सबै उपजको प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ‘हामीले दिएको सानो पुरस्कारका लागि भन्दा पनि किसानले कृषिजन्य उत्पादनको बजारीकरणका लागि प्रदर्शनमा सहभागी हुनुभएको छ’ सचिव थापाले भने ‘कृषि प्रदर्शनीमा देखिएको उत्साहले हामीलाई सन्तुष्ट बनाएको छ ।’ महोत्सवमा खेलकुद तथा सांकृतिक कार्यक्रमका प्रतियोगिताहरु
चलिरहेका छन् । मेयरकप भलिवल प्रतियोगिता र दोहोरीका पहिलो चरण चलिरहेको छ ।