शालीग्राम संग्रालय र पर्यटन

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेमा शालीग्राम संग्रालय निर्माण हुन थालेपछि ह्वात्तै चर्चामा आएको छ । ऋषि स्वामी प्रपान्नाचार्यले बागलुङ नगरपालिका–४ कुँडुलेमा शालीग्राम संग्रालय बनाउन शुरूवात गरेपछि कुँडुले धार्मिक पर्यटक तान्ने आकर्षित गन्तव्य बन्ने निश्चित छ । धौलागिरी संचार क्लब बागलुङले आयोजना गरेको १३ औं समसामयिक साक्षात्कार कार्यक्रममा स्वामी प्रपन्नाचार्यले नेपालकै एकमात्र पबित्र नदी कालीगण्डकीमा मात्रै पाइने शालीग्राम लोप हुँदै गइरहेको समयमा यसको संकलन गरेर नेपालकै नमुना संग्रहालय बनाउनु चुनौतीको काम भएपनि यसले धेरै कुरामा प्रभाव पार्ने देखिएको छ । हिन्दुहरूले पबित्र रूपमा भगवान मानेर पुजा गर्ने शालीग्रामको आफ्नै मूल्य र मान्यता रहेको छ । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड’ भनेझै शालीग्राम पनि जान्ने र चिन्नेलाई पबित्र बस्तु नचिन्नेलाई बगरमा फालिएको ढुङ्गा नै हो भन्ने कुरा यहाँ भनिरहन आबश्यक छ जस्तो लाग्दैन ।
अहिले जताततै खुलेका क्रसर उद्योगका कारण हाम्रो पबित्र शालीग्राम लोप हुँदै गइरहेको छ, यसलाई हामीले संरक्षण गर्न जरुरी भएको स्वामीको भनाई समय सान्दर्भिक छ । साँच्चै यतिबेला हामीले आधुनिक हुने नाममा आफ्नो भएको संस्कृति र परम्परा सबै भुल्दै बिर्सदै गइरहेका छौ । ढिलो भए पनि राम्रो कामको शुरूवात भएको छ बागलुङमा । शालीग्राम संग्रालय बनाउन त्यति सजिलो अबश्य छैन तर यसलाई राम्रो बनाउन सक्यौं भने बागलुङ जिल्लामा दैनिकी रूपमा हजारौं धार्मिक पर्यटन भित्र्राउन सकिनेछ । यसले जिल्लालाई सामाजिक रूपमा फाइदा पुग्ने छ । धार्मिक रूपमा फाइदा पुग्ने छ र अर्कोतर्फ आर्थिक रूपमा फाइदा पुग्नेछ । अहिले हामीकहाँ भएको शालीग्राम चोरी भएर बिदेशिने क्रम पनि बढेको छ । धार्मिक पुराणमा भनेअनुसार शालीग्रामको आफ्नै महत्व छ, यसले हामीलाई धेरै कुरामा फाइदा पुर्याउँछ । यो हाम्रो इतिहास बोकेको पहिचान हो, शालीग्रामलाई हामीले जोगाउनु पर्छ भन्ने जुन जागरण ल्याउने काम भएको छ, यसलाई सबैले प्रशंसा गर्न जरुरी छ । ४ करोडभन्दा बढी रकम सकेर सुरूङ बनाएर, सुरूङभित्र शालीग्राम संग्रालय बनाउने काम तीब्र गतिमा अगाडि बढिरहेको छ । यसले धार्मिक पर्यटनको क्षेत्रमा समेत महत्वपूर्ण भुमिका खेल्ने निश्चित छ । अहिले बागलुङको कुँडुलेमा जुन अभियान शुरूवात भएको छ यसले नयाँ तरङ्ग भने ल्याउने काम गरेको छ ।

भन्न जति सजिलो छ, काम गर्न धेरै गाह्रो छ । आज बागलुङ जिल्लामा एक जना जोगीले जुन साहस गर्नुभएको छ, त्यसको लागि सबैले एकपटक ऋषि स्वामीको अभियानलाई स्यालुट ठोक्नै पर्छ भन्ने लाग्छ । शालीग्राम संग्रालय बनाउनु त्यसमा पनि पहाड खनेर सुरूङ बनाई त्यहीँ सुरूङभित्र बहुमुल्य शालीग्राम संग्रालय बनाउने जुन परिकल्पना भएको छ, यसले एकपटक नेपालका हिन्दूहरूको मात्रै हैन सारा बिश्वका हिन्दू जातीको ध्यानाकर्षण गराउने मात्रै छैन यहाँ अध्ययन अवलोकनको लागि समेत एउटा केन्द्र बन्ने निश्चित छ । आफ्नो ठाउँ जगाउने होभने पुरानो संस्कृतिलाई जोगाउने अभियान पनि नयाँ ढंगले गर्ने सोच बनाउनुपर्छ । जुन सोच ऋषि स्वामीले बनाउनु भएको छ । अहिले एक किसिमको लहरै आएको छ, यसलाई यहाँका सबैले यो मेरो अभियान हो भनेर साथ दिनमात्र सक्यौं भने पुग्छ । सकारात्मक सोच सबैले बनाउने होभने यहाँ काम गर्न कुनै समस्या भने देखिदैन । जुन कामको शुरूवात गरिएको छ साच्चै भन्ने होभने यो काम सरकारले गर्नुपर्ने काम हो । यस्तो काम कुरामा सरकारले ध्यान पु¥याउन सकेको छैन यो दुखको कुरा हो । तर जेहोस एक जना स्वामीले भए पनि यसलाई संरक्षण गर्ने अभियान ल्याउनु सकारात्मक सोच नै हो । हामी सबैले साथ र समर्थन गरेर सफल पारौ, यसले बागलुङको महत्व झन् बढेर जानेछ । बागलुङ धार्मिक पर्यटनको लागि राम्रो गन्तव्य हुनेछ । कालिका भगवती मन्दिरमा दिनहुँ सयौं मान्छेहरू पुजा गर्न अध्ययन अबलोकन गर्न आइरहेका छन् भोलि यो संख्या बढेर दैनिक हजारौं पुग्ने निश्चित छ । यसलाई हामीले ब्यबस्थापन राम्रो गर्न सक्नुपर्छ, यहाँ घुम्न आउने पर्यटकलाई खाने बस्ने ब्यबस्था राम्रो छ भन्ने सन्देश पनि संगसंगै दिन सक्नुपर्छ ।

बागलुङको पन्चकोटमा निर्माण हुँदै गरेको १०८ फिट अग्लो बिश्व शान्ति कलशको लागि डिपिआर तयार भइसकेको हुँदा अब काम अगाडि बढ्ने लक्षण देखिएको छ । बागलुङको पन्चकोटमा दैनिक सयौं पर्यटक आएर अध्ययन अबलोकन गर्ने गरिरहेका छन् । बागलुङको कालिका भगवती, पन्चकोट अनि कुँडुले धार्मिक पर्यटनको राम्रो गन्तव्य हुने कुरामा कुनै शंका छैन । बागलुङ प्रबेश गरेपछि नेपालकै प्रसिद्व धार्मिक पर्यटनको केन्द्र कालिका भगवती माताको दर्शनपछि बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेमा रहेको कलात्मक मन्दिर संस्कृत पाठशाला साथै शालीग्राम संग्रालय अबलोकनपछि बानपा–७ मा रहेको अर्को आकर्षणको केन्द्र सर्बसिद्वीधाम पन्चकोटमा हजारौं हजार धार्मिक पर्यटक भित्र्राउन सबैले सकारात्मक पहल गर्न सकिन्छ । अहिलेको बजार भनेको धार्मिक पर्यटननै हो, यसलाई यहाँ ल्याउने सबै खालको पुर्वाधार तयार गर्न सक्यौं भने हामीले यहाँ आउने पर्यटकबाटै राम्रो आम्दानी गर्न सकिन्छ । सयौं जनाले यहीँ रोजगारी पाउने छन् । साँच्चै भन्ने होभने आर्थिक समृद्धि यहीँ शुरू गर्न सहज हुनेछ ।
हुनतः हिन्दु धर्म मान्ने हामी नेपालीहरूले घर–घरका पुजा कोठामा भगवान बिष्णुको प्रतीकको रूपमा पुजिने शालीग्राम राखेका छौ, त्यसको पुजा पनि गर्ने गरेका छौ । साँच्चै केही बर्षदेखि हामीले हामीसंग भएको बहुमुल्य शालीग्रामको महत्वलाई भुल्दै गइरहेका छौ । अहिले मुलुकमा नयाँ संविधान बनेपछि देश धर्म निरपेक्ष मुलुकमा अहिले देशमा हिन्दू धर्म मान्ने गरिब तथा न्युन आए भएका मान्छेलाई धर्म परिवर्तन गराउने खेल समेत चलिरहेको बेला ढिलै भएपनि नेपाली संस्कृतिको प्रतीक मानिने शालीग्रामको संरक्षण गर्न संग्रालय बनाउने अभियानलाई सबैले तनमन र धनले सहयोग गरेर सफल पारौ । बागलुङबासीलाई यसले ठुलो फाइदा पु¥याउने छ ।