बुंगादोभान स्वास्थ्य चौकी बनाउने कामदारले ठेकेदारबाट ज्याला पाएनन्

बागलुङ, ३० पुस – तमानखोला गाउँपालिकाको बुंगादोभान स्वास्थ्य चौकी बनाउने कामदारले ठेकेदारबाट ज्याला पाएका छैनन् । निर्धारित मितिभन्दा एकबर्ष ढिला काम सकेको ठेकेदार कम्पनीले कामदारलाई ज्याला नदिएपछि भुक्तानी रोक्न माग गरेका छन् । बुंगादोभान स्वास्थ्यचौकी बनाउने जिम्मा लिएको गीता एण्ड अमित संयुक्त निर्माण कम्पनीले स्थानीय कामदारको झण्डै ४ लाख रुपैयाँ ज्याला नदिएको स्थानीयले आरोप लगाए । ज्याला नपाएकै कारण पुरै भुक्तानी नदिन माग गर्दै स्थानीयले दैनिक गाउँपालिकामा धर्ना दिएपछि गाउँपालिकाले भुक्तानी रोक्न आदेश दिएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्कामा लगाएको १ करोड ६८ लाख ८७ हजार रुपैयाँमध्ये कम्पनीले १० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ । कामदारको दबावले गाउँपालिकाले लिखित रुपमा भुक्तानी रोक्न माग गरेपछि कार्यालयले पनि रोक्न बाध्य भएको ईन्जिनियर तेजेन्द्र पौडेलले बताए । २०७२ बैसाखमा १८ महिनाभित्र काम सक्ने जिम्मा लिएपनि लामो समय अलपत्र पारेर काम सकेको हो । गाउँलेले लाखौ रुपैयाँ पर्ने ८ रोपनी जमिन दान गरेपछि स्वास्थ्य चौकी भवन निर्माणको काम शुरु भएको थियो ।

‘हामीले जग्गा पनि दान गरियो, अहिले ज्याला पनि पाइएको छैन’ डकर्मी बगेबहादुर खत्रीले भने, ‘ठेकेदार सम्पर्कमा नआउने भएकोले ज्याला पाइएको छैन ।’ ठेकेदारले बेइमान गरेपनि कामदारले इमान्दारिता देखाएर काम सकेको उनले बताए । खत्रीले एक महिना बढी काम गरेको ज्याला नपाएको गुनासो गरे । डिभिजन कार्यालयले ठेकेदार कम्पनीका जिम्मेवार मानिसलाई बोलाईरहेको दाबी गरे । उनीहरु आएभने ज्याला कटाएर भुक्तानी दिने पौडेलले बताए । ठेक्का लिएका कम्पनी प्रमुख प्रेम तुलाचन मुस्ताङस्थित निर्वाचित सांसद हुन् । उनले पेटी ठेकेदारमार्फत भवन बनाएका थिए । पेटीमा काम गरेका थमन पुनले गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई भुक्तानी दिन निरन्तर दबाव दिइरहेका छन् । यो चौकीमा हेल्थ असिस्टेन्ट सहितका दरबन्दी पठाइएकोले सेवा प्रवाह भने चुस्त बनाइने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले बताए । कार्यालयबाट ठेक्कामा गएका भवनमध्ये दुई महिना अघिनै हटिया स्वास्थ्य चौकी निर्माण भैसकेको छ । त्यस्तै १ करोड ६६ लाख ७२ हजारमा पाला स्वास्थ्य चौकी, १ करोड ३१ लाख १३ हजारमा अमरभूमी स्वास्थ्य चौकी र १ करोड १८ लाख ९८ हजाको लागतमा रायडाँडा स्वास्थ्य चौकी निर्माण भएका छन् ।

ती भवनमा पनि सामान्य प्राविधिक कारणले स्वास्थ्य चौकी सार्न नसकिएको पौडेलले बताए । रायडाँडामा स्थानीयले पुरिएको मैदान बनाईदिन माग गरेका छन् । ठेकेदारबाट बनाउने वा कार्यालयले बनाउने भन्ने यकिन नभएपछि भवन हस्तान्तरण रोकिएको छ । धौलागरी अञ्चल अस्पतालको डाक्टरहरु बस्ने क्वाटर पनि तयार भएको छ । कार्यालयले १ करोड ४६ लाख ६८ हजार रुपैयाँमा बिशेषज्ञ डाक्टरहरुका लागि क्वाटर निर्माण गरेको हो । अधिकांश भवनहरु ६ महिनादेखि दुइ बर्षसम्म म्याद नाघेर बनेकोले स्वास्थ्य चौकीहरु सार्न नसकिएको हो । स्वास्थ्यचौकीहरु निर्माण सम्पन्न नभएकै कारण प्रसुती सेवा, बिरामी जाँच्ने र अन्य प्रशासकिन काम साँघुरा भवनमा राख्नुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।