छाउगोठको कहर

देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण जाजरकोटका अधिकांश घरका महिला महिनावारी हुँदा छाउ बार्ने गरेको पाइएको छ । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने प्रचलनका कारण धेरै महिलाको ज्यान समेत गएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा छाउगोठमा बस्ने प्रचलन अशिक्षित मात्रै होइन शिक्षित वर्गमा पनि व्याप्त रहेको छ । छाउगोठ बस्दा चिसोले समस्या हुने मात्रै होइन सर्पले टोकेर समेत कतिपय महिलाले अकालमा ज्यान समेत गुमाउन पुगेका घटना भएका छन् । केही समयअघि छाउगोठमा निसास्सिएर दुई बालक छोरासहित आमाको मृत्यु भएको थियो । महिनावारी महिलाको प्रजनन स्वास्थ्यमा हुने एक सामान्य प्रक्रिया हो, यसलाई अशुभ मान्ने प्रचलनका कारण महिला तथा बालबालिकाको ज्यान जाँदा छाउगोठ हटाउन नसक्नु लज्जाको विषय हो ।

देउती रिसाउँछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने प्रचलन जबसम्म हटाउन सकिदैन तबसम्म महिला तथा बालबालिकाहरु सुरक्षित जीवनयापन गर्न पाउँदैनन् । पुरुषमा रहेको असामाजिक चेतनालाई सबैभन्दा पहिला निर्मुल पार्न जरुरी छ । जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा बताउँछन् । आफ्नो गाउँठाउँलाई परिवर्तनको दिशातिर उन्मुख गराउने प्रतिवद्वता जनाएका जनप्रतिनिधिले छाउगोठमा बस्नुपर्ने बाध्यतात्मक अवस्था हटाउन नसक्नु लोकलाजको विषय हो । जबसम्म शिक्षित वर्ग र जनप्रतिनिधिहरुले छाउगोठमा बस्ने कुप्रथालाई हटाउन सचेतना भूमिका खेल्न सक्दैनन् तबसम्म मानव विकासले गति लिन सक्दैन । जबसम्म मानव विकास हुदैन तबसम्म आफ्नो गाउँठाउँको विकास हुने पनि संभावना हुँदैन । विज्ञानले दुनियाँलाई डिजिटलाइज गरेको युगमा पनि महिनावारी हुँदा छाउगोठमा बस्नु पर्ने प्रचलनले नेपालीको मानव विकास कुन गतिमा छ भन्ने पनि प्रष्ट पारेको छ । अशिक्षित वर्ग त चेतनाको कारण छाउगोठ बस्नु सहज भएपनि शिक्षित वर्गनै यसलाई मलजल गर्न तल्लीन हुनु भने आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गर्नु हो ।

अर्काेतर्फ विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या आएकोमा कसैको पनि दुईमत छैन । देशका दुर्गम क्षेत्रमा प्रजनन स्वास्थ्यको विषयमा सहज रुपमा पठनपाठन पनि हुन नसकेको थुप्रै उदाहरण छन् । स्वास्थ्यका शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन र दिन नसक्दा व्यवहारमा लागू हुने कुरा पनि भएन । उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहु¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँने प्रचलन कायम छ । विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य हो । शिक्षा दिने शिक्षक शिक्षिकाले महिनावारीको विषयमा घरमै व्यवहारिक रुपमा लागू गर्न सक्दैनन् तबसम्म छाउगोठ बस्ने प्रचलन हट्ने कोरा कल्पना मात्र हुनेछ । छाउगोठले धेरै महिला र बालबालिकाको ज्यान लिएको देख्दा पनि अन्धो बन्ने प्रवृत्ति तबसम्म हामीले त्याग्दैनौ तबसम्म यसको कहरले ज्यान लिइरहन्छ ।